बजेट कार्यान्वयन गर
चालु आर्थिक वर्षमा पनि कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनमा असफल हुने संकेत देखिएको छ । पहिलो चौमासिकसम्मको खर्चको अवस्था हेर्दा अघिल्लो वर्षको भन्दा पनि सुस्त छ । गत वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले तीन दशमलव पाँच प्रतिशत बजेट खर्च गरेको थियो भने यो वर्ष जम्मा एक दशमलव ६१ प्रतिशत मात्रै खर्च गरेको छ । यो निकै कमजोर अवस्था हो ।
आफूले बनाएको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्नु सकारको पहिलो प्राथमिकताको काम हो । यसबाट नै सरकारको सफलता र असफलताको मापन हुन्छ । तर कर्णाली प्रदेश सरकारले भने सुरुवातदेखि नै बजेट कार्यान्वयनमा गति लिन सकेको छैन । यो दुःखद् पक्ष हो । किन भने बजेट कार्यान्वयन नभई सरकारले लिएको समृद्धिको लक्ष्य हासिल हुँदैन । भाषणमा, नीतिमा र कागजमा मात्र समृद्धिको सपना उल्लेख गरेर हुँदैन त्यसलाई हासिल गर्न कार्यान्वयनमुखि कार्य गर्नु अपरिहार्य हुन्छ । तर यही महङ्खवपूर्ण कार्यमा भने प्रदेश सरकार चुकेको छ ।
यो वर्षका लागि सरकारले कूल ३४ अर्ब ३३ करोड ५१ लाख ८१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा भौतिक पूर्वाधार विकासदेखि नागरिकको जीवनस्तर सुधारका योजनाहरु समावेश छन् । तर बजेट कार्यान्वयनमा देखिएको ‘कछुवा गति’ले अपेक्षित नतिजा दिनेमा विस्वस्त हुन सकिने ठाउँ छैन । बजेट ल्याएको चार महिना बितिसक्दासम्म जम्मा ५५ करोड ४१ लाख ३१ हजार दुई सय एक रुपैयाँ मात्रै खर्च भएको छ । यसमा पनि चालुतर्फको खर्च बढी छ । पुँजिगत अर्थात विकास खर्चको अवस्था अझ कमजोर छ । चालुतर्फ जम्मा ४७ करोड, ९७ लाख १६ हजार सात सय ३३ रुपैयाँ खर्च हुँदा पँुजिगततर्फ सात करोड ४४ लाख १४ हजार चार सय ६८ रुपैयाँ मात्रै खर्च भएको छ । जुन जम्मा विनियोजन गरेको रकमको १.६१ प्रतिशत मात्रै हो । अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकको भन्दा पनि कम ।
गत वर्ष पूर्ण बजेट कार्यान्वयनको पहिलो वर्ष भएकाले अनेक वहाना बनाएर सरकार उम्किने प्रयासमा रह्यो । तर यो वर्ष पनि त्यही वहाना बनाएर उम्किने अवस्था छैन । हरेक वर्ष यसैगरी वहाना बनाएर बस्ने हो भने न संघीयताले सफलता पाउँछ न कर्णालीका नागरिकको जीवनस्तरमा सुधार आउँछ । ५१ प्रतिशतभन्दा बढी नागरिक गरिब भएको प्रदेशको विकासका लागि सरकारले हरेक वर्षको बजेट कार्यान्वयनमा आफूलाई अब्बल सावित गर्नैपर्छ । यसका लागि सरकारी संरचनाहरुको कार्यकुशलता वृद्धि गर्नु अपरिहार्य छ । बजेट कार्यान्वयन नभई कर्णाली समृद्ध बन्दैन ।
प्रकाशित मितिः ५ मंसिर २०७६, बिहीबार ०८:४५
साझा बिसौनी ।