छानिए महाधिवेशन प्रतिनिधि
सुर्खेत: नेकपा (एमाले)ले १०औं महाधिवेशनका लागि हरेक निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गरेको छ । एमालेले शनिवार देशभर एकैदिन महाधिवेशन प्रतिनिधि चयन गरेको हो । कर्णालीका जिल्लाहरूमा पनि एमालेले महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । एमाले हुम्लाले महाधिवेशन प्रतिनिधिको नाम टुंगो लगाएको जनाएको छ । जिल्ला अध्यक्ष दल रावलका अनुसार एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको हुम्लामा १० जना प्रतिनिधि चुनिएका छन् । खुलातर्फ दल रावल, दल फडेरा, डबल रावत, पूर्णप्रसाद ढकाल, ज्ञानी बुमी, नोजंग तामाङ, सौमती ऐडी र रूपा शाही रहेका छन् । त्यस्तै दलित तर्फबाट कालिबहादुर नेपाली, सुनमती दमाई महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
जाजरकोटमा एमालेले नौ जना महाधवेशन प्रतिनिधि छनोट गरेको छ । खुलामा करबीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सिपी घर्ती, प्रेमप्रसाद घर्ती चयन भएका हुन् । यस्तै, महिलातर्फ कौशिलावती खत्री, हरिकला जैसी र दलित प्रतिनिधिमा नबेन्द्र नेपाली छानिएका छन् । कालीकोट एमालेले महाधिवेशन प्रतिनिधिमा १४ जना छनोट गरेको छ । खुलाबाट नगेन्द्र शाही नेशनल, रमेश शाही, दक्षिणा शाही, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, भरतराज धिताल, टेकबहादुर बुढा, वकिल बम छानिएका छन् । महिलाबाट पार्वती सिंह र तारा शाही प्रतिनिधि चुनिएका छन् भने दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा र गोमा नेपाली छनोट भएका हुन् ।
दैलेख निर्वाचन क्षेत्र नं. १ मा एमालेले १३ जना महाधिवेशन प्रतिनिधिको टुंगो लगाएको छ । दैलेखका अध्यक्ष रविन्द्रराज शर्माका अनुसार छनोट हुने प्रतिनिधिमा खुलातर्फ रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा र टोपबहादुर बिसी छन् । यस्तै, महिलाबाट मिनासिंह रखाल र सूर्यकुमारी श्रेष्ठ चयन भएका छन् । दलितबाट अमर नेपाली, गोपाल नेपाली, हिक्मत विक, दयाराम विक, दलित महिलाबाट गौमता विक महाधिवेशन प्रतिनिधि चुनएको अध्यक्ष शर्माले जानकारी दिए । निर्वाचन क्षेत्र नं. २ मा शनिवार साँझसम्म प्रतिनिधिको टुंगो लागिसकेको थिएन । सर्वसम्मत रूपमा प्रतिनिधि छनोटको प्रयास भइरहेको नेताहरूले बताएका छन् । सुर्खेतका दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २२ जना छनोट हुने छन् । जिल्ला अध्यक्ष ध्रुव शाहीले क्षेत्र नं. १ मा दुई महिलासहित आठ र २ मा तीन महिलासहित नौ जना महाधिवेशन प्रतिनिधि चुनिने जनाए । यस्तै, सुर्खेतमा महाधिवेशन प्रतिनिधिका लागि दलिततर्फ पाँच जना प्रतिनिधि छानिने छन् ।
एमालेले कर्णालीका सबैजसो जिल्लामा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनेको हो । पछिल्लो तथ्याङ्क अनुसार देशभर आठ लाख १० हजार संगठित सदस्य पुगेको एमालेले जनाएको छ । संगठित सदस्यका आधारमा महाधिवेशन प्रतिनिधिको संख्या निर्धारण हुन्छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका एक हजार दुई सयसम्म पार्टी सदस्य मध्येबाट कम्तिमा एक महिलासहित तीन जनाका दरले निर्वाचित हुने व्यवस्था छ । त्यसैगरी सो संख्यामा आठ सयसम्म सदस्य थप भएमा थप एक जना, १६ सयसम्म सदस्य भए थप दुई जना, २४ सयसम्म सदस्य भएमा कम्तिमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा प्रतिनिधि छनोट हुने व्यवस्था गरिएको छ । तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा एक जना महिला अनिवार्य हुनुपर्ने जनाइएको छ । यस्तै, केन्द्रीय सल्लाहकार परिषद्, विभाग, जनवर्गीय संगठन, प्रदेश र सो सरहका कमिटीका पदाधिकारी पनि महाधिवेशन प्रतिनिधि हुनेछन् ।
एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनको नारायणी नदी किनारामा अधिवेशन उद्घाटन र सौराहामा नेतृत्व छनोटको कार्यक्रम गर्ने भएको छ । उक्त महाधिवेशनले १५ जना पदाधिकारीसहित दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसले आगामी पाँच वर्ष एमालेको नेतृत्व गर्नेछ ।
प्रकाशित मितिः २८ कार्तिक २०७८, आईतवार ०८:२७
साझा बिसौनी ।