महामारीको मारमा विद्यार्थी

सिकाइसँगै स्वास्थ्यमा प्रतिकूल असर

सुर्खेत: कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइसँगै स्वास्थ्यमा प्रतिकूल असर परेको पाइएको छ । बालबालिकाका क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय संस्था युनिसेफले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो औंल्याइएको हो । उक्त सर्वेक्षणअनुसार कोभिडपश्चात् कर्णाली प्रदेशमा ९४ प्रतिशत बालबालिकाको पढाइ प्रभावित बनेको छ । यो अवधिमा विद्यालय जान नपाउँदा बालबालिकाले पढाइमा पछि परेको महशुस गरेका हुन् ।

पहिलाको तुलनामा कोभिडपछि बालबालिकाको मानसिक स्वास्थ्यमा समेत ठूलो असर देखिएको छ । युनिसेफको साझेदार संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ)का उपाध्यक्ष राजेन्द्र पहाडीले कोभिड महामारीयता देशभर २४ प्रतिशत बालबालिकामा रिसाउने र झर्किने स्वभाव बढेको बताए । नेपालमा ८० लाख विद्यार्थीको कोभिडका कारण सिकाइ प्रभावित भएको युनिसेफको सर्वेक्षणले देखाएको पहाडीले जनाए । महामारीका कारण विद्यालय तहका बालबालिका बढी प्रभावित भएका हुन् । लाखौ बालबालिका दिवा खाजाबाट वञ्चित भएका छन् भने ३३% परिवारले आम्दानीको स्रोत गुमाएको छ । जसका कारण आठ प्रतिशत परिवारले कोभिडको संक्रमण सुरू भएयता आफ्ना बालबालिकालाई बालश्रममा संलग्न गराएको पाइएको छ ।

यस्तै, विद्यालय बन्द रहेका कारण बालबालिकाको सिकाइ उपलब्धी घटेको छ । वैकल्पिक सिकाइका माध्यमको सहज पहुँच नहुँदा कर्णालीका धेरै विद्यार्थीको पढाइमा असर परेको हो । कर्णाली प्रदेशस्तरीय शिक्षा समूहद्वारा गरिएको सर्वेक्षणमा १८ प्रतिशत विद्यालयमा मात्र इन्टरनेट पहुँच पुगेको देखिएको छ । करिब नौ प्रतिशत विद्यालय कुनै पनि प्रकारको विद्युतीय सञ्चारका माध्यमको पहुँचमा छैनन् । सरकारले विद्यालय बन्द रहेका अवस्थामा वैकल्पिक विधिबाट सिकाइ गतिविधि गरेपनि धेरै विद्यार्थीले त्यसको लाभ लिन नपाएका हुन् । यस्तै, कर्णालीका पाँच प्रतिशत विद्यालयमा टेलिफोन सुविधा पुगेको छ भने झन्डै नौ प्रतिशत बालबालिका टेलिभिजनको पहुँचमा छन् । प्रदेशभर धेरैको सहज पहुँच भएको सञ्चारमाध्ययम रेडियो हो । कर्णालीका ८३ प्रतिशत भू–भागमा रेडियो नेपाल र ७४ प्रतिशतमा स्थानीय एफएम रेडियोको पहुँच छ । देशैभरी ५० प्रतिशत विद्यालयले मात्र महामारीको अवस्थामा विद्यार्थीहरूलाई वैकल्पिक तथा भर्चूअल सिकाइमा जोड्न सकेका थिए ।

युनिसेफले कर्णाली प्रदेशमा कक्षा ५, ८ र १० को टिकाउ दरको सर्वेक्षणसमेत गरेको थियो । प्रदेशमा कक्षा १० को टिकाउ दर सबैभन्दा न्यून देखिन्छ । कोभिड महामारीका कारण विद्यार्थी टिकाउ दरमा पनि असर परेको हो । कोभिड संक्रमण कायमै रहेकाले यो दर घट्दै जाने सम्भावना रहेको पनि सरोकारवालाले बताएका छन् । माध्यमिक तहमा अध्ययन गर्ने धेरै विद्यार्थीले बिचमै पढाइ छोड्ने गरेका छन् । अधिकांश बालबालिकाले सात÷आठ कक्षामा पढ्दा–पढ्दै विद्यालय छोड्ने गरेका हुन् । परिवारको विपन्नताले कैयन् बालबालिका पढाइबाट वञ्चित भएको विभिन्न सर्वेक्षणहरूले औंल्याएका छन् । परिवारको गुजरा चलाउन पढाइ छोडेर भारतलगायत विभिन्न सहरमा मजदुरी गर्न जानेको संख्या पनि अधिक छ ।

शिक्षामा सरकारी लगानी न्यून हुँदा पनि गुणस्तर सुधारमा समस्या भइरहेको शैक्षिक क्षेत्रका जानकारहरू बताउँछन् । कर्णालीमा शिक्षाको बजेट न्यून छ । प्रदेशको कूल वार्षिक बजेटमध्ये गत आर्थिक वर्षमा दुई दशमलव ६४ प्रतिशत शिक्षाका लागि छुट्याइएको थियो । चालु वर्षमा उक्त बजेटसमेत घटेको छ । यो वर्ष कर्णाली सरकारले दुई दशमलव चार प्रतिशत बजेट शिक्षामा विनियोजन गरेको छ ।

कोभिड महामारीले अपाङ्गता भएका बालबालिकामा झन् बढी प्रभाव परेको छ । अपाङ्गतामैत्री संरचना र सिकाइको व्यवस्था नहुँदा यसैपनि पढाइबाट वञ्चित उनीहरूलाई कोरोनापछि थप समस्या भएको हो । राष्ट्रिय अपाङ्ग महासंघका अनुसार कर्णालीमा हाल अपाङ्गता भएका बालबालिकामध्ये ९७ प्रतिशतले विद्यालय जान पाएका छैनन् । अन्य प्रदेशको तुलनामा साक्षरता दरसमेत कम रहेको कर्णालीमा कोभिडले विद्यालय शिक्षासँगै साक्षरता अभियानमा पनि अवरोध गरेको छ । प्रदेशका केही जिल्ला अझै साक्षरता घोषणा हुन बाँकी छन् । त्यसका लागि अघि बढाइएका अभियानहरूमा महामारीको प्रभाव परेको हो । हाल प्रदेशमा ७२ दशमलव ८८ प्रतिशत पुरुष र ५३ दशमलव ८८ प्रतिशत महिला साक्षर छन् ।

एनसिइले केही दिन पहिले वीरेन्द्रनगरमा सरोकारवालाबीच आयोजना गरेको कार्यशालामा कोभिड माहामारीमा विद्यालय पुुनःसञ्चालन निरन्तरताको अवस्था र प्रदेश सरकारको तयारीलाई मध्यनजर गर्दै कार्यदिशा प्रस्तुत गरेको थियो । शिक्षा क्षेत्रमा परेको प्रभाव कम गर्न आन्तरिक लगानी बढाउनुपर्ने उक्त कार्यक्रममार्फत सुझाइएको छ । विद्यार्थीलाई घरबाटै सिकाइ अभ्यासमा जोड दिन अभिभावमा सचेतना अभिवृद्धि गर्नुका साथै प्रविधिको प्रयोग र दूर शिक्षाका माध्यमहरूमा शिक्षकहरूको क्षमता विकास गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

यस्तै, विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई निरन्तर सिकाइमा जोड्न स्थानीय सरकारले विशेष पहल थाल्नुपर्ने एनसिइले औंल्याएको छ । पछिल्लो समय कोरोना संक्रमण दरमा कमी आएसँगै भौतिक उपस्थितिमै पठनपाठन थालिएको छ । विद्यालयहरूले स्वास्थ्य सुरक्षा सावधानी नअपनाउँदा अधिकांश विद्यार्थी संक्रमणको जोखिममा छन् ।

प्रकाशित मितिः   २८ कार्तिक २०७८, आईतवार ०८:३३