सहिदहरुको सम्झना

सुर्खेत : सुर्खेतमा बिहीवार सहिदहरूको सम्झना गरिएको छ । सहिद दिवसको अवसर पारेर कर्णाली प्रदेश सरकारले उनीहरूको सम्झना तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गरेको थियो । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावलले नेपालको राणा शासनलाई अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्न सहिदले दिएको बलिदान अमूल्य रहेको बताए । उनले नयाँ व्यवस्थाका लागि आफ्नो जीवन बलिदानी दिने सहिदहरूको सपना पूरा गर्ने अभिभारा हरेक नागरिकको भएको समेत बताए ।

यसैगरी कर्णाली प्रदेश प्राप्तिको आन्दोलनका क्रममा जीवनको आहूती दिने सहिदलाई सम्झदै सबैको सपना पूरा गर्नु सरकारको मुख्य दायित्व भएको मन्त्री रावलको भनाइ थियो । कार्यक्रममा सहिदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दका साथै कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा ज्यान गुुमाएका सहिद यामबहादुर बिसी, टिकाराम गौतम, गोपालसिंह रजवार र हरिबहादुर कुँवरको योगदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रमुख सचिव केवलप्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १७ माघ २०७६, शुक्रबार ०५:०९