टी–२० विश्वकप : उपाधिका लागि न्युजिल्याण्ड र अस्ट्रेलिया भिड्दै

काठमाडौं – आइसीसी टी–२० विश्वकपको फाइनल खेल आज (आइतवार) हुँदै छ। उपाधिका लागि न्युजिल्याण्ड र अस्ट्रेलिया आमने सामने हुँदै छन् । खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

न्युजिल्याण्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ भने अस्ट्रेलियाले दोस्रो पटक फाइनल खेल्न लागेको हो । अस्ट्रेलिया यसअघि २०१० मा वेस्टइन्डिजमा आयोजित टी–२० विश्वकपको फाइनलमा इङल्याण्डसँग पराजित भएको थियो ।

न्युजिल्याण्ड इङल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यसअघि सुपर १२ को समूह २ मा रहेको न्युजिल्याण्डले ५ मध्ये ४ खेल जितेर समूहमा दोस्रो हुँदै सेमिफाइनल पुगेको थियो ।

त्यस्तै अस्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटलेनै पराजित गरेर फाइनल यात्रा तय गरेको हो। यसअघि सुपर १२ को समूह १ मा अस्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा पुगेको थियो ।

प्रकाशित मितिः   २८ कार्तिक २०७८, आईतवार १२:५३