म्याद नाघका सामाग्री बिक्री

सुखेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाइमा वीरेन्द्रनगर बजारको अनुगमन गरिएको छ । नापतौल तथा गुणस्तर कार्यालय सुर्खेत, घरेलु तथा साना उद्योग विकास समिति, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त टोलीले वीरेन्द्रनगरका हार्डवेयर तथा रङ्गका पसलहरूको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा म्याद नाघेका सामान, सामानमा ट्याग तथा सिल नगरिएको, सिमेन्ट कम तौल भएको पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उत्तम शर्माले जानकारी दिए । उनले पसलमा नापतौलका सामानहरू दर्ता तथा नवीकरण नगरिएको र घरेलु र नगरपालिकामा नवीकरण नगरेको पाइएको जनाए । अनुगमन टोलीले आधा दर्जन पसलमा अनुगमन गरेको थियो ।

यस्तै रंगका पसलहरूमा अधिकांश म्याद नाघेका सामानहरू पाइएको सूचना अधिकारी शर्माले बताए । म्याद नाघेका सामान बिक्री वितरण गर्दा उपभोक्ता ठगिएको उनको भनाइ छ । म्याद नाघेका सामान कम्पनीमा फिर्ता पठाउने भनेर पत्र देखाए पनि अहिलेसम्म नपठाएको पाइयो । कालोबजारीलाई नियन्त्रण गर्ने र मापदण्ड विपरित सञ्चालन गर्नेलाई कारबाही गरिने प्रशासनले जनाएको छ । शर्माले भने, ‘हामीले अनुगमन गरेका अधिकांश पसलहरूमा म्याद नाघेका सामानहरू पाइयो । सिमेन्टमा कम तौल पाइयो । हामीले अनुगमनका क्रममा मापदण्ड विपरित भेटिएका पसलहरूलाई कारबाही गर्छौं ।’

प्रकाशित मितिः   ५ मंसिर २०७६, बिहीबार ०८:३७