दुर्घटनाको श्रृंखला

चाडपर्वको समयमा बर्सेनि ठूला सडक दुर्घटना हुन्छन् । यस वर्षको दसैँ अवधिमा पनि कर्णाली प्रदेशमा धेरैले ज्यान गुमाउनेगरी दुर्घटना भए । चाडबाडमा हुने दुर्घटनाको श्रृंखलाले निरन्तरता पायो । असोज २६ गते मुगुमा बस दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाए । सो दुर्घटनामा २३ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी पाँच जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । यो त ठूलो दुर्घटनाको एक उदाहरण हो, यस्ता अन्य दुर्घटनाहरू पनि भइरहे । जसमा केहीले ज्यान गुमाए, केही घाइते भए । चाडबाडको बेलामा मात्रै होइन अन्य समयमा पनि दुर्घटना भइरहन्छन् । कर्णाली प्रदेशमा मुख्यतया मानवीय त्रुटिका कारण घट्ने सडक दुर्घटनाको अवस्था भयावह छ । हरेक दिनजसो सडक दुर्घटनामा परी यात्रुहरूको ज्यान जाने गरेको हो । प्रदेशमा प्रत्येक वर्ष दुई सय बढी सवारी दुर्घटना हुने गरेका छन्, जसमा ठूलो संख्यामा नागरिकको ज्यान जाने गरेको छ ।

सडक दुर्घटनाका अनेक कारण छन् । जीर्ण सडक, चालकको लापरबाही र यात्रुले सावधानी नअपनाउनु दुर्घटनाको कारक भएको तथ्याङ्कहरूले देखाएका छन् । अनुमति नदिइएका सडकमा सवारी चलाउनु, मर्मतमा सम्बन्धित निकायले चासो नदिनु तथा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम कम हुन नसकेको हो । सडकमा पैदल यात्रु र सडक यात्रुलाई छुट्टाछुट्टै सडक छैनन् । बढ्दो सडक अतिक्रमण जस्ता कारणले पनि दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ । कर्णालीमा अधिकांश सडक कच्ची र जीर्ण छन् । बर्खायाम यस्ता सडक थप बिग्रने हुँदा दुर्घटनाको जोखिम पनि बढ्ने गरेको छ । सबै खाले सवारीहरू दुर्घटनामा पर्ने भए पनि अधिकांश भने यात्रुवाहक सवारी छन् । जसले गर्दा मानवीय क्षतिसमेत ठूलो हुने गरेको हो । प्रत्येक वर्ष दुर्घटनामा यति ठूलो संख्यामा जनधनको क्षति हुँदा पनि दुर्घटना न्यूनीकरणका क्षेत्रमा उल्लेख्य काम भने हुन सकेको छैन । नयाँ खोलिएका सडकहरू मात्रै होइन कर्णाली राजमार्गमा समेत दुर्घटना धेरै हुने गरेका छन् । सडकको स्तरोन्नतिमा ध्यान नदिँदा राजमार्गको यात्रा पनि जोखिमपूर्ण भएको हो । जसका कारण यो राजमार्गले मृत्युमार्गको उपमा पाएको छ । प्रहरीले सवारी तथा ट्राफिक नियमबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । ती कार्यक्रम पनि प्रभावकारी भने हुन सकेका छैनन् ।

दुर्घटनाको कारक सडक मात्र नभइ चालक तथा यात्रुहरूको लापरबाही पनि उत्तिकै छ । कर्णालीमा दुर्घटनाको स्थिति भयावह हुँदा यसलाई नियन्त्रण गर्न प्रभावकारी प्रयासहरू हुन सकेको छैन । दुर्घटनाका दोहोरिरहने कारण छन् । जसलाई नियन्त्रण गर्न सकिन्छ । न्यूनीकरण गर्न सम्भव छ । सडकको कमजोर अवस्था एउटा कारण हो भने सवारी चालकहरूको लापरवाही अर्को कारण । यही लापरबाहीले स्वयम् चालकको ज्यान मात्रै जोखिममा हुँदैन अन्य थुप्रै यात्रुहरूको ज्यान पनि जोखिममा पर्ने गरेको छ । जीर्ण सडक, जीर्ण सवारी साधन क्षमताभन्दा बढी लोड दुर्घटनाको कारण बनेको छ ।

प्रकाशित मितिः   ४ कार्तिक २०७८, बिहीबार ०५:००