एक हातमा छोरी, अर्को हातमा उपाधी

जुम्ला: जुम्लामा जारी जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल हुने दिन । शनिवार एकाबिहानै गुठिचौर गाउँपालिका वडा नम्बर–५ को त्रिभुवन माध्यमिक विद्यालय प्राङ्गणमा दर्शक पुग्न थालिसकेका थिए । बिहानको चिसो सिरेटो, त्यसमा पनि जुम्लाको माइनस तापक्रममा दर्शक भलिबलको फाइनल हेर्न लालायित देखिन्थे ।
आयोजक जिल्ला खेलकुद विकास समितिले अघिल्लो दिनमै कार्तिक २७ गते बिहान ८ बजे गुठिचौर र तातोपानी गाउँपालिकाबीच महिला भलिबलको फाइनल खेल खेलाउने निधो गरिसकेको थियो । केही ढिलोगरी ८ बजेर ३२ मिनेट जाँदा रेफ्री हरिलाल महतले सिटी बजाउँदै खेल सुरु गर्ने तयारी गरे । दुवै टिमका खेलाडीहरू मैदान प्रवेश गरे । त्यही हुलमा थिइन्, तातोपानी गाउँपालिका वडा नम्बर–२ डाँगीबाडा कि बबिता कुँवर डाँगी ।
उनी चार महिना कि छोरी काखमा बोकेर जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता खेल्न गुठीचौर पुगेकी थिइन् । टिम कोच तथा तातोपानी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पे्रम कठायतले बबिताले राम्रो खेल प्रदर्शन गर्ने विश्वाससहित टिममा समावेश गरेका थिए ।
लामो समयपछि जिल्लास्तरीय भलिबल प्रतियोगिता भएकोले दर्शकहरू उत्साहका साथ खेल हेर्न पुगेका थिए । खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक भयो । गुठीचौरलाई हराउँदै बबिताको टिम अर्थात तातोपानी गाउँपालिकाले उपाधि उचाल्यो ।
रुढीग्रस्त पुरुषप्रधान समाजमा बिवाहित महिलालाई परिवारले खेल क्षेत्रमा विरलै अवसर दिन्छ । तर बबिताको परिवार उनको इच्छा र चाहानामा बाधक बनेन । भलिबल खेल्नकै लागि चार महिने छोरी बोकेर तातोपानीबाट गुठिचौर पुगेकी बबिताको प्रदर्शन प्रतियोगिताभर उत्कृष्ट रह्यो । दर्शकले पनि प्रशंसा गरे । ‘पहिलो पटक जिल्लास्तरीय खेल खेल्न अवसर पायौं, उपाधी पनि हात लाग्यो’ उनी भन्छिन्, ‘अब खेल क्षेत्रमै जोडिने रहर छ ।’
पुरस्कार वितरणका क्रममा बबिताको एक हातमा उपाधि जितेको कप थियो भने अर्को हातमा छोरी । ‘बबिताको खेलप्रतिको लगाब देखेर उनलाई थप उत्प्रेरणा प्रदान गर्न छोरीसँगै कप उचाल्न लगायौं’ प्रशिक्षक कठायतले भने,‘हाम्रो समाजले महिलाहरूलाई खेल क्षेत्रमा जोडिने अवसर दिनुपर्छ भन्ने सन्देश पनि हो ।’ खेल हेर्न पुगेका दर्शक गोरबहादुर रावतले बबिता महिलाहरूले अवसर पाए ठूलो उपलब्धी हात पार्न सक्छन् भन्ने उदाहरण बनेको बताए ।
यसैबीच शनिवार नै भएको पुरुषतर्फको उपाधी भने पातारासी गाउँपालिकाको पोल्टामा परेको छ । तिला गाउँपालिकालाई ३–२ सेटमा हराउँदै पातारासी पुरुष भलिबलको विजेता बन्यो ।
प्रकाशित मितिः २८ कार्तिक २०७८, आईतवार ०८:३१
मानबहादुर कुँवर ।