यातायातको असुविधा
कर्णाली प्रदेशमा यातायात सुविधा सहज छैन । सबैको पहुँचमा पुगिसकेको छैन । सडक पूर्वाधार निर्माणमै पछि परेको छ । सवारीका साधन सबै गाउँ–ठाउँमा पुगिसकेका छैनन् । यहाँको भौगोलिक अवस्थाका कारण पनि सडक निर्माणमा ढिलाइ हुने एउटा समस्या छ । साथमा राज्यको बेवास्ता पनि उत्तिकै छ । सबैभन्दा ठूलो विडम्बनाको कुरा त के छ भने प्रदेशको सबैभन्दा सुगम मानिने वीरेन्द्रनगरमै यातायातको सहज पहुँच छैन । कर्णालीको राजधानी सहर हो, वीरेन्द्रनगर । तर, राजधानीमा आवश्यक पर्ने आधारभूत पूर्वाधार समेत यहाँ छैनन् । अधिकांश सडक जीर्ण छन्, नगरभित्र यातायातको भरपर्दो सेवा छैन । नागरिकलाई आवत–जावत गर्न निकै सकस छ । नगरका सबै स्थानमा सार्वजनिक यातायात पुग्दैनन् । यातायातका साधन पाइएपनि भाडा निकै महँगो तिर्नुपर्छ । यात्राको असुविधाले नगरका बासिन्दा मात्र नभइ अन्यत्रबाट यहाँ आउने नागरिकहरू मर्कामा परेका छन् । यातायातको सुविधा नहुँदा असहज यात्रा गर्नुपर्ने बाध्यता वीरेन्द्रनगरमा छ ।
राजधानीकै नगरमा भरपर्दो यातायातको सुविधा नपाएको नागरिकहरूले गुनासो गर्दै आएका छन् । विगतदेखिकै समस्या तीन तहका सरकार बनेर पहिलो कार्यकाल सकिने बेलासम्म पनि उस्तै छन् । स्थानीय र प्रदेश सरकारले वीरेन्द्रनगरलाई ‘स्मार्ट सिटी’ उन्मुख संरचनाको विकास गर्दै लैजाने नीति लिए । तर, वर्षाैं बिते पनि त्यसको कार्यान्वयनको अवस्था निराशाजनक छ । पूर्वाधार विकासमा प्रदेश र स्थानीय तहको गति निकै सुस्त देखिएको हो । सरोकारवाला निकायको उदासीनताले यहाँका नागरिक राजधानीको सुविधा उपभोग गर्नबाट वञ्चित हुँदै आएका हुन् । स्थानीय सरकार गठन भएको झन्डै पाँच वर्ष पुग्नै लागेको छ । नगरपालिका आफैले बनाएको नीति कार्यान्वयनमा जोड दिएको छैन । ‘वीरेन्द्रनगर स्मार्ट सिटी’ अन्तर्गत सडक पूर्वाधारको विकास तथा स्तरोन्नतीसँगै नगर बस सञ्चालनमा ल्याउने भनिएको थियो । सोही अनुसार नीति पनि बन्यो । हालसम्म यसको प्रगति शून्य छ ।
आफैले बनाएको योजना कार्यान्वयन गर्न स्थानीय सरकार असफल छ । नगरवासीको यात्रालाई सहज बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्ने नीति बनाइएको छ तर कार्यान्वयनका लागि बजेट भने विनियोजन गरेको छैन । बजेट नै विनियोजन नभएपछि योजना अघि बढ्न सकेको छैन । वीरेन्द्रनगरमा नगर बस सञ्चालन आवश्यक भइसकेको छ । सर्वसुलभ यातायातको सेवा नहुँदा प्रदेशका अन्य जिल्लाबाट वीरेन्द्रनगर आउनेहरू झन् सास्ती खेप्न बाध्य छन् । स्थानीयलाई दैनिक उस्तै कठिनाइ छ । अटोरिक्सालगायतका केही सवारी साधन पाइने गरेपनि चर्को भाडाका कारण सर्वसाधारण हैरानीमा छन् । कर्णाली प्रदेशका कतिपय दुर्गम क्षेत्रमा रहेका पालिकाहरूमा यातायात सुविधा दिइसकिएको छ । वीरेन्द्रनगरले भने नगर बस सञ्चालनका लागि पटक–पटक नागरिकस्तरबाट आवाज उठेपनि बेवास्ता गर्दै आएको हो । सहुलियत भाडादरमा यातायात सेवा दिने नगरको योजना कार्यान्वयन हुनेमा अझै अन्योल छ । हालका जनप्रतिनिधिको कार्यकालभरी यो योजनाले प्राथमिकता नपाउने निश्चित प्रायः छ ।
प्रकाशित मितिः १५ कार्तिक २०७८, सोमबार ०५:००
सम्पादकीय ।