हवाई सेवामा पनि कर्णाली पछाडि

कालिकोटको कोडबाडामा निर्माणाधिन सुन्थराली विमानस्थल

सुर्खेत : विकासको दृष्टिले पछाडि परेको कर्णाली प्रदेश हवाई सेवामा समेत पछाडि परेको छ । कर्णाली प्रदेशका सबै जिल्लामा हवाई सेवा पुगेको छैन । हवाई सेवा पुगेका जिल्लाहरूबाट समेत नियमित उडान नहुँदा कर्णालीका नागरिक सहज हवाई सेवाबाट वञ्चित भएका हुन् ।

कर्णालीका केही जिल्लाहरूमा लामो समयदेखि निर्माणाधिन विमानस्थल समेत समयमै निर्माण हुन नसकेर अलपत्र परेका छन् । चाडपर्वको समयमा होस् या आपतकालिन अवस्थामा कर्णालीका जनताले सहज हवाई सेवा पाउन सकेका छैनन् । प्रदेशका तीन जिल्लामा अहिलेसम्म पनि विमानस्थल छैनन् । दैलेख, जाजरकोट र सल्यान विमानस्थलविहिन छन् । कर्णाली प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले दैलेखका नागरिकहरूले जिल्लामा विमानस्थल निर्माण गर्न बारम्बार माग गरेको भएपनि सुनुवाई नभएको बताए । उनले विमानस्थलको लागि माथिल्लो तहका नेताहरूले चासो नदिएको समेत गुनासो गरे । ‘जिल्लामा विमानस्थल नहुँदा नागरिकलाई सास्ती भएको छ’ उनले भने ‘आपतकालिन् अवस्थामा सुर्खेत विमानस्थलसम्म पुग्न दैलेख सदरमुकामदेखि तीन घण्टा लाग्छ । जिल्लामै विमानस्थल भएको भए नागरिकलाई सहज हुने थियो ।’ यस विषयमा आफुले बारम्बार कुरा उठाएको भएपनि नेताहरूले नसुनेको उनले बताए । दैलेखमा विमानस्थल निर्माणका लागि यसअघि सामान्य अध्ययन गरिएको थियो । तर विस्तृत अध्ययनसम्म भने पुग्न सकेको छैन ।
त्यस्तै सल्यान जिल्लामा समेत विमानस्थल नहुँदा नागरिकले निकै ठुलो सास्ती खेप्नुपरेको सामुदायिक रेडियो प्रसारक संघका कर्णाली प्रदेश अध्यक्ष रमेश गौतमले गुनासो गरे । उनले सल्यानबाट विमान चढ्नको लागि प्रदेश नं ५ को दाङ्ग र नेपालगञ्ज जानुपर्ने सल्यानीको बाध्यता भएको बताए । कर्णाली प्रदेशका सबै जिल्लामा विमानस्थल निर्माणका लागि प्रदेश सरकारले समेत सम्भाव्यता अध्ययन शुरू गर्नुपर्ने उनको भनाई छ ।

विमानस्थल नभएको कर्णालीको अर्को जिल्ला हो, जाजरकोट । त्यहाँबाट विमान चढ्नको लागि छिमेकी जिल्ला रूकुम पश्चिममा जानुपर्ने वाध्यता भएको स्थानीय व्यापारी अमर शाहले बताए । ‘जिल्लामा विमानस्थल नहुँदा विमान चढ्नको लागि छिमेकी जिल्लामा जानुपर्ने बाध्यता छ’ उनले भने ‘चाडपर्वको समयमा र सडक अवरूद्ध भएको अवस्थामा पनि सर्वसाधारणको पहुँचमा हवाई सेवा हुँदैन ।’ तिनै तहको सरकारले कर्णालीका सबै जिल्लामा हवाई सेवाको लागि पहल गर्नुपर्ने उनको भनाई छ  ।

कर्णालीका तीन जिल्लामा विमानस्थल नभएपनि विमानस्थल भएका केही जिल्लामा पनि हवाई सेवा सञ्चालनमा छैन । कालिकोटको नरहरिनाथ गाउँपालिको कोडबाडा सुन्थराली विमानस्थल पनि २५ वर्षदेखि निर्माणकै क्रममा रहेको छ । नरहरिनाथ गाउँपालिकाकी उपप्रमुख मनशोभा बुढाका अनुसार वि.सं. २०४१ सालमा निर्माणको कार्य थालनी भएको सुन्थराली विमानस्थल केही समय दशवर्षे द्वन्द्वका कारण अवरूद्ध भयो भने त्यसयता पनि सञ्चालनमा आउन सकेको छैन । ‘नरहरिनाथ गाउँपालिका सडक सञ्जालमा समेत जोडिएको छैन’ उनले भनिन् ‘विमानस्थल समेत समयमै निर्माण भई सञ्चालनमा नआउँदा नागरिकले ठुलो सास्ती बेहोर्नु परेको छ  ।’ नागरिकले पटक–पटक विमानस्थल सञ्चालन छिटो गर्नुपर्ने माग राख्दै आएको उनले बताईन् ।

डोल्पा जिल्लामा भएका दुईवटा विमानस्थलमध्ये एउटा सञ्चालनमा आएपनि अर्को विमानस्थल भने लामो समयदेखि निर्माणकै क्रममा रहेको छ । डोल्पामा क्रियाशिल पत्रकार टेकबहादुर शाहीले जिल्लाको मसिनाचौर विमानस्थल लामोसमयदेखि निर्माणको क्रममा भएको बताए । उनका अनुसार जुफाल विमानस्थल डोल्पाले भने उडान भरिरहेको छ । रूकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलले पनि हप्तामा एकपटक मात्रै उडान भर्ने गरेको छ । चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले नियमित उडान नहुँदा नागरिकले ठुलै सास्ती बेहोर्नुपरेको बताए । कर्मचारी, यात्रु र विमानको कारण देखाउँदै नागरिक उड्ययन कार्यालय रूकुमले नियमित उडान नगरेको उनले जानकारी दिए ।

मुगु जिल्लामा रहेको ताल्चा विमानस्थलले भने जोखिम मोल्दै उडान भरिरहेको छायाँनाथ रारा नगरपालिका प्रमुख हरिजङ्ग शाही बताउँछन् । उनले ताल्चा विमानस्थलमा अन्य समस्या नभएपनि साँघुरो भएको कारण जोखिम भएको बताए । यो देशकै चौथो जोखिमयुक्त विमानस्थल हो । तर जोखिम कम गर्नका लागि भने कुनै पहल भएको छैन ।

प्रकाशित मितिः   २८ आश्विन २०७६, मंगलवार ११:३६