लयमा फर्कदै पर्यटन
कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा पर्यटक भित्र्याउने उद्देश्यले दुई वर्षअघि ‘भ्रमण वर्ष’ अभियानको थालनी गर्यो । अभियानले सार्थकता भने पाएन, कारण थियो– कोरोना महामारी । त्यसको केही समयपछि कोरोना महामारीको संकट आयो । निकै महत्वाकांक्षी अभियान उद्घाटनमै सीमित भयो । पर्यटन प्रवद्र्धन गर्ने सरकारी योजना सफल हुन सकेन । वार्षिक लाखौं पर्यटक भित्र्याउने लक्ष्य राखेकै वर्ष कर्णाली सुनसान जस्तै बन्यो । त्यतिबेला सन् २०२० भित्र प्रदेशमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको थियो ।
कोरोना महामारीको यस अवधिमा कर्णालीको पर्यटन व्यवसाय चौपट भएको छ । नेपाल राष्ट्र बैंकको प्रथम अर्धवार्षिक अध्ययन प्रतिवेदनले समेत यहाँको पर्यटन व्यवसाय निकै खस्किएको औंल्याएको हो । केही महिना पहिले सार्वजनिक आर्थिक वर्ष २०७७÷०७८ को प्रादेशिक अध्ययन प्रतिवेदनअनुसार यहाँ पर्यटक आगमन ९४ दशमलव ४६ प्रतिशतले घटेको पाइएको छ । प्रदेशमा पर्यटकस्तरीय होटल तथा लजको संख्यामा पनि कमी आएको हो । ६ दशमलव ४३ प्रतिशतले पर्यटन व्यवसाय घटेका छन् । अघिल्लो वर्षको तुलनामा पर्यटन व्यवसाय निकै ओरालो लागेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । महामारीका कारण अधिकांश समय लकडाउन तथा बन्दाबन्दी रहेकोले पर्यटकको आगमनमा कमी आएको जनाइएको छ ।
यसै पनि कमै चहलपहल हुने कर्णालीका पर्यटकीय स्थानहरू कोरोनाका कारण झनै थला परे । झन्डै दुई वर्षयता पर्यटन व्यवसाय ठप्प प्रायः भयो । सबैभन्दा बढी मारमा होेटल व्यवसाय परे । पछिल्लो समय पर्यटन क्षेत्रले विस्तारै लय समाउँदै छ । कोरोना संक्रमणदरमा कमी आएपछि पर्यटकीय गतिविधि बढ्न थालेका हुन् । होटल व्यवसाय र पर्यटकीय क्षेत्रमा मानिसहरूको चहलपहल देखिन थालेको छ ।
संक्रमण घटेसँगै चहलपहल बढ्यो
कर्णाली प्रदेशभर पछिल्ला दिनमा कोरोना संक्रमण दरमा कमी आएको छ । प्रदेशमा हाल दैनिक संक्रमण दर ओरालो लागेको छ । संक्रमण दर दश प्रतिशतभन्दा तल झरेको हो । जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या थोरै छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लाभर २४ जना मात्र सक्रिय संक्रमित छन् । कार्यालय प्रमुख चेतननिधि वाग्लेले संक्रमणको जोखिम भने कायमै रहेको बताए । कोरोनाविरुद्धको खोप अभियानले नागरिकहरूमा त्रास हटाउँदै लगेपछि सबै क्षेत्रमा सहज वातावरण बन्दै गएको हो । सुर्खेतमा हालसम्म खोपको लक्षित समूहमध्ये ५१ प्रतिशतले पहिलो मात्रा र ४३ प्रतिशतले दोस्रो मात्रा पाइसकेका छन् ।
पर्यटन व्यवसायी चिन्तामणी शर्माका अनुसार लामो समयपछि सहज वातावरण बनेसँगै पर्यटकीय गतिविधि बढ्न थालेका छन् । कर्णालीमा बाह्य पर्यटक कमै आउँछन् । आन्तरिक पर्यटकहरू भने घुमफिरका लागि निस्कन थालेका हुन् । होटल व्यवसाय समेत सञ्चालन गर्दै आएका शर्मा भन्छन्, ‘तुलनात्मक रूपमा पहिलेभन्दा चहलपहल बढेको छ । पर्यटन र होटल व्यवसाय विस्तारै लयमा फर्कदै छन् ।’ होटेलमा बस्न आउने पर्यटकहरूको संख्यामा वृद्धि भएको उनले जनाए । ‘कोरोना त्रास कम हुँदै जाँदा संघ–संस्थाहरूले होटलमा कार्यक्रम गर्न थालेका छन् । पहिलेभन्दा २० प्रतिशतले कारोबार बढेको छ,’ उनले भने ।
तिहारपछि होटेलहरूको सिजन नै भएकाले व्यवसाय सुध्रिदै जाने अपेक्षा व्यवसायीहरूको छ । आउँदा दिनमा आन्तरिक पर्यटनले गति लिँदै जाने व्यवसायीले बताएका हुन् । होटेल व्यवसायी संघ सुुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले थला परेका व्यवसायले विस्तारै गति लिन थालेको बताए । उनी भन्छन्, ‘अहिले केही राम्रो हुँदै गएको छ । संक्रमण दर ओरोलो लागेसँगै प्रदेश राजधानी वीरेन्द्रनगरसहित प्रदेशका अन्य जिल्लामा रहेका होटल तथा होमस्टे व्यवसायमा कारोबार राम्रो हुन थालेको हो । वीरेन्द्रनगर–१० नयाँ गाउँस्थित थारु होमस्टे सञ्चालन गर्दै आएका जीतबहादुर चौधरीले कारोबार बढ्दै गएको जनाए । ‘आजभोली दैनिक ७०–७५ जनाभन्दा बढी ग्राहकहरू आउने गरेका छन्,’ दुई वर्षदेखि होमस्टे व्यवसाय गरेका उनले भने, ‘गएको एक वर्ष त पुरै व्यापार ठप्पै भयो ।’
पूर्वाधार र प्रचार–प्रसारको अभाव
कर्णालीमा घुम्न र हेर्न लायक थुप्रै ठाउँहरू छन् । तीमध्ये धेरैजसो स्थानमा कमै संख्यामा मात्र पर्यटक पुग्छन् । त्यसमा पनि बाह्य पर्यटकको संख्या झन् न्यून छ । बाहिरबाट घुम्न आउनेहरूको आकर्षण बन्न नसक्दा प्रदेशको पर्यटन क्षेत्रले अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान गर्न सकेको छैन । अधिकांश पर्यटकीय स्थलहरूमा आधारभूत सेवा–सुविधा नै छैनन् । आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन । जसका कारण पनि यो क्षेत्र खुम्चिएको हो ।
प्रदेशमा रहेका प्राकृतिक, धार्मिक तथा साँस्कृतिक महŒवका स्थानसम्म जान यातायातको सहज पहुँच छैन । खान बस्नका लागि व्यवस्थित होटलको अभाव छ । कतिपय पर्यटकीय स्थलको प्रचार–प्रसारसमेत भएको छैन । कर्णालीमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न विभिन्न अभियान थालिए पनि अपेक्षाकृत प्रगति हुन नसकेको हो । रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, पञ्चकोशी, सिञ्जा, त्रिपुरासुन्दरी र काँक्रेविहारलगायतका क्षेत्र विदेशी पर्यटकका लागि मुख्य गन्तव्य अझै बन्न सकेका छैनन् । कर्णालीमा पर्यटनको अथाह सम्भावना रहे पनि पूर्वाधार विकासमा ध्यान नदिँदा ओझेलमा परेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
प्रकाशित मितिः १५ कार्तिक २०७८, सोमबार ०५:००
जितेन्द्र थापा ।