बाढी–पहिरोको विध्वंस

पीडितलाई सरकारको राहत


बाढी–पहिरो र डुवानका कारण मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । केही दिनयता अविरल वर्षापछिको विपत्तिले कर्णाली प्रदेशका सबैजसो जिल्लामा असर गरेको हो । वर्षातपछिको बाढी र पहिरोका कारण मानवीय र पशुचौपायको क्षतिसँगै केही स्थानमा भौतिक संरचनाहरूमा समेत नोक्सानी भएको छ । बाढी–पहिरोमा परेर घाइते तथा बेपत्ता हुनेको संख्या पनि धेरै छ । बेमौसमी वर्षाले देशभर नै धनजनको क्षति गरेको हो । बाढी–पहिरो र डुबानबाट देशभरका १९ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ । मंगलवार रातिदेखि कर्णालीमा मौसममा केही सुधार भएको छ ।

सात जनाको मृत्यु

अविरल वर्षापछिको पहिरोमा परी हुम्ला र कालीकोटमा गरी सात जनाको मृत्यु भएको छ । हुम्लामा पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गएको हो । मंगलवार राति ९ बजेतिर खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरेको थियो । पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित परिवारका ६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए । धनवीरेकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाहीको पनि पहिरोमा परेर मृत्यु भएको छ । कलबहादुरका तीन जना छोरा १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र ३ वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । २० मिटर माथिबाट आएको पहिरोले घर पुरेको हो ।

यस्तै, कालीकोटमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु भएको छ । पहिरोले महाबै गाउँपालिका–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमवार राति पहिरोले स्थानीय विष्णुलाल अधिकारीको घरमा क्षति पु¥याएको थियो । अधिकारीकी छोरी स्मृतिको मृत्यु भएको र अर्की ११ वर्षकी छोरीको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । तीन दिनदेखिको अविरल वर्षापछि गएको पहिरोले सोही गाउँका अन्य पाँच घर पनि भत्किएका छन् भने २५ घर जोखिममा छन् ।

निर्माणाधीन पुलको सामान बग्यो

कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलवार चौकुने गाउँपालिका–१० को चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो । अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीले नदी किनारमा राखिएको क्रेन डुबाएको छ ।

यस्तै, बाढीले कर्णाली नदीको फेरी बगाएको छ । कर्णाली करिडोर निर्माणका लागि सामान ढुवानी गर्न तथा कालीकोटका पाँच स्थानीय तहसँगै बाजुरा, हुम्ला र मुगुका नागरिकलाई यातायातका साधन तार्नका लागि जिते बजारमा जडान गरिएको फेरी बगेको हो । त्यस्तै, बाढीको जोखिम बढेपछि नदी किनारमा रहेको दैलेखको रामाघाट बजारका २० घर स्थानान्तरण गरिएको छ । प्रदेश प्रहरी कार्यालयले बजारमा कर्णाली नदी पसेपछि मानवीय र धनमालको क्षति हुन नदिन त्यहाँबाट चार किमि टाढा स्थानान्तरण गरिएको हो । अविरलको वर्षाले सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) ठाउँ–ठाउँमा अवरुद्ध हुन पुगेको र सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

बगे भेडाबाख्रा

नदीमा आएको बाढीले कालीकोट र जुम्लामा सयौं भेडाबाख्रा बगाएको छ । तिला कर्णाली नदीमा आएको बाढीले एक सय ३० वटा भेडाबाख्रा बगाएको हो । तिलागुफा नगरपालिकाको खल्लागाडमा ३० घर परिवारले पालेका उक्त भेडाबाख्रा बगाएको प्रहरीले जनाएको छ । कालीकोटमा एक सय ७० भेडाबाख्रा बगेकोमा ४० वटा जीवितै उद्धार गरिएको छ ।

यसैगरी, जुम्लाको तातोपानी गाउँपालिका–७ स्थित भेरीखोला नदीले एक सय १७ वटा भेडा र तीन कुकुर बगाएको छ । जाजरकोट लैजाने क्रममा तातोपानीको ताम्ती बारा गाउँका सात जना किसानले नदी नजिक राखेका भेडा बाढीले बगाएको हो ।

यसैबिच सरकारले बाढी–पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले बाढी–पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले परिवारको एक जनामात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार दुई लाख रूपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत दिने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । उनका अनुसार बाढीपहिरोमा परी घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्नेछ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले अवरुद्ध सडक, विद्युत र सञ्चारलाई सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले बाढी–पहिरो प्रभावितको तत्काल खोज, उद्धार र राहतमा जुट्ने निर्णय गरेको छ । पीडित परिवारको पुनस्र्थापना र आवास निर्माणका विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रकाशित मितिः   ४ कार्तिक २०७८, बिहीबार ०५:०२