जनगणनामा समन्वय अभाव

अभियानबारे जनप्रतिनिधि नै अनभिज्ञ, गणकलाई विवरण लिनै कठिनाइ

सुर्खेत: राष्ट्रिय जनगणना २०७८ बिहीवारदेखि सुरू भएको छ । विवरण संकलनका लागि गणकहरू घरदैलोमा पुगेका छन् । तर, अभियानबारे सर्वसाधारणलाई मात्र होइन कतिपय जनप्रतिनिधिलाई पनि जानकारी छैन । आवश्यक प्रचार–प्रसार र एकअर्को निकायबीचको समन्वय अभावले तथ्याङ्क संकलनमा कठिनाइ भएको छ । तोकिएको स्थानका घरपरिवारको विवरण संकलनमा खटिएका गणकहरूले समस्या भइरहेको बताएका हुन् । तथ्याङ्क लिनुअघि जनगणनाको महत्व बुझाउन नसक्दा अभियानमा अप्ठ्यारो भएको हो ।

जनगणना अभियान सुरू भइसक्दा पनि सरोकारवाला निकायबीच एक–आपसमा समन्वय भएको छैन । कहिले, कहाँ र कसरी घरपरिवारको विवरण लिइँदैछ भन्नेबारे स्थानीय तहका जनप्रतिनिधि नै अनभिज्ञ छन् । वीरेन्द्रनगर–६ का वडाध्यक्ष मोतिप्रसाद कंडेलले यसबारे आफूहरूसँगै कुनै समन्वय र छलफल नभएको जनाए । ‘हजुरको वडामा जनगणनाको विवरण लिन सुरू भयो ?’ भन्ने प्रश्नमा उनले भने, ‘खै यससम्बन्धी हामीलाई केही जानकारी आएको छैन ।’

प्रत्येक स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति गठन गरिने र वडामा अध्यक्षको संयोजकत्वमा उक्त समिति रहने भनिएको छ । प्रत्येक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित पालिकामा जनगणनाबारे समन्वय गर्न प्रमुख तोकिएको छ । तर, उनीहरूले वडाहरूमा अहिलेसम्म समन्वय नगरेको पाइएको हो । प्रदेश राजधानीकै वडाध्यक्षहरूलाई जनगणना सुरू भएको जानकारी नहुनुले अभियान प्रभावकारी बन्नेमा सरोकारवालाले आशंका व्यक्त गरेका छन् ।

अभियानमा स्थानीय तहका जनप्रतिनिधि आफै खटेर अभियानलाई सघाउनुपर्नेमा उनीहरूले समेत बेवास्ता गरेको पाइएको छ । आफ्नो ठाउँको सबै वस्तुस्थितिबारे जानकार अध्यक्षहरू नै अभियानमा सक्रिय नबनेका हुन् । जसले गर्दा गणकहरूलाई विवरण संकलनमा झनै कठिनाइ भएको हो । वीरेन्द्रनगर–३ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले पनि आफूसँग कसैले समन्वय नगरेको जनाए । ‘प्रत्येक वडाहरूमा समन्वय गर्ने भनिएको सुनेको हो,’ उनी भन्छन्, ‘जनगणना त सुरू भयो तर वडालाई आधिकारिक जानकारी कतैबाट आएको छैन ।’

यो अभियानमा सहजीकरणका लागि संघ, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न समन्वय समिति बनेका छन् । ती समितिहरूले आ–आफ्नै तरिकाले काम थाल्दा समस्या आएको छ । दैलेखको नारायण नगरपालिका–९ का वडाध्यक्ष ढालबहादुर थापाले नगरपालिकाबाट वडामा अहिलेसम्म आवश्यक समन्वय नगरेको बताए । ‘मेरो वडामा कति गणक खटाइएको छ र कहाँ कसरी विवरण लिइयो केही थाहा छैन,’ उनले भने । सम्बन्धित वडाका प्रतिनिधिकै समन्वयविना थालिएको अभियानमा यकिन तथ्याङ्क संकलन हुनेमा जनप्रतिनिधिहरू विश्वस्त देखिएका छैनन् । पालिकाका वडा तथा टोल–टोलमा गणकहरू पुग्दा उनीहरूलाई त्यहाँको अवस्थाबारे जानकारी दिनेहरूको पनि अभाव छ । वडाको साँध–सीमासमेत पत्ता लगाउन नसकेर कतिपय गणकहरू अलमलमा पर्ने गरेका हुन् । सही विवरण लिन मानिसहरूलाई जनगणनाको महत्व बुझाउनै कठिनाइ भइरहेको उनीहरू बताउँछन् ।

वडामा सहजीकरण समिति नहुँदा सीमाना छुट्याउने, गणकहरूलाई बस्तीको बारेमा जानकारी गराउने, गणक तथा सुपरिवेक्षकले कुन घर, टोल छुटाए/नछुटाएको भन्नेबारे अनुगमनमा समस्या हुने देखिएको छ । स्थानीय जनगणना समन्वय समिति क्रियाशील नबन्दा अभियान अपेक्षाकृत रूपमा अघि बढाउन गाह्रो भएको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले राष्ट्रिय अभियान भएकाले सबैले आ–आफ्नो ठाउँबाट हातेमालो गर्नुपर्ने बताए । उनले वीरेन्द्रनगरका सबै वडामा समन्वय भइरहेको समेत दाबी गरे । ‘नगरका सबै वडालाई जानकारी दिएकै छौं,’ ढकालले भने, ‘राष्ट्रिय अभियान भएकाले व्यक्तिगत रूपमा चिठी पठाउने कुरा भएन ।’

वडास्तरमा समन्वय नहुनु तथा सर्वसाधारणमा जनगणना शिक्षाको कमीले विवरण संकलनमा चुनौती भइरहेको वीरेन्द्रनगरमा खटिएकी गणक लक्ष्मी केसी बताउँछिन् । उनले वीरेन्द्रनगर बजार क्षेत्रमा घर पत्ता लगाउनै समस्या रहेको जनाइन् । सर्वसाधारणलाई जनगणनाबारे बुझाउनुपर्ने भएकाले आफूहरूलाई तथ्याङ्क संकलनमा एकै घरमा धेरै समय लाग्ने गरेको उनको भनाइ छ । वीरेन्द्रनगर–६ मा खटिएका अर्का गणक ओकेन्द्रनाथ योगीले विवरण लिनुभन्दा पहिले नै सर्वसाधारणलाई यसबारे पर्याप्त शिक्षा दिन सके मात्र छिटो–छरितो तथ्याङ्क संकलन हुने जनाए । गणकहरूका अनुसार विवरण लिनुभन्दा पहिले एउटा घरमा झन्डै १५ देखि २० मिनेट जनगणनाबारे बुझाउनुपर्ने बाध्यता छ । सर्वसाधारणले विवरण टिपाएपछि के पाइने हो वा सरकारले के सुविधा दिन्छ भन्नेखालका प्रश्न गर्ने गरेका छन् ।

राष्ट्रिय जनगणना प्रादेशिक कार्यालयका अनुसार कर्णालीका ७९ स्थानीय तहमा जनगणना समन्वय अधिकृत सोही पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई तोकिएको छ । गणकलाई सुपरिवेक्षक, सुपरिवेक्षकलाई स्थानीय जनगणना अधिकारीले समन्वय गरिरहेको कार्यालयले जनाएको छ । स्थानीय जनगणना अधिकारीलाई जिल्ला तथा प्रदेश जनगणना अधिकारी र जिल्ला एवम् प्रदेश जनगणना अधिकारीलाई तथ्याङ्क विभागले आवश्यक सहयोग तथा समन्वय गरिरहेको राष्ट्रिय जनगणना कर्णाली प्रदेश अधिकारी पोमनाराण पौडेलले बताए । उनकाअनुसार प्रत्येक स्थानीय तहका वडाहरूमा समन्वय गर्नका लागि सुर्खेतमा समेत सम्पर्क कार्यालय स्थापना गरिएका छन् । शुक्रवार दिउँसोसम्म प्रदेशभर ३० हजार जनसंख्या गणना भएको पौडेलले जानकारी दिए । कार्तिक २५ देखि देशभर एकसाथ सुरू भएको १२औं राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः   २७ कार्तिक २०७८, शनिबार ०८:५७