स्वास्थ्य उपचारको पहुँच
कर्णालीका दुःख एक होइन अनेक छन् । नागरिकको जीवनयापन सहज छैन । विकासमा पछि परेको छ । गरिबीले च्यापेको छ । भोकमरीले पिरोलिरहन्छ । स्वास्थ्य सेवाको पहुँच पनि पर्याप्त छैन । जसले गर्दा उपचार नपाएरै ज्यान गुमाउनुपर्ने बाध्यता कायमै छ । यही विडम्बनापूर्ण कहरसँग यहाँका महिलाहरू जुधिरहेका छन् । गर्भवती र सुत्केरी महिलाहरूको ज्यान नै जोखिममा छ । सुरक्षित छैन । वर्षेनी गर्भवती र सुत्केरीहरूको मृत्युका खबर सञ्चारमाध्यममा आइरहन्छन् । यो वर्ष पनि त्यसले निरन्तरता पाइरहेको छ । शुक्रवार मात्रै दैलेखको ठाटीकाँध गाउँपालिका–१ की पार्वती शाहीले ज्यान गुमाइन् । सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो ।
उल्लेखित घटना त एक उदाहरण मात्रै हो । यस्ता घटना कर्णालीमा ठूलो संख्यामा नै हुने गरेका छन् । पछिल्लो डेढ महिनाको अवधिमा मात्रै उपचार नपाएर चार जना सुत्केरी महिलाको मृत्यु भएको छ । साउनयता दैलेख र कालीकोटमा एक÷एक जना र जाजरकोटमा दुई जना सुत्केरी महिलाले ज्यान गुमाएका हुन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो तीन वर्षको अवधिमा ६१ जना सुत्केरी तथा गर्भवती महिलाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा २६, आ.व. २०७५÷०७६ मा १३, आ.व. २०७६÷०७७ मा १८ जना सुत्केरीको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य पूर्वाधारमा निकै कमजोर रहेको कर्णाली प्रदेशमा महिलाहरू गुणस्तरीय स्वास्थ्य सेवा नपाएका कारण नै बढी जोखिममा छन् । स्वास्थ्य संस्थासम्म सुत्केरी तथा गर्भवती महिलाहरूको सहज पहुँच पुग्न सकेको छैन । यहाँका सुत्केरी र गर्भवती महिला समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य छन् । भौगोलिक रूपमा दुर्गम भएकाले पनि यहाँका महिलाहरूको स्वास्थ्य संस्थासम्म सहज पहुँच छैन । समयमा स्वास्थ्य सेवा नपाउँदा बीचबाटोमा ज्यान जाने गरेको छ । कर्णालीमा भौगोलिक विकटता, परिवारको लापरबाही, यातायातको असुविधा र स्वास्थ्य सेवाको पहुँच नहुँदा सुत्केरी तथा गर्भवतीले उपचार नै नपाएर ज्यान गुमाउनु परिरहेको हो । विशेषज्ञ डाक्टर र दक्ष तथा अनुभवी स्वास्थ्यकर्मी नहुनु, स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा आवश्यक सामग्रीको अभाव हुँदा उनीहरूले उपचार अभावमा ज्यान गुमाउने गरेका हुन् । समयमै उपचार नपाउँदा विशेष गरेर ग्रामीण भेगका सुत्केरी महिलाहरूको ज्यान गइरहेको छ ।
दुर्गम ठाउँका सुत्केरी महिलाहरूको ज्यान बचाउन प्रदेश सरकारले हवाई उद्धार समेत गर्दै आएको छ । संघीय सरकारले पनि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निःशुल्क हवाई उद्धार गर्दै आएको छ । तर, उक्त सेवा सबै सुत्केरी महिलाको पहुँचमा छैन । केही सुत्केरी महिलाहरूलाई उद्धार गरेर उपचार गरिए पनि दुर्गमका महिलाहरूका लागि भने प्रभावकारी बन्न सकेको छैन । प्रविधि, जनशक्ति र उपकरण अभावका कारण ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूको सेवा भरपर्दो छैन । त्यसैले सबै स्थानीय तहमा सुविधायुक्त र भरपर्दो स्वास्थ्य संस्थाको स्थापना अपरिहार्य छ ।
प्रकाशित मितिः १५ भाद्र २०७७, सोमबार ०६:०२
साझा बिसौनी ।