दोस्रो चरणमा पेट्रोलियम अन्वेषण हुँदै

दैलेख : दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामले निरन्तरता पाउने भएको छ । नेपाल र चीनबीच भएको सम्झौताअनुसार दोस्रो चरणमा पेट्रोलियम पदार्थ अन्वेषण हुन लागेको हो । यसपटक कुन भागमा कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालिने जनाइएको छ ।

चिनियाँ प्राविधिक टोली दशैँअघि दैलेख पुगेको थियो । टोलीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र स्थानीय बासिन्दासँग छलफल गरेको थियो । अब केही दिनमै आवश्यक सामानसहित टोली आउने भएको छ । चिनियाँ टोलीसँग छलफल भएको र अब अन्वेषण थालिने प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

केही दिनभित्रै चिनियाँ टोली आवश्यक सामानसहित दैलेख आउने अन्वेषण परियोजनामा संलग्न गणेशराज त्रिपाठीले बताए । अब जिओलोजिकल सर्भे, म्याग्नेट सर्भेलगायतका काम हुने उनले बताए । जमिनको पाँच किलोमिटर मुनिसम्म ड्रिलिङ गरिनेछ । जसबाट पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्न सकिने उनले बताए ।

गत २६ असारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थ अन्वेषणको उद्घाटन गरेका थिए । त्यतिबेला १५ दिन अध्ययन तथा अनुसन्धान गरिएको थियो । त्यसपछि असोज दोस्रंो साता दैलेख पुगेको चिनियाँ टोलीले थप अध्ययन गरेको थियो । नेपाल र चीन सरकारबीच सम्झौता भएकाले अन्वेषणको काम परिणाममुखी हुने सांसद रवीन्द्रराज शर्माले बताए । पेट्रोलियम पदार्थ अन्वेषणका लागि प्राविधिक टोलीलाई सघाउन प्रदेश सभा सदस्य अमरबहादुर थापाले आग्रह गरे । स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारण मिलेर सहजरूपमा काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   २८ आश्विन २०७६, मंगलवार ११:३३