पहिरोमा पुरिएर चार जनाको मृत्यु

कालीकोटको तिलागुफा–१ स्थित नाग्म बजारमा आइतवार बिहान पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । पहिरोले चार घर पुरिदा दुई जना घाइते भएका छन् ।
कालीकोटका सहायक प्रमुुख जिल्ला अधिकारी युवराज गुरागाइँले बिहान ८ बजेतिर पहिरो गएको बताए । उनले अझै चार जना बेपत्ता भएको आंशकामा खोजी कार्य भइरहेको जानकारी दिए । आइतवार साँझ यो समाचार तयार गर्दासम्म चार जनाको शव निकालिएको र दुई जनालाई जिबितै उद्धार गरिएको छ । पहिरोमा परेर घाइते भएका दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरू अस्पतालबाट प्राथमिक उपचारपछि फर्किसकेको सहायक प्रजिअ गुरागाइँले जनाए ।

पहिरोमा परेर शुभकालिका गाउँपालिकाका ४० वर्षीय प्रयाग शाही, ८ वर्षीय हिमा शाही, पाँच वर्षीय निराजन शाही र दुई महिनाको शिशु अक्खल शाहीको मृत्यु भएको हो । नाग्म बजारको पछाडिपट्टीको भिरालो जमिन भासिएर पहिरो जाँदा तिलागुफा–१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारको घर पुरिएका हुन् । कालीकोट र जुम्लाको सीमानामा पर्ने नाग्म बजार कालीकोटको तिलागुफा नगरपालिका, जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो ।

प्रकाशित मितिः   १५ भाद्र २०७७, सोमबार ०६:०३