बसपार्क सञ्चालनमा नगरपालिका उदासीन

वीरेन्द्रनगर नगरपालिकाले निर्माण सम्पन्न भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सिटी बसपार्क सञ्चालनमा ल्याउन सकेको छैन । नगरले बसपार्क सञ्चालन गर्न नसकेपछि पटक–पटक मिति मात्रै सार्दै आएको छ ।

अघिल्लो महिनामा भदौदेखि सञ्चालना ल्याइने भनिएको सिटी बसपार्कको सञ्चालन मिति फेरि सारिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बसपार्क सञ्चालन गर्नेबारे अझै निश्चित नभएको बताए । निर्माण सम्पन्न भएको लामो समय भइसक्दा पनि सञ्चालनमा नआएपछि बसपार्क नै जिर्ण बन्न थालेको छ । प्रयोगमा नआउँदै पिच उम्कने र भौतिक संरचनाहरू जीर्ण बन्न थालेपछि नगरपालिकाको चौतर्फी आलोचना हुने गरेको छ ।

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा बसपार्क नहुँदा मंगलगढी चोक नजिक अस्थायी रूपमा गाडिहरू पार्किङ गर्ने गरिएको छ । साँघुरो पार्किङ स्थलका कारण दुर्घटनाको जोखिमसँगै यात्रु तथा यातायात व्यवसायीहरूले सास्ती खेप्दै आएका छन् ।

निर्माण सम्पन्न हुनासाथ सञ्चालनमा ल्याउन खोजिएको बसपार्कमा नगरपालिका र त्यहाँ विगतदेखि व्यवसाय गर्दै आएका व्यवसायीबीच विवाद भएपछि रोकिएको थियो । नगरपालिकाले विवाद सुल्झिसकेको भन्दै भदौ १ गतेदेखि बसपार्क सञ्चालनमा ल्याइने बताएको थियो । तर, वीरेन्द्रनगरमा कोरोना संक्रमणको जोखिम बढेपछि भदौ १ गतेदेखि नै निषेधाज्ञा गरिएकाले बसपार्क सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकाले जनाएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत ढकालले कोरोना रोकथाम र नियन्त्रणका लागि भनेर निषेधाज्ञा भएपछि बसपार्क सञ्चालनको काम रोकियो बताए । उनले नगरपालिकाको बचाउ गरेपनि बसपार्क सञ्चालनका लागि भने तयारी समेत गरिएको छैन । सञ्चालनको जिम्मा पाएको पीआर कन्ट्रक्सन कम्पनीसँग सम्झौता समेत भएको छैन ।

वीरेन्द्रनगर नगरपालिकाले बसपार्क सञ्चालनका लागि गत मंसिर १६ गते टेण्डर आह्वान गरेको थियो । बसपार्कमा पहिलेदेखि नै व्यवसाय गर्दै आएका ५४ जना व्यवसायीले उच्च अदालत सुर्खेतमा गत पुस १३ गते आफूहरूलाई प्राथमिकता नदिएर पूर्वसहमति विपरित टेण्डर गरिएको भन्दै रद्द गर्न रिट दायर गरेका थिए । नगरपालिका र व्यवसायीबीच पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई सिटी बसपार्क निर्माणपछि व्यापार–व्यवसाय गर्न दिने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि उनीहरूले अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि गत फागुन अन्तिमतिर उच्च अदालतले सुनाइ गर्दै प्रतिस्पर्धा गराउने तर पूराना व्यवसायीलाई प्राथमिकता दिनु भनी सुनाइ गरेपछि विवाद सुुल्झिएको थियो । अहिले उक्त नवनिर्मित सिटी बसपार्कमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर राखिएको छ ।

प्रकाशित मितिः   १५ भाद्र २०७७, सोमबार ०६:०३