सिस्टम नै खारेज गरिदिए हुन्छ

 मास्टर जेबी गाउँले

जुन कुराहरू खराब छन् स्वभावैले त्यसबारेमा विरोध हुन्छ नै । धेरै बोलिने, धेरै लेखिने पनि तिनकै बारेमा न हो । राम्रो कुरामा चर्चा परिचर्चा र बहस अलि कमै मात्र हुन्छ । हाम्रोमा राजनीतिपछि धेरै बहस हुने क्षेत्र भनेकै शिक्षा हो । यसबाट पनि के बुझ्न सकिन्छ भने हाम्रो शिक्षा प्रणाली चित्तबुझ्दो र सन्तोषजनक छैन । यदि त्यसो हुँदो हो त यसबारे यति बहसको जरुरी नै हुँदैनथ्यो । यतिका असन्तुष्टी पनि हुन्थेनन् होला ।

हामीले देखिरहेका छौं र भोगिरहेका पनि छौं अहिले हाम्रा विद्यालय, विश्वविद्यालयहरूको हालत । त्यहाँ ज्ञानको भन्दा राजनीतिको चर्चा र गतिविधि बढी हुन्छन् । प्राज्ञिक थलोहरूमै प्राज्ञिक भन्दा राजनीतिक कार्यहरू बढी हुन थालेपछि के हुन्छ, सहजै अनुमान लगाउन सकिन्छ ।

हुन त यहाँ बोल्नु भनेको मुखको दुःख र लेख्नु भनेको हातको दुःख मात्रै हो । कसले पढ्छन र लेख्नु ? कसले सुन्छन् र बोल्नु ? र पनि नबोली बस्नै सकिन्न नलेखी बस्नै सकिन्न । कसैले सुने पनि, नसुने पनि, पढे पनि नपढे पनि । यो लेख्नेहरूको स्वभावै हो क्यारे । विश्वविद्यालय भनेका पढ्ने, पढाउने थलो मात्रै हैनन् । यहाँ अध्ययन अनुसन्धान गर्नु र गराइनुपर्ने हो । तर हामीकहाँ के हुन्छ ? केही पनि हुँदैन । विद्यार्थीहरू भर्ना गर्ने, मन लागे कलेज जाने, नलागे नजाने । गएकैले पनि के सिक्छन् र त्यहाँ ? प्राध्यापकहरूका नोट सार्ने न हो । त्यही नोट सार्नकै लागि भए किन कलेज जानु ?

भर्ना हुँदा हरेक विषयका नोटका प्रतिलिपि हरेक विद्यार्थीलाई बाँडिदिए भैगो नि । त्यहीँ रट्छन् वर्षको अन्तमा विश्वविद्यालयले लिने जाँच दिन्छन्, सक्नेले पास गर्छन्, नसक्ने फेल हुन्छन् । झमेला नै सखाप ! शिक्षकलाई पढाउन हिँडिरहनु परेन, विद्यार्थीलाई पढ्न हिँड्नु परेन । समयको पनि बचत र स्रोतको नि बचत !

अर्को कुरा यहाँ कस्तो भइदियो भने योग्य क्षमतावान विद्वान व्यक्तिहरूलाई विश्वविद्यालयमा छिर्ने बाटो नै छैन । जसको माथिसम्म राम्रो पहुँच छ, जसले नेता र तिनका कार्यकर्ताको चाकडी गर्न जाने तिनलाई त्यहाँ पस्न सजिलो छ । चाहे योग्य होस् या नहोस् । नत्र विद्यावारिधि गरेका जागिरको खोजीमा भौतारिने, स्नातकोत्तर पनि नसकेका विश्वविद्यालयमा हैकम जमाउने प्रथा किन आउँदो हो र ?

विश्वविद्यालय अध्ययन र अनुसन्धान गर्ने–गराउने थलो हो भनेर भाषण दिन पनि नछोड्ने । अनि अध्ययन अनुसन्धान गर्ने त के र त्यसको भेउ पनि नपाएकालाई विश्वविद्यालयमा भर्ती गराउने नेतृत्वलाई के भनेर बुझाउनु खै र ? भर्खर–भर्खर स्नातकोत्तर सकेकालाई अनुसन्धान बारेमा कुन दक्षता हुन्छ र ? बल्लबल्ल एउटा शोधपत्र पेश गरेका हुन्छन् । त्यो पनि आफ्नै मेहेनतले खोजी–नीति गरेर भए एउटा हो । कसको सारेर बुझाउनु पर्ने हो कि ? या पुस्तक पसलबाट किनेर लानुपर्ने हो कि ? यसरी बुझाएको अनुसन्धान–पत्रबाटै उनीहरू पास गरेका हुन्छन् । तिनैलाई विश्वविद्यालयमा स्नातकोत्तर पढाउन लगाइन्छ अझै कतैकतै विद्यावारिधीका आन्तरिक बाह्य परीक्षक हुने मौका पनि तिनैले नै पाउँछन् । अब भन्नुस् त्यहाँ कस्तो अनुसन्धान भइरहेको होला ? केही महिना पहिले डा. कृष्ण गौतम सरले ‘बेकामको पिएचडी’ शीर्षकको लामो लेख लेख्नु भएको थियो । त्यस लेखमा पनि सरले धेरै कुरा भन्नु भएको छ ।

तेस्रो कुरा हाम्रो सिस्टम नै विरोधाभाषपूर्ण छ । अहिलेको शिक्षा ऐनलाई नै आधार मान्ने हो भने आधारभूत तहको शिक्षक हुनलाई कम्तीमा स्नातक गरेको हुनुपर्छ । माध्यमिक तहको शिक्षकको लागि स्नातकोत्तर हुनैपर्छ । स्नातक तहको लागि नि स्नातकोत्तर र स्नातकोत्तरको लागि नि स्नातकोत्तर गरेको भए पुग्छ । ९–१२ पढाउनलाई पनि स्नातकोत्तर नै चाहिने अनि स्नातकोत्तर पढाउन नि त्यति भए पुग्ने । के यी दुवैको स्तर एउटै हो त ? हैन भने विद्यालयतहको लागि योग्यता बढाइरहँदा विश्वविद्यालय तहको लागि पनि बढाउनु पर्छ कि नाइँ ? अनुसन्धान गराउने थलोमा अनुसन्धान तहकै जनशक्ति नलाने हो भने कसरी पूरा हुन्छ विश्वविद्यालय तहको उद्देश्य पूरा ?

ठीक छ, हामीकहाँ त्यस्ता उच्च अध्ययन गरेका जनशक्ति छैन भन्ने कुरो पनि आउँला । विद्यावारिधी गरेर जागिरको खोजीमा भौतारिरहेकाहरूलाई मौका दिनुपर्छ कि पर्दैन ? उनीहरू पनि अयोग्य छन् भने बाहिरबाट ल्याएर भए पनि नियुक्ति गर्नुप¥यो । विश्वविद्यालयको मतलब विश्वभरकै विद्यार्थीले पढ्न पाउने, विश्वभरकै शिक्षकले पढाउन पाउने ठाउँ हैन र ?

अन्तमा, मलाई के लाग्छ भने विद्यालय तह त्यसमा पनि तल्लो तह भनेको सिकाउने ठाउँ हो । सिकाउनलाई ज्ञानले मात्रै पुग्दैन । पढाउने, सिकाउने कला पनि चाहिन्छ । त्यहाँ धेरै ज्ञान भएको भन्दा पनि शिक्षण कला र कौशल भएको जनशक्ति चाहिन्छ । त्यसैले त्यहाँ ७५ प्रतिशत कला र २५ प्रतिशत ज्ञान भए पुग्छ । माध्यमिक तहको लागि कलाले मात्रै पुग्दैन त्यहाँ ज्ञान पनि चाहिन्छ । अर्थात् त्यहाँ कला र ज्ञान बराबर ५०÷५० प्रतिशत चाहिन्छ । त्यो भन्दामाथि स्नातक तह त्यहाँ कलाभन्दा ज्ञान अलि बढी नै चाहिन्छ त्यसैले पनि त्यहाँ ७५ प्रतिशत ज्ञान र २५ प्रतिशत कला चाहिन्छ । स्नातकोत्तर त अनुसन्धान तहको आधार पनि हो,त्यहाँ कलाको जरुरी छैन ज्ञान चाहिन्छ । त्यो पनि खोज्ने हो, खोज्न सिकाउने हो । त्यसैले यो तह सतप्रतिशत ज्ञान खोजी गर्ने र बटुल्ने तह हो । यसको लागि उच्च र दक्ष जनशक्ति जरुरी हुन्छ । त्यसैले पनि स्नातकोत्तरलाई पढाउनको लागि सके विद्यावारिधी, नत्र एमफिल त हुनैपर्ने बाध्यकारी व्यवस्था हुनुपर्छ । त्यसको लागि पनि विश्वविद्यालय सेवामा छनोट समिति एकदमै विज्ञ हुनुप¥यो, अझ देशबाहिरका विश्वविद्यालयहरूमा अनुभव प्राप्त व्यक्ति राजनीतिभन्दा टाढा रहेका विद्वानहरू, प्राज्ञहरूलाई नियुक्ती गर्न सकियो र अहिले भएका प्राध्यापकहरूमध्ये पनि न्यूनतम मापदण्ड नपुगेका अयोग्यलाई हटाएर नयाँ योग्य र क्षमतावान शिक्षक र प्राध्यापकहरू तथा इमान्दार स्वच्छ छविका पदाधिकारीहरू नेतृत्व तहसम्म पु¥याउन मात्रै सकियो भने पनि हाम्रा विद्यालय, विश्वविद्यालयहरू पाँचै वर्षमा आमूल परिवर्तन हुनेमा म विश्वस्त छु ।

प्रकाशित मितिः   ५ मंसिर २०७६, बिहीबार ०८:५०