विभेदको पहाडले थिचिएको मेरो गाउँ

                           महेश नेपाली

प्रकृतिको सुन्दरता अपरम्पार छ । भूगोल जतिसुकै नमिलेको किन नहोस् त्यही भूगोलमा पलाएका डाँडाकाँडा र लेकवेशी अनेक रङ्गले रंगीन छन् । तिनैमध्येको एक टुक्रा हो, जुम्ला जो हिमालको पाउमा लमतन्न छ ।

इतिहासको पानामा दर्ज भएको यहाँको भौगोलिक र राजनीतिक विरासतलाई अनेक तहले चर्चा–परिचर्चा गरिन्छ । बसन्त ऋतुमा सल्लीपिरल (सल्लीपीर)को सुसाई । गृष्ममा नदीको बगाई । हिरा जसरी टल्कने कान्जिरोवा हिमाल । यी सबैको वर्णन आख्यान, गैरआख्यानका ठेलीहरूमा संग्रहित छन् । अनेक विम्बमा सजिएका छन् ।

प्रदेश हिमाली हो, तर यसको स्वरूपमा बहुलताको मिश्रण छ । हावापानीले हिमालको आभाष दिन्छ । भौगोलिक हुलिया तराईको जस्तो छ । विश्वास नै गर्न मुस्किल हुने । तर, यो विश्वास गर्नैपर्ने यहाँको विविधता हो ।

विश्वास नमानीकहाँ सुख पाउनु ? उपत्यकाको बीचमा सदरमुकाम । त्यहाँबाट जिल्लाको जुनसुकै ठाउँ पुग्न पैदल हिंडेरै भए पनि एक दिनभन्दा बढी लाग्दैन । यो नै यहाँको खासियत हो । यो प्राकृतिक भव्यता देखेर आनन्दित हुने मनलाई जातीय विविधताभित्रको शून्यताले भने ऐठन लगाउँछ ।
जिल्लाको प्रतिनिधित्व गर्ने थुप्रै गाउँमध्येको एक हो, बोहरागाउँ । जुन चन्दननाथ नगरपालिकाको वडा नं. १० मा अवस्थित छ । बढीमा १५ मिनेट पैदल हिँडेपछि बजारबाट गाउँ पुगिन्छ । सदरमुकाम उसको आँगन हो । जुन उत्तरमा छ । दक्षिणमा ठाकुज्र्यू, पश्चिममा कार्तिकस्वामी र पूर्वमा चिमारा मालिका पर्छ । ठाकुज्र्यू र कार्तिकस्वामी प्रसिद्ध तिर्थस्थल हुन्् । कार्तिकस्वामी ठाकुज्र्यूमा विराजमान हुने देउता हुन् । यी विराजमान हुने स्थल बनाउनेलाई यीनले सधंै निषेध गरिरहे ।

चिमाराको काखबाट उदाउने घाम शिशिरमा बिहान अबेर आउँछ र बेलुका सबेरै जान्छ । त्यही घाम बसन्तमा बढो फूर्तिकासाथ बिहानै विस्तारामै पुग्छ । दिनभर राज गर्छ र बेलुक अबेर जान्छ ।

प्रकृतिको अनुपम दृश्यभित्र लुकमारी खेलिरहने यस गाउँमा क्षेत्री र बाहुनको बस्तीका बीचमा कथित दलित बस्ती छ । यति धेरै थोकले मिलेको यो बस्तीमा नमिलेको समाजिक संरचना छ । छुवाछुत, कमजोर खालको सांस्कृतिक स्तर, न्यून आर्थिक अवस्था, राजनीतिक पहुँचबाट टाढा । यी सबै यस बस्तीका पेवाजस्ता छन् ।

जम्मा ६३ वटा घरधुरी रहेको यस दलित बस्तीमा ६३ परिवार छन् । भाइ छुट्टिएसँगै यो संख्या बढ्न थाल्छ । बढ्ने क्रममै छ । प्रतिपरिवार बढीमा आठ जना, कममा तीन जना गरी औषतमा ५.५ जना सदस्य एक परिवारमा बसिरहेका छन् । प्रायः परिवारमा न्यूनतम एकजनादेखि अधिकतम पाँच जनासम्म १६ वर्ष मुनीका बालक छन् ।

पूरै बस्तीमा ६० वर्ष काटेकाको संख्या ९ जना मात्र छ जो नेपाल सरकारबाट उपलब्ध हुने सामाजिक सुरक्षा नामको भत्ता थाप्छन् । यो तथ्यांकले बताइरहेको छ यहाँको औषत आयु । बाँकी सबैजना आयआर्जन गरेर जीविका चलाउन सक्ने उमेर समूहका छन् । उनीहरूकोे मजदुरीमा परिवार चलेको छ ।

यस बस्तीमा रहेकामध्येमा तुलनात्मक रूपले अलि बढी सम्पत्ति हुने दुईजना (एकजना लामो समय गैरसरकारी संस्थामा काम गरेका र अर्का ठेक्कापट्टामा) छन् भने कम सम्पत्ति भएका तीन जनाको घर लगाउने एक कित्ता जग्गाबाहेक अरु जमिन छैन । यहाँको कुल जनसंख्यामा तीन जना स्नातकोत्तर, दुई जना स्नातक, दुई जना प्रमाण–पत्र तह र २५ जना माध्यमिक शिक्षा उतीर्ण गरेका छन् ।

सभ्य समाजको सारथी बनेको शिक्षा रेडपाण्डाको स्थितिमा छ । साक्षर हुनु एउटा कुरा, शिक्षित हुनु अर्कै कुरा हो । शिक्षितले समाजका अँध्यारा पाटालाई चिर्ने साहस राख्छ । साक्षरले त्यसलाई बोकेर हिँड्छ । यो समाजमा चिर्नेभन्दा बोक्नेको संख्या ज्यामितीय दरमा बढेको छ ।

श्रेणीविहीन कर्मचारीको रूपमा एकजना सरकारी सेवामा कार्यरत छन् । एकज ना अस्थायी शिक्षक र तीन जना पत्रकार बाहेक सेवाक्षेत्रमा कार्यरतको संख्या भेटाउन मुस्किल छ । प्रशासनिक क्षेत्रको पहुँच त आकाशको फल जस्तो छ । राजनीतिमा सक्रिए हुनेको संख्या लगभग शून्य छ ।

रोजगारीको अभावमा बेरोजगारीको भेलले चारजनालाई खाडी मुलुक पु¥याएको छ । माध्यमिक शिक्षा पूरा गर्ने लगायतका युवाको भारत–नेपाल आउजाउ चलिरहेकै छ । कमजोर धरातलको जगमा ठडिएको समाजका मान्छेलाई के देश के विदेश ? सबै एउटै जस्तो लाग्छ । जिन्दगीमा जतिबेला पनि भूकम्प आउने सम्भावना प्रबल हुन्छ । त्यसैको बीचमा एक गाँस खाना र एक सरो लाउन पाउनु उनीहरूको लागि जिन्दगीको ठूलो सफलता बन्छ ।

पुर्खादेखि लगिमानि (बालीघरे) र छुवाछुत प्रथाले गाजिएका बाउआमामा हिन्दू धर्मभित्रको मनुस्मृतिले जरा गाडेको छ । उनीहरू आफ्नो बस्ती बाहेक अरु बस्तीकालाई देखे भने राजासाप जस्तै मान्छन् र उनीहरूको आगाडि शिर झुकाउँछन् । सन्तानहरू शिक्षित हुने अधिकारबाट कोशौं टाढा छन् । महिनावारी हुँदा घर त के सार्वजनिक पँधेराको छेउमा पर्न पाएका छैनन्, छोरीचेलीले । सभा समारोहमा आफूमाथि भएको अत्याचारलाई टुलुटुलु हेरिबस्ने ती युवाले कुसंस्कारका डामलाई निर्मम रूपमा सहिरहेका छन् ।

उनीहरूका लागि आजभन्दा वर्षौंअघि अफ्रिकामा नेल्सन मण्डेलाले चलाएको रंगभेद विरोधी संघर्ष, अमेरिकामा मार्टिन लुथर किंगको गोरा–काला सबै भाइभाइ भन्ने सन्देश, भारतमा बाबासाहेब डा. भिमराव अम्बेडकरको मनुवादविरुद्धको तर्कसंमत खण्डन, यी सबै संघर्षका कथा बेखबरमा छन् ।
विपन्नताको भार थाम्न नसकेकाहरू रक्सीको भ¥याङ्मार्फत् लालाबाला सन्तान र श्रीमतीको माया मारेर चितामा चढेपछि तिनैका लालाबाला हिजोआज काठमाडौंका सडकमा पर्खाल लगाउने ढुङ्गा ओसार्दैछन् ।

श्रीमान्को बिछोडले गहिरो पीडा परेका काकीहरूको जीवन मरुभूमिजस्तै रुखो र उजाड देखिन्छ । पोषणयुक्त खानाको अभावमा रोगको सिकार हुनेहरू हरेक वर्षमा एक पटक पूजा गरिने मालिकाको मन्दिरमा गएर छिट्टै निको होस् भन्ने कामनाका साथ बिन्ती बिसाउँछन् ।

स्वास्थ्यकर्मीको भन्दा धामीझाँक्रीको सक्रियता बढिरहेको छ । हप्ताको एकदिन त्यो बस्तीमा धामीझाँक्री र बिरामीको रुवाबासी चल्छ । घरबाहेक अरु केही नभएकाहरू हावा र पानीदेखि बच्दै गुजारामुखी जीवन चलाउँछन् ।

वर्षात्को उर्लंदो भेल तर्न पनि तयार छन् । हिमालको सुक्खा र चिसो सिरेटो पनि खप्न पनि सहमत छन् । यिनीहरूको शरीरले कडा चट्टान स्वरूप लिएको छ । मानवीय संवेग हराएजस्ता देखिन्छन् । जातीयताको नाममा कथित माथिल्लो जातका भनाउँदाले गर्ने अमानवीय व्यवहारको शृङ्खला जारी छ ।

चुनावताका तिनीहरूलाई भोट बैंक बनाउने जनप्रतिनिधिलाई कर्ममा भन्दा भाग्यमा बढी विश्वास छ । त्यसकारण उनीहरूको ध्यान यो बस्तीको मुहार फेर्नुभन्दा पनि घर–घडेरी जोड्न र नातागोतालाई भर्ती गर्नमा केन्द्रित छ । उनीहरूले गर्नुपर्ने कामको जिम्मा एनजीओ र आईएनजीओको भागमा परेको छ । जसले तिला नदीमा माछा मार्ने सीप सिकाउनेभन्दा आफैंले माछा मारेर भान्छामा प¥ुयाउँछन् र सधैंको लागि टाप कस्छन् । यस्तै काम उनीहरूका सबै परियोजनाले गर्न थालेपछि आत्मनिर्भरताको कुरा गायव भएर परनिर्भरताले राज गरेको छ ।

कथित जनयुद्धको आधारभूमि मानिने कर्णालीका लागि युद्ध सकिएको दुई दशक बित्दा एकादेशको कथा बनिसकेको छ । दशकौंपछि अधिकारको नाममा पाएको एकथान संविधानमा उल्लेखित कुरा पनि कागलाई बेल पाक्यो हर्ष न बिस्मात भएको छ । सिंहदरबारमा फेरिएका शासकहरूले विकासका ठूलठूला नारा फलाकी रहे पनि दलित बस्ती भने तिनै आश्वासनका चाङका बारेमा पनि बेखबर भएर मस्तनिद्रामा छ ।