टेलिभिजनमा देखिने रहरले नृत्यमा

          चन्द्र मन्दिर (नृत्य निर्देशक)

म सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुने मान्छे । त्यो बेलामा नाच्नकै लागि गाउँ डुल्थें । साथीहरू समेत चन्द्र नआएपछि रमाइलो हुँदैन भन्थे । म जस्तो चञ्चले त कोही पनि थिएन होला ।

बुवा समेत नृत्यको गुरु भएको कारण मलाई उहाँबाटै यो क्षेत्रमा आउने प्रेरणा मिलेको हो । आमा, दिदीहरूले समेत असाध्यै हौसला दिनुहुन्थ्यो । विद्यालय पढ्दा खुब नाचिन्थ्यो ।

खासमा सानो छँदा म वाद्यवादनमा थिएँ । बुवाले म भन्दा पनि ठूलो मादल ल्याईदिनु भएको थियो । आजपनि त्यो मादल मैले राखेको छु ।

बजाउने मान्छेले नाँच्न पनि सक्छ भनेर मैले नाच्न सुरु गरेको हुँ । पहिलो पटक वि.स २०६१ सालमास्टेजमा नाचेको हुँ । नृत्य प्रतियोगिताको पहिलो पटक सहभागि हुँदा नै प्रथम भएको थिएँ । त्यती मात्रै होइन मैले सोही कार्यक्रममा गित समेत गाएर प्रथम भएको थिएँ । तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयले त्यो बेलामा विद्यालयबाट विद्यार्थीहरूलाई नृत्य प्रतियोगितमा लैजान्थ्यो । म काठमान्डौंमा राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा गएको दिन एसएलसी परीक्षा थियो । म त्यो दिन नृत्य गरेर प्रथम भएको थिएँ तर पढाई भने बिगारेँ ।

अहिलेको जस्तो त्यो बेलामा घर–घरमा टेलिभिजन थिएन । हेर्नका लागि अरुको घरमा जानुपथ्र्यो । त्यो बेलामा रेडियो नेपालमा पत्रमित्रता भन्ने कार्यक्रम आउँथ्यो । केहीले त्यसमा पत्र पठाए नाम आउँथ्यो । रेडियोमा नाम आए गाउँभरी हल्ला हुन्थ्यो ।

त्यो बेलामा मलाई लाग्ने जिज्ञासा भनेको कसरी म पनि टेलिभिजनमा देखिने होला भन्ने थियो । कहिलेकाहीँ राष्ट्रिय स्तरको नृत्य प्रतियोगिता भएको बेलामा मेरो पनि रेडियोमा ना आउँथ्यो । अनी गाउँभरी हल्ला चल्थ्यो । मलाई भने रेडियोमा आएको नाम मात्रैले पुगेको थिएन । टेलिभिजनमा नै देखिन रहर थियो । त्यसैले मैले नृत्यमा बढि ध्यान दिएँ। त्यो बेलाको मेरो उद्देश्य टेलिभिजनको पर्दामा देखिने थियो । मैले गरेको मेहेनेतलेनै आज यो स्थानमा छु । सुर्खेतको झ्याउरे नाँच भनेपछि प्रतिस्पर्धीहरूतर्सिने अवस्था अझैपनि छ । मलाई यो स्थानमा ल्याई पु¥याउनमा विशेषगरी मेरो बुवाआमा र परिवारसँगै गुरुहरू हुनुहुन्छ ।

कलाकारिताबाट सबै–सबै आर्थिक रूपमा सबल हुँदैनन् । तर कलाकारको परिचयले दिने खुशी नै अथाहा सम्पत्ति हो जस्तो लाग्छ । मलाई पनि मेरो परिचयले अथाह खुशी दिएको छ । देश–विदेशमा सबै ठाउँमा दर्शकहरूले चिन्नुहुन्छ । त्यो बेलामा नृत्यगरेर पुरस्कृत भएको भन्दा पनि बढि खुशी लाग्छ ।

म बागिना समुहको उत्पादन हुँ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको बरिष्ठ उपाध्यक्ष समेत रहेको छु । हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत पाएको छु ।

नृत्यकै क्रममा विदेश जाने मौका समेत पाएँ । सिंगापुर, थाईल्याण्ड र मलेसियामा नृत्यले नै पुग्ने अवसर प्रदान गरेको हो । राष्ट्रिय स्तरका थुप्रै पुरस्कारहरू समेत प्राप्त गरेको छु ।

म करिब नौ वर्षजती काठमाडौंमा बसें । त्यो बेलामा विभिन्न टेलिश्रृङ्खलाहरूमा पर्दामा देखिने अवसर पाएँ । केही टेलिश्रृङ्खलाहरूको निर्देशन गर्ने मौका पाएँ । फिल्म ‘सुनिमाया’को नायक भएर समेत खेलेको छु ।

‘खिचडी’ टेलिश्रृङ्खलाको निर्देशन समेत गरेको छु । विभिन्न एक सय वटा म्यूजक भिडियोहरूनिर्देशन गरिसकेको छु ।

एक दशक काठमाडौंमा बिताएको मैले आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले सुर्खेत आएको हुँ । सुर्खेतका अधिकांश विद्यालयहरूमा मैले विद्यार्थीहरूलाई नृत्य सिकाइसकेको छु । अझै पनि मेरो नशा–नशामा नृत्य छ ।

अब कर्णालीको कलालाई संरक्षण गर्नको लागि नृत्य संगठनको स्थापना गर्दैछौं । कर्णालीका दशवटै जिल्लामा विभिन्न कला र संस्कृति छन् । देउडा, टप्पा, हुड्केलगायतका नृत्यहरूलाई संरक्षण गर्नको लागि हामीहरूले संगठनको स्थापना गर्न लागेका हौं ।

हरेक पेसाले समाजलाई केही न केही दिएको छ । नृत्य, नाटक र फिल्मले पनि समाजलाई ठुलो योगदान पुर्याएको छ । अझै पनि यो क्षेत्रलाई संरक्षण गर्दै अगाडि बढ्ने उदेश्य छ ।

(साझा बिसौनी सहकर्मी सीता वलीसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित मितिः   ८ चैत्र २०७६, शनिबार ११:०४