किन पर्दैन कर्मचारीको रोजाइमा कर्णाली ?

सीता वली,
सुर्खेत : समायोजनका क्रममा अधिकांश कर्मचारीले कर्णाली रोजेनन् । जसले गर्दा सुरुवातदेखि नै प्रदेश कर्मचारी अभावले पिरोलियो । त्यसको सिधा असर सरकारको बजेट र योजना कार्यान्वयनमा प¥यो । अघिल्लो वर्ष बजेट कार्यान्वयनमा असफल भएको प्रदेश सरकार चालु आर्थिक वर्षको आधा अवधि सकिँदासम्म पनि असफलता उन्मुख नै देखिन्छ । यही असफलताबाट मुक्त हुन सरकारले कर्मचारीका लागि आकर्षक योजना ल्याएको छ ।कर्णाली कर्मचारीको रोजाइमा नपरेपछि प्रदेश सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेरै कर्मचारीलाई आकर्षित गर्न प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । तर प्रोत्साहन भत्ताले मात्रै कर्मचारी आकर्षित नहुने सरोकारवालाहरू बताउँछन् । नेपाल सरकारका पूर्व उप–सचिव सूर्यनाथ योगीले भत्ताले मात्रै कर्मचारी आकर्षित नहुने बताए । उनले कर्मचारीहरूले पूर्वाधार विकास, सामाजिक विकास लगायतका विकासलाई समेत हेरी सेवा गर्न चाहने बताए । योगीका अनुसार कर्मचारीहरूले सडक, शिक्षा, स्वास्थ्य, बालबालिकालाई अध्ययन गर्नको लागि राम्रो विद्यालयको समेत अपेक्षा राख्ने गर्दछन् । ‘कर्णाली अन्य क्षेत्रको तुलनामा विकट छ’ उनले भने ‘कर्मचारीहरूले कार्यक्षेत्रमा सुरक्षा र सहयोगी वातावरण चाहन्छन् ।’

कर्णाली प्रदेश सरकारले कर्मचारीलाई आकर्षण गर्नको लागि पूर्वाधार तथा सामाजिक विकासमा समेत ध्यान दिनुपर्ने उनले बताए । ‘कर्मचारीको लागि प्रोत्साहन भत्ता पनि ठीकै होला’ उनले थपे ‘तर पैसाले मात्रै कर्मचारी काम गर्न कर्णाली आउन चाहदैनन् ।’ पूर्वाधार विकास र सामाजिक विकासमा ध्यान दिनुका साथै तालिम, सस्तोमा कर्जा, वैदेशिक भ्रमण लगायतका सुविधा थप्न सकेमात्र कर्मचारीको रोजाइ कर्णाली हुने उनले बताए । हालै मात्रै सेवा निवृत्त भएका नेपाल सरकारका पूर्व सह–सचिव बालाराम शर्मा भौगोलिक विकटताकै कारण कर्णाली प्रदेश कर्मचारीको रोजाइमा पर्न नसकेको बताए ।

‘प्रदेशको राजधानी केही सुगम छ’ उनले भने ‘तर अन्य जिल्लामा आधारभूत सेवा समेत नभएको कारण कर्मचारीले कर्णाली नरोजेका हुन् ।’ प्रदेश सरकारले गरेको भत्ता दिने निर्णय सकारात्मक भएको भन्दै शर्माले यसले पनि केही मात्रामा भए पनि कर्मचारीलाई आकर्षित गर्ने दावी गरे । सँगसँगै वृत्ति विकासको अवसर प्रदान गर्नुपर्नेमा उनले जोड दिए । ‘संघबाट आएका कर्मचारी स्थानीय तह वा प्रदेशमै रहने प्रावधान छ’ उनले भने ‘तल्लो तहबाट जागिर सुरु गरे पनि नेपाल सरकारको मुख्यसचिव हुने अवसर संघमा हुन्छ । तर त्यो अवसर प्रदेश तथा स्थानीय तहमा नभएको कारण कर्मचारीहरूले तल्लो तहलाई रोजाईमा नपारेका हुन् ।’उता कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले भने कर्मचारी समायोजनमा कर्णाली रोजाइमा नपरेकोले प्रदेश सरकारले यो निर्णय गर्न बाध्य भएको बताइन् । उनले कर्णाली प्रदेशका दशवटै जिल्लामा भौगोलिक विकटतालाई हेरी कर्मचारी प्रोत्साहन भत्ता दिने निर्णय गरेको समेत जानकारी दिइन् । ‘हामीहरूलाई विश्वास छ, अब कर्णाली कर्मचारीको रोजाइमा पर्छ’ उनले भनिन् ।

कर्मचारीलाई प्रोत्साहन भत्ता दिने सरकारको खर्च बढ्नेछ । यसरी बढ्ने खर्च धान्न सरकार सक्षम छ ? मन्त्री केसी कर्मचारीहरूलाई दिइने प्रोत्साहन भत्ताको रकमलाई सरकारले थेग्नुको विकल्प नभएको बताउँछिन् । ‘एउटा बिरामी हेलिकप्टरमा अस्पतालसम्म पु¥याउन ठूलो रकम खर्च लाग्छ’ उनले उदाहरण दिइन् ‘यदि हामीले एउटा डाक्टर नै गाउँमा पु¥याउन सकेको खण्डमा खर्च कटौती हुन्छ ।’ कर्णालीको विकासको लागि पनि यो निर्णय सकारात्मक भएको उनले बताइन् ।प्रदेश सरकारले गरेको निर्णय अनुसार प्रदेशका दशवटै जिल्लाका लागि फरक– फरक किसिमले प्रोत्साहन भत्ता तोकिएको छ । सुर्खेतमा आउने कर्मचारीलाई मासिक चार हजार, सल्यान, रूकुम पश्चिम, जाजरकोट र दैलेखमा आउने कर्मचारीलाई मासिक ६ हजार, कालिकोट र जुम्लामा आउने कर्मचारीलाई मासिक आठ हजार तथा डोल्पा, मुगु र हुम्लामा जाने कर्मचारीलाई मासिक १० हजारका दरले भत्ता दिने निर्णय गरिएको छ ।

यसैगरी विशेषज्ञ चिकित्सकका लागि पनि भत्ता दिने निर्णय भएको छ । जसमा सुर्खेत जिल्लामा आउने एघारौं तहको विशेषज्ञ चिकित्सकका लागि सुरु तलबको ७५ प्रतिशत, दैलेख, जाजरकोट, रूकुम पश्चिम र सल्यानका लागि ९० प्रतिशत, कालिकोट र जुम्लाका लागि १०० प्रतिशत तथा हुम्ला, डोल्पा र मुगुका लागि एक सय ३५ प्रतिशत प्रोत्साहन भत्ता सरकारले तोकेको छ । त्यस्तै नवौं र दशौं तहका विशेषज्ञ चिकित्सकको लागि सुर्खेतमा ७५ प्रतिशत दैलेख, जाजरकोट, रूकुम पश्चिम र सल्यानको लागि ८० प्रतिशत, कालिकोट र जुम्लाको लागि ९० प्रतिशत र हुम्ला, डोल्पा र मुगुको लागि एक सय २५ प्रतिशत रहेको छ भने आठौं तहको लागि सुर्खेत जिल्लामा ५० प्रतिशत, दैलेख, जाजरकोट, रूकुम पश्चिम र सल्यानको लागि ६० प्रतिशत, कालिकोट र जुम्लाको लागि ७५ प्रतिशत र हुम्ला, डोल्पा र मुगुको लागि १०० प्रतिशत प्रोत्साहन भत्ता दिइने भएको हो ।