कर्णालीका तीन मन्त्री पदमुक्त

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री पदमुक्त भएका छन् । संसद्को सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाइने कानुनी व्यवस्था अनुसार भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा पदमुक्त भएका हुन् । यी तीनै जना मन्त्री सांसद छैनन् । स्वतन्त्र हैसियतमा मन्त्री बनेका उनीहरूको कार्यकाल सकिएको हो ।

तिनै जना मन्त्री सरकारमा जानुअघि नेकपा एमालेका सांसद हुन् । पार्टीको निर्देशनविपरीत गत वैशाख ३ गते ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिएका थिए । त्यसलगत्तै मुखयमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री नियुक्त गरे । पार्टी ह्वीप विपरित गएपछि कारबाहीमा परेर उनीहरूले एमालेको साधारण सदस्य नरहनेगरी सांसद पद गुमाए । सांसदबाट पदमुक्त भएपछि वैशाख १५ गते गैर सांसदको रूपमा फेरि मन्त्रीको सपथ लिएका थिए । हाल तीनै जना नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।

कर्णालीमा मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल छ । तीन मन्त्री स्वतः पदमुक्त हुने भएपछि केही दिनभित्रमै मन्त्रिपरिषद् विस्तार हुनेछ । उनीहरूको ठाउँमा सम्भवतः समाजवादीकै तीन जना मन्त्री बन्ने छन् । यही बेला सरकारको नेतृत्व फेरबदल हुने आकलन समेत गरिएको छ । सत्ता साझेदार बन्दा नेपाली कांग्रेस र माओवादी केन्द्रले नेतृत्वमा आलोपालो गर्ने सहमति गरेका थिए । सोहीअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री छोड्न सक्ने चर्चा समेत छ । यद्यपि यसबारे आधिकारिक धारणा बाहिर आइसकेको छैन । मुख्यमन्त्री निकट नेताहरूका अनुसार केन्द्रको गठबन्धनबाट आउने निर्देशनका आधारमा मात्र कर्णालीको सत्ता हस्तान्तरण एवम् मन्त्रिमण्डल हेरफेर हुनेछ ।

प्रकाशित मितिः   १५ कार्तिक २०७८, सोमबार ०५:०१