ओलीलाई सरकार, प्रचण्डलाई पार्टीको जिम्मा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाँकी रहेको कार्यकालमा पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । बुधवार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद् रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । उनले बैठकको निर्णयबारे अघि भने, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ । आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्नुहुनेछ ।’

यसैबीच मंगलवार हुने भनिएको मन्त्रीमण्डल पुनर्गठन अनिश्चित भएको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठन आज (बिहीवार) हुँदैछ । यसअघि मंगलवारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका थिए ।

प्रकाशित मितिः   ५ मंसिर २०७६, बिहीबार ०८:४०