खाद्य विधेयकमाथि सुझाव संकलन

सुखेत  : खाद्य विधेयकलाई पूर्णता दिन सुझाव संकलन थालिएको छ । कर्णाली प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समितिले विधेयकमा समेटिनुपर्ने नीतिका बारेमा सुझाव संकलन गरेको हो । समितिले कर्णालीको विकट हुम्ला जिल्लामा समेत पुगेर सुझाव संकलन गरिसकेको उक्त समितिका सदस्य पद्मा खड्काले जानकारी दिइन् । प्रदेशका अन्य जिल्लाहरूमा पुगेर सुझाव संकलन गरिने उनले बताइन् । खाद्य विधेयकमा के–के कुराहरू समेटिनुपर्छ भनी सुझाव संकलन गरिरहेको खड्काले बताइन् । उनका अनुसार अझै केही जिल्लाहरूमा सुझाव संकलनका लागि जाने तयारी समितिले गरेको छ ।

कर्णाली प्रदेश खाद्य उत्पादन अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक २०७५ माथि नागरिकले कस्तो अपेक्षा गरेका छन् भनी सुझाव संकलन गरेको उनले बताइन् । उनले साविकको कर्णाली जहाँ खाद्य अभाव भइरहन्छ त्यहाँ विधेयक माथि छलफल चलाउँदा नागरिक उत्साहित भएको बताइन् । डोल्पा जिल्लामा विधेयकमाथि छलफल चलाउँदा नागरिकहरूले सबै स्थानमा खाद्य पुर्याउने र उत्पादनलाई समेत बढाउने गरी कानुन निर्माण गर्नुपर्ने सुझाव दिएको सांसद खड्काले बताइन् । प्रदेशसभाका पेश गरिएको उक्त विधेयकमा केही सदस्यहरूले संशोधन हालेकाले सामाजिक समितिमा गहन छलफलपछि मात्रै उक्त विधेयक पास हुने बताए ।

प्रकाशित मितिः   ५ मंसिर २०७६, बिहीबार ०८:३६