राजनीतिक दलको गैरजिम्मेवार गतिविधि

महामारीमा पार्टी प्रवेश गराउने होडबाजी

दुई ठूला दल नेकपा र कांग्रेसका गाउँ केन्द्रित भेलाले कोरोना रोकथाम तथा नियन्त्रणका गतिविधिमा असहयोग मात्रै पुगेको छैन संक्रमणको जोखिम समेत बढाइदिएको छ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमणको जोखिम उच्च छ । संक्रमितको संख्या दुई हजार चार सय नाघिसकेको छ । प्रदेशका दश वटै जिल्ला र ७९ मध्ये ६७ भन्दाबढी पालिकामा संक्रमण फैलिएको छ । कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो समय संक्रमण समुदायस्तरमा व्यापक भएपछि प्रदेशका अधिकांश जिल्ला तथा पालिकाहरूमा निषेधाज्ञा गरिएको छ भने हिँड्डुल तथा भिडभाडमा रोक लगाइएको छ । तर, यो महामारीमा भने राजनीतिक दलहरू गाउँ पसेका छन् । चुनावी प्रचारको झल्को दिने गरी उनीहरूले पार्टी प्रवेश गराउन गाउँ–गाउँमा भेला तथा सभाहरू गरिरहेका हुन् । संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले कुनै पनि बैठक, गोष्ठी तथा भेला नगर्न सचेत गराइरहेका बेला दलहरू आमसभा र भेला गर्दै एकअर्को पार्टीका कार्यकर्ता भिœयाउने प्रतिस्पर्धामा देखिएका हुन् ।

यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको पार्टी प्रवेश गराउने होडबाजी छ । हरेक दिनजसो ‘आज यति प्रवेश’ भन्दै बधाई दिइएका तस्बिरले सामाजिक सञ्जालहरू रङ्गिएका छन् । तर, जिल्ला सदरमुकाम र बजार क्षेत्रमा हिँड्डुलमा समेत कडाइ गरेको प्रशासनले दलहरूका भेला र कार्यक्रमको भने सुइँको नपाएझै गर्दै आएको छ । दुई ठूला दल नेकपा र कांग्रेसका गाउँ केन्द्रित भेलाले कोरोना रोकथाम तथा नियन्त्रणका काममा असहयोग मात्रै पुगेको छैन संक्रमणको जोखिम पनि बढाइ दिएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्मामा यही भदौ २ गते ४२ जनाले नेपाली कांग्रेसमा प्रवेश गरे । गएको निर्वाचनमा तीन वटै तहमा ठूलो हार व्यहोरेको सुर्खेत कांग्रेस त्यसयता कुनै न कुनै बहानामा गाउँ केन्द्रित छ । यतिबेला उसलाई अर्को बहाना छ, पार्टीको आसन्न महाधिवेशन । नेपाली कांग्रेस सुर्खेतले पार्टी कार्यकर्तालाई अधिवेशन र भेटघाट कार्यक्रमको अवसर जुराएर कोरोना कहरकैबीच अहिले गाउँमा पार्टी प्रवेशका कार्यक्रम तथा भेलाहरू गर्दै आएको छ । नेपाली कांग्रेसका नेताहरू हृदयराम थानी, शिवराज जोशी, तप्तबहादुर विष्टलगायतका केन्द्रीय, जिल्ला तथा क्षेत्रीयस्तरका नेताहरूको उपस्थितिमा भेलाहरू हुने गरेका हुन् । उनीहरूले ठूलो भेला गरी पार्टी प्रवेश गराएका तस्बिर सामाजिक सञ्जालमा समेत राख्ने गरेका छन् । कोरोना महामारीको यो अवधिमा सुर्खेत कांग्रेसले नौ वटै स्थानीय तहमा भेला तथा पार्टी प्रवेशका कार्यक्रमहरू गरिसकेको छ ।

त्यस्तै यही भदौ ७ गते गुर्भाकोट नगरपालिका–७ सुर्खेतमा नेकपाको पार्टी प्रवेश सभा थियो । ७५ घरधुरीका तीन सय ५० जनालाई नेकपामा प्रवेश गराएको भन्दै नेकपाका नेताहरूले सामाजिक सञ्जालमा तस्बीरसमेत सार्वजनिक गरेका थिए । सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य तथा नेकपा सुर्खेतका जिल्ला अध्यक्ष ध्रुवकुमार शाही, प्रदेशसभा सांसद ठम्मरबहादुर विष्ट लगायतका नेताहरूको उपस्थितिमा सभाको आयोजना गरी स्थानीयलाई नेकपाले पार्टी प्रवेश गराएको हो ।
विश्व नै यतिबेला कोरोना भाइरससँग जुधिरहेको बेला सुर्खेतका राजनीतिक दलहरूलाई भने आगामी चुनावको रन्को छ । उनीहरू नागरिकलाई भेला गरी पार्टी प्रवेश गराउने ध्याउन्नमै व्यस्त छन् । नेपाली कांग्रेसले पञ्चपुरी नगरपालिकामा कार्यक्रम गरिरहँदा वीरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा जारी थियो । त्यस्तै नेकपाले गुर्भाकोट नगरपालिकामा सभा गरी कार्यक्रम गर्दासमेत वीरेन्द्रनगरको निषेधाज्ञा हटिसकेको थिएन । हाल जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा जारी निषेधाज्ञा १२ दिनपछि गत शनिवार हटाएको छ । भेला, बैठक, समीक्षा लगायतका भिडभाड हुने गतिविधि नगर्न प्रशासनले भनेको छ । त्यसको अवज्ञा गर्दै राजनीतिक दलहरूनै सभा र बैठक गर्दै हिँड्ने गरेका छन् ।

नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले आफूहरूले भिड र भेला नगरी पार्टीका गतिविधिहरू सञ्चालन गर्दै आएको दाबी गरे । ‘पार्टीका निरन्तर कार्यक्रम अन्तर्रगत वडा, गाउँ लगायतका कमिटीमा भेटघाट मात्रै गरेको हो,’ उनले भने । कांग्रेसले ठूला भेला गरी कार्यक्रम नगरेको उनले जिकिर गरे ।

नेकपा सुर्खेतका सचिव कृष्ण जिसी ‐जितेन्द्र)ले समेत भिडभाड गर्ने हिसाबले पर्टी गतिविधि नगरेको जनाए । ‘कार्यकर्ता भेटघाट कार्यक्रम निरन्तर रूपमै भइरहेको छ,’ उनले भने, ‘गुर्भाकोटमा भिडभाड भएको साँचो हो । त्योबाहेक अन्य क्षेत्रमा त्यस्तो भिडभाड गरी कार्यक्रम गरेका छैनौं । सतर्कता अपनाइएको छ ।’ उनका अनुसार कोरोना कहरकैबीच नेकपा सुर्खेतले जिल्लाभर पाँच सयभन्दा बढीलाई पार्टी प्रवेश गराएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यस्तो बेला स्थानीय तहका प्रतिनिधीहरू नै बढी जिम्मेवार हुनुपर्ने औंल्याए । ‘यो कार्यक्रम हुँदैछ भन्ने जानकारी आए तत्काल रोकिन्थ्यो,’ उनले भने ‘पार्टीहरूले गाउँमा भेला गरी भिडभाड गरेको पाइएको छ । अब जिल्लाका पार्टी प्रमुखहरूलाई बोलाइ यसो नगर्न अनुरोध गर्छु ।’ यस्तो जटिल परिस्थितिमा पार्टीका गतिविधि गर्नै परे उच्च सावधानी अपनाएर मात्र गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   १५ भाद्र २०७७, सोमबार ०६:०४