राजधानीको फोहोर व्यवस्थापनमा चुनौती

कार्यान्वयन भएन कार्यविधि

सीता वली, 
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फोहोर व्यवस्थापन चुनौती बनेको छ । बढ्दो जनसंख्या र अव्यस्थित सहरीकरणका कारण दिन प्रतिदिन फोहोर उत्पादनमा वृद्धि भएको छ । तर त्यसको व्यवस्थापन भने प्रभावकारी हुन सकेको छैन ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि कार्यविधि नै बनाएको छ । यद्यपि बनाइएको कार्यविधि समेत कार्यान्वयनमा आउन सकेको छैन । कार्यविधि अनुसार वीरेन्द्रनगरको बजार क्षेत्रमा नगरपालिकाको पहलमा केही थान डस्टविन राख्नेबाहेक थप काम भएको देखिदैन । त्यसो त सडक किनारमा राखिएका डस्टविनकै उचित प्रयोग समेत भएका छैनन् । डस्टविन बाहिर फोहोरको थुप्रो लाग्ने गरेका दृष्य प्रशस्तै देखिन्छन् । बजारका नाली तथा पेटीहरूमा यत्रतत्र फोहोरका डङ्गुर मात्रै छन् । बाटोमा हिँड्ने बटुवाले समेत फोहोर बाटोमै फालेर हिँड्ने गर्छन् ।

यता वीरेन्द्रनगर नगरपालिकाले भने कार्यविधि अनुसार काम भएको दावी गरेको छ । नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले फोहोरमैला व्यवस्थापन कार्यविधि, २०७५ कार्यान्वयन भएको दावी गरे । उनले नगरपालिकाले बजारक्षेत्रमा केही थान डस्टविन राखेको र अझै एक हजार पाँच सय थान डस्टविन राख्ने तयारीमा रहेको समेत जानकारी दिए । त्यसैगरी ३० स्थानमा ठूला खालका डस्विन समेत राख्ने तयारी भएको उनले जनाए ।

नगरपालिकाले सरसफाइमा जनचेतना जगाउने कार्यलाई नै प्राथमिकतामा राख्दै आएको छ । नगरप्रमुख सुवेदीले पनि नगरपालिकाले फोहोर गर्नेलाई कारबाही गर्नेभन्दा पनि जनचेतनालाई प्राथमिकतामा राखेर काम गरेको बताए । ‘व्यापारीलाई त कारबाही गरौंला’ उनी भन्छन्, ‘तर बाटोमा हिँड्ने बटुवालाई कहाँ भेटेर कारबाही ?’ अहिलेलाई वीरेन्द्रनगर फोहोरमुक्त सहर हो भन्ने सबै नागरिकको दिमागमा होस् भन्ने खालको वातावरण तयार गर्न आफूहरू लागेको बताउँदै नगर प्रमुख सुवेदीले यति गर्दा पनि फोहोर व्यवस्थापन हुन नसकेको खण्डमा कार्यविधि अनुसार जरिवाना गर्ने वा नगरबाट पाउने सेवासुविधा रोक्का गर्ने समेत बताए ।

वीरेन्द्रनगरको पनि बजार क्षेत्रमा सबैभन्दा बढी फोहोर छ । सरसफाइ सम्बन्धी सबैभन्दा बढी अभियान सञ्चालन हुने वडा नं. ६ को बजार क्षेत्रकै फोहोर व्यवस्थापन प्रभावकारी हुन सकेको छैन । बजारका व्यापारी तथा बटुवाले जथाभावी फोहोर गर्दा व्यवस्थापनमा समस्या भएको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेलले बताए । उनले फोहोरमैला व्यवस्थापन कार्यविधि २०७५ निर्माण गरी फोहोर व्यवस्थापनका लागि लागे पनि कार्यान्वयनमा चुनौती भएको बताए । ‘हामीहरूले फोहोर गर्नेलाई कारबाही गर्न सकेका छैनौं’ उनले भने ‘कार्यविधि निर्माण गरेको एक वर्ष बित्दा समेत जनचेतना जगाउँदै हिँडेका छौं ।’ सकेसम्म नागरिकलाई कारबाही गर्न नपरोस् र सबैले फोहोर व्यवस्थापनमा सहयोग गरुन् भन्ने आफूहरूको चाहना भएको उनले बताए ।

कँडेलका अनुसार फोहोरमैला व्यवस्थापनको जिम्मा सबै स्थानीय तहलाई भए पनि कारबाही गर्ने अधिकार नभएका कारण झन् चुनौती थपिएको हो । फोहोर व्यवस्थापन गर्नेलाई कारवाहीका लागि प्रहरी प्रशासनलाई गुहार्नुपर्छ । तर ती निकायहरूबाट आवश्यक सहयोग नपाएको गुनासो कँडेलले भने ।

‘फोहोर व्यवस्थापनमा समस्या निम्त्याउनेहरूलाई कारबाही गर्नका लागि जिल्ला प्रशासन तथा प्रहरीलाई धेरै पटक गुहारेका छौं’ उनले थपे ‘तर उहाँहरूले फोहोर व्यवस्थापनको काम स्थानीय तहको भन्दै पन्छिनुहुन्छ ।’ जनप्रतिनिधिलाई नागरिकले नटेरेको गुनासो समेत कँडेलले गरे । फोहोर गर्नेलाई वडाको सेवासुविधा रोक्ने बाहेकको अन्य कारबाहीको अधिकार आफूहरूलाई नभएको उनले बताए । यस्तै वीरेन्द्रनर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले भने फोहोरमैला व्यवस्थापनको जिम्मा सबै वडा कार्यालयलाई दिएको बताएका छन् । उनले वडाले सिफारिस गरेको खण्डमा कर्मचारीको हैसियतले आफूहरूले सेवा सुविधा रोक्ने प्रतिबद्ध रहेको समेत उनले बताए । नगरपालिकामा जनचेतना जगाउनेमै केन्द्रित भए पनि फोहोर व्यवस्थापनमा कुनै सुधार आउने संकेत भने देखिएको छैन ।

प्रकाशित मितिः   ५ मंसिर २०७६, बिहीबार ०८:४३