वडामा कांग्रेसका नयाँ कार्यसमिति

सुर्खेत: नेपाली कांग्रेस सुर्खेतले शनिवारदेखि वडा अधिवेशन सुरू गरेको छ । वडाको नयाँ नेतृत्व चयन गर्न र नगर तथा क्षेत्रीय प्रतिनिधिका लागि कांग्रेसले जिल्लाभर अधिवेशन गरेको हो । कतिपय वडाका कार्यसमिति शनिवार नै चयन भएका छन् भने केहीमा नेतृत्व चयनका लागि छलफल भइरहेको जनाइएको छ । सुर्खेतमा पनि कांग्रेसका दुई वटा समूह क्रियाशील छन् । संस्थापन र संस्थापनइतर समूहले आ–आफ्नो प्यानल घोषणा गरी आन्तरिक निर्वाचनमा होमिएका हुन् । सर्वसम्मत् भएका वडामा शनिवार नै नेतृत्व छनोट भइसकेको छ ।

वीरेन्द्रनगरको वडा नं. ५ मा कांग्रेसको सर्वसम्मत् वडा कार्यसमिति चयन भएको छ । लक्ष्मीबहादुर शाही वडा सभापति बनेका छन् भने १७ जना क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् । यस्तै, १६ मा सर्वसम्मत् वडा कार्यसमित चयन गरिएको छ । वडा नं. १६ मा पूर्णबहादुर ढकाल सभापतिमा चयन भएका छन् । अधिवेशनले क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति र नगर कमिटीलाई सर्वसम्मत रूपमा छनोट गरेको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद गौतमले बताए । उनका अनुसार वडा अधिवेशनबाट उपसभापतिमा बालाराम पौडेल र बुद्धि ज्ञवाली निर्वाचित भएका छन् ।

सचिवमा हेमराज ढकाल र डम्मर राना, सह–सचिवमा विनोद कुमार ढकाल र लोकबहादुर आचार्य चयन भएका छन् । अधिवेशनले १२ जनालाई कार्यसमित सदस्य चुनेको छ । वीरेन्द्रनगर १६ बाट क्षेत्रीय प्रतिनिधिमा १६ र नगर प्रतिनिधिमा तीन तथा समावेशी सदस्यमा आठ जना छनोट भएका छन् ।

वीरेन्द्रनगरका केही वडामा भने नेतृत्व तथा प्रतिनिधि चयनमा विवाद उत्पन्न भएको छ । वडा नं. ३ को अधिवेशनमा दुई समूहबीच झमेला भएको हो । यसअघि नै भइसक्नुपर्ने अधिवेशन सदस्यता विवादका कारण सुर्खेत लगायत १३ जिल्लामा हुन सकेको थिएन । कर्णालीका सुर्खेत र डोल्पामा वडा अधिवेशन हुन बाँकी थियो । डोल्पामा पनि शनिवार नै अधिवेशन सुरू भएका छन् ।

प्रकाशित मितिः   २८ कार्तिक २०७८, आईतवार ०८:२५