आजदेखि संसद् बैठक नियमित
सीता वली,
सुर्खेत : पटक–पटक स्थगित हुँदै आएको कर्णाली प्रदेशसभाको बैठक नियमित हुने भएको छ । हिउँदे अधिवेशन सुरु भएको तीन सातामा दुई दिन मात्र बसेको बैठकलाई अब भने निरन्तर गर्ने तयारी गरिएको छ ।
कार्य व्यवस्था परामर्श समितिको बैठकले हिउँदे अधिवेशन नियमित सञ्चालन गर्ने निर्णय गरेको हो । शनिवार बसेको बैठकले हिउँदे अधिवेशनलाई चलायमान र प्रभावकारी बनाउन संसद् बैठक नियमित गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
हिउँदे अधिवेशनको तेस्रो बैठक आज (आइतवार) बस्दैछ । चौथो बैठक सोमवार राख्ने निर्णय पनि परामर्श समितिले गरिसकेको छ । त्यसपछि पुनः समितिमा छलफल गरेर आगामी बैठकको मिति टुङ्गो लगाइनेछ । ‘१९ गते बैठक बसेपछि पनि कार्य व्यवस्था परामर्श समितिको बैठक बसी संसद् बैठकलाई नियमित गर्नको लागि निर्णय गर्ने सहमति भएको छ’ सचिव बुढाथोकीले भने । संसद् नियमित नभएको भन्दै चौतर्फी आलोचना भएपछि अब भने नियमित गर्न लागिएको हो । ‘सदन नियमित भएन भन्ने गुनासो सबैतर्फबाट आइरहेको छ’ उनले भने ‘अब हामीहरू संसद् बैठक नियमित गर्ने कसरत गर्दैछौं ।’
गत माघ २४ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । त्यसपछि दोस्रो बैठक फागुन तीन गते बसेपछि १८ गतेसम्मका लागि स्थगित गरिएको थियो । निकै ढिलो गरी सुरु भएको हिउँदे अधिवेशनमा पनि नियमित बैठक सञ्चालन नभएपछि आलोचना भएको थियो । वर्षे अधिवेशन सकिएको चार महिनापछि हिउँदे अधिवेशन आह्वान गरिएको थियो । केही महिनामै आगामी वर्षको बजेट तयारीमा लाग्नुपर्ने भएकाले हिउँदे अधिवेशनका लागि धेरै समय छैन । तर कम समय बचेको अवस्थामा पनि बैठक नियमित सञ्चालन हुन सकेको छैन । प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले हिउँदे अधिवेशनको पहिलो र दोस्रो बैठकमै पनि संसद् नियमित गर्नुपर्नेमा जोड दिएका थिए । उनले लामो समय स्थगित गर्न लागिएकोतर्फ संकेत गर्दै मन लागे खोल्ने र मन नलागे बन्द गरिदिने दोकानको रूपमा संसद् चलाउन नसकिने भन्दै आलोचना गरेका थिए ।
प्रदेशसभा सचिवालयले भने ‘विजनेश’ नहुँदा बैठक नियमित राख्न नसकिएको जनाएको थियो । सरकारले समयमै विधेयक बनाएर नदिँदा संसद् कामविहीन भएको हो । तर अब भने नियमित हुने जनाइएको छ ।
आइतवार बस्ने बैठकको विशेष समयमा अघिल्लो बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जवाफ दिने कार्यसूची रहेको छ । ‘शून्य तथा विशेष समयमा उठाएका महत्वपूर्ण विषयहरूको जवाफ नपाएको गुनासो समेत माननीयज्यूहरूको छ’ सचिव बुढाथोकीले साझा बिसौनीसँग भने, ‘अब यसको पनि अन्त्य हुनेछ । विशेष तथा शून्य समयमा उठाइएका विषयले जवाफ पाउनेछन् ।’ उनका अनुसार आइतवार बस्ने संसद् बैठकमा कर्णाली प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मा छलफल गरिने छ । त्यस्तै गत फागुन २ गते संसद्मा दर्ता भएको कर्णाली प्रदेश लोक सेवा आयोग ऐनलाई पहिलो संशोधन गर्न बनेको विधेयक २०७६ टेबुल समेत गरिने कार्यक्रम रहेको उनले बताए । शून्य समय र विशेष समयमा केही सांसदहरूले नागरिकका आवाज उठाउने गरी बैठकको तयारी भएको बताए ।
कर्णाली प्रदेशकी उप–सभामुख पुष्पा घर्तीले मगरले अहिले पर्याप्त काम आएकाले बैठकलाई नियमित गर्न लागिएको बताइन् । उनले संसद्मा आएका विधेयकमाथि छलफल गर्नुपर्ने लगायतका थुप्रै काम भएकोले नियमित बैठक बस्नेगरी कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्णय गरेको बताइन् । ‘कानुन निर्माणको प्रक्रियामा केही दौडधुप गर्नुपर्ने छ’ उनले भनिन् ‘संसद्मा आएका विजनेशहरू छिटो सक्नुपर्ने अवस्था छ ।’ संसद्मा आएको विधेयकहरू नसकिँदासम्म बैठक निरन्तर गर्ने बताइन् । केही टेबुल गर्नुपर्ने र केही छलफल समेत गर्नुपर्ने महत्वपूर्ण विधेयकहरू भएकोले पनि बैठकलाई निरन्तरता दिइने उनको भनाइ थियो ।
प्रकाशित मितिः १८ फाल्गुन २०७६, आईतवार ०९:२५
सीता वली ।