कर्णालीलाई चाहिने जनशक्ति उत्पादन गर्न सुझाव

सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले गुणस्तरीय शिक्षा प्रदानमा ध्यान दिन निजी विद्यालयहरूलाई सुझाव दिएका छन् । नेशनल प्याब्सन नेपाल सुर्खेतको पाँचौं जिल्ला अधिवेशनको शनिवार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मन्त्री भण्डारीले खराब शिक्षाले देशलाई अधोगतितिर धकेल्ने भन्दै देश विकासमा योगदान पुर्याउने जनशक्ति उत्पादनमा शैक्षिक संस्था केन्द्रित हुनुपर्ने सुझाव दिएका हुन् ।

‘खराब शिक्षा पाएको व्यक्तिले समाजमा राम्रो काम गर्न सक्दैन त्यसले समाजलाई नै खराब बाटोतिर डो¥याउँछ र देश नै तहसनहस हुन्छ’ मन्त्री भण्डारीले भने, ‘नेपालको शिक्षालाई व्यवस्थित र गुणस्तरीय बनाउन तथा शैक्षिक अवस्थालाई सुदृढ गर्न निजी क्षेत्रले खेलेको भूमिका अहम छ । यसलाई अझ गुणस्तरीय बनाउँदै लैजान जरुरी छ ।’ उनले शिक्षा सबैभन्दा शक्तिशाली हतियार भएको बताए । शिक्षाको हतियार प्रयोग गरेर मात्रै संसार बदल्न सकिने धारणा उनको थियो । ‘सबैभन्दा कम साक्षर, सबैभन्दा कम आयु, कम विकास तर प्रचूर सम्भावनायुक्त कर्णाली प्रदेशको भविष्य सुनिश्चित गर्न सक्ने योग्य जनशक्ति कसरी बनाउने ?’ उनले थपे, ‘शिक्षाका नाममा भइरहेको पूँजी पलायन कसरी रोक्ने ? त्यसका लागि एनप्याब्सनको भूमिका कस्तो रहन्छ ? यो प्रश्न मेरो मस्तिष्कमा नाचिरहेको छ ।’

कार्यक्रममा एनप्याब्सनका अध्यक्ष रितुराज सापकोटाले नेपालको शैक्षिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण सहयोग गरेको बताए । ‘शिक्षाको विकासमार्फत निजी क्षेत्रले नेपालको अवस्थामा सुधार ल्याउन प्रयास गरिरहेका छौं । तर हामीले सरकारबाट अपेक्षित सहयोग पाउन सकिरहेका छैनौं’ उनले भने, ‘शैक्षिक विकासका लागि सरकारले सामुदायिक विद्यालयका जस्तै निजी विद्यालयमा अवसर र सहयोग गर्न सकेको खण्डमा सक्षम, देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । यसमा राज्यको ध्यान पुगोस् ।’

प्रकाशित मितिः   १८ फाल्गुन २०७६, आईतवार ०५:०३