बड्डिचौर–बेनीघाट सडक

२५ वर्षपछि डीपीआर

सीता वली
सुर्खेत : पश्चिम सुर्खेतको ‘लाइफ–लाइन’को रूपमा हेरिएको बड्डिचौर–बेनीघाट सडक स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिने भएको छ । ट्रयाक खोलिएको २५ वर्षपछि डीपीआर तयार पार्न थालिएको हो । यसका लागि आइतवारदेखि प्राविधिक अध्ययन सुरु गरिएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बड्डिचौरदेखि बेनीघाटसम्मको सडकको दूरी ९४ किलोमिटर रहेको छ । वि.सं. २०५१ सालमा ट्रयाक खोलिएको यो सडकलाई दुई दशकपछि दुई लेनमा स्तरोन्नति गर्न लागिएको हो । सडकको दायाँ–बायाँ करिब ६५ मिटर विस्तार गर्ने गरी दुईलाइन सडकको लागि विस्तृत अध्ययन सुरु गरिएको हो । अध्ययन प्रतिवेदनपछि थप प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

बराहताल गाउँपालिकाको बड्डिचौर जिरो पोइन्ट हुने गरी चौकुने गाउँपालिकाको बेनीघाटसम्म जोड्ने सडकको डीपीआर निर्माण कार्य प्रतिनिधिसभा सदस्य नवराज रावतले आइतवार उद्घाटन गरेका हुन् । सांसद रावतले यो सडक पश्चिम सुर्खेतका जनताको भाग्यरेखा भएको बताए । ‘पश्चिम सुर्खेत सडक पूर्वाधारमै पछि परेको छ’ उनले भने, ‘यो सडक निर्माण सम्पन्न भएमा यहाँका नागरिकको जीवनस्तरमा समेत सुधार हुनेछ ।’

बड्डिचौर–बेनीघाट सडकका लागि संघीय संसदमा समेत पटक–पटक आवाज उठाउँदै आएका रावतले डीपीआर तयार भएपछि पनि सडक स्तरोन्नति कार्य सम्पन्न नहुँदासम्म पहल गर्ने प्रतिबद्धता जनाए । आफूले चुनावको समयमा प्राथमिकताका साथ उठाएको विकास एजेण्डोमध्ये एक यो सडक पनि भएकाले निर्माण सम्पन्न नहुँदासम्म पहल गर्ने उनको भनाइ थियो । ‘मैले निर्वाचनका बेला जनतालाई दिएका वाचा पूरा गरेको छु’ उनले भने ‘२०५१ सालमा ट्रयाक खोलिएको पश्चिमको सडक क्षेत्र करिब २५ वर्षपछि दुईलाइनमा पिच हुने भएको छ ।’

हरेक पटकको निर्वाचनमा सबै उम्मेदवारहरूको प्रमुख चुनावी नारा बन्ने गरेको सडक यसअघि उपेक्षामा पर्दै आएको थियो । तर अब भने दुई लेनकै सडकको रूपमा स्तरोन्नति हुने भएको छ । पश्चिम क्षेत्रमा दुई लाइनको सडक निर्माणका लागि सहयोग गर्न उनले स्थानीय सरकार र नागरिकलाई आग्रह समेत गरे । ‘यो राजमार्ग निर्माणका क्रममा मुआब्जाको व्यवस्था छैन’ उनले थपे ‘जनताले आ–आफ्नो क्षेत्रबाट विकास गर्न सहयोग गर्नुपर्छ ।’

सडकको आगामी मंसिर मसान्तसम्ममा डीपीआर तयार गरेर माघ मसान्तसम्ममा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्ने जनाइएको छ । यसका साथै चैत्रसम्ममा टेण्डर आह्वान हुनेगरी पहल भइरहेको समेत सांसद रावतले जानकारी दिए ।

सडक निर्माणका लागि स्थानीय तहहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राजमार्गमा पर्ने अप्ठ्याराहरूलाई आफूहरूले मिलाएर लैजानै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताएका छन् । उनले चिल्लो सडकमा मात्रै जनता हिँड्ने सपना देख्नु भन्दा पनि उत्पादनलाई बढाई आर्थिक समृद्धि गर्नुपर्ने बताएका छन् । त्यस्तै चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले विकासको मेरुदण्डको रूपमा रहेको सडक विस्तारले पश्चिमेली जनतालाई खुशी बनाएको बताए । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले मदन भण्डारी राजमार्गलाई दिगो विकासको मापदण्ड अनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मदन भण्डारी राजमार्गको डीपीआर सुरु भएसँगै पश्चिमका जनताले व्यावसायिक सफलता प्राप्त गर्ने आश समेत गरेका छन् । बराहताल गाउँपालिका ७ की नरमती नेपालीले मदन भण्डारी राजमार्गको पश्चिम क्षेत्रमा पर्ने सडक खण्डको स्तरोन्नति हुन लागेकोले आफूलाई धेरै खुशी बनाएको बताइन् । उनले आफू व्यवसायी भएकोले सडक विस्तारले व्यवसायमा सफलता हात पर्ने आशा गरेकी छन् ।

सडकको डीपीआर तयार पार्नका लागि सिल्ट सीईआरसी जीईओकम इन्जिनियरिङ्ग कम्पनीले जिम्मा लिएको छ । कम्पनीलाई करिब दुई महिना लाग्ने बताइएको छ । सुर्खेत जिल्लाको काल्चे–मालारानीदेखि बेनीघाटसम्मको दुई सय ३२ किलोमिटरमा पर्ने मदन भण्डारी राजमार्गलाई दुई चरणमा निर्माण गरिने जनाइएको छ ।

प्रकाशित मितिः   ३० भाद्र २०७६, सोमबार १३:३७