बालबालिकालाई शैक्षिक सहयोग

सुर्खेत : राष्ट्रिय बाल दिवसको अवसर पारेर विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुदका सामग्री प्रदान गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य दिपक खड्काले आइतवार बालमन्दिरलाई दिवा खाजासहित शैक्षिक र खेलकुद सामग्री उपलब्ध गराएका हुन् ।

खड्काले बाल दिवसका दिन बालबालिकाको मुहारमा खुशीको उज्याले छर्न पाउनु नै आफ्नाका लागि सबैभन्दा खुशी क्षण भएको बताए । आर्थिक तथा अन्य कुनै पनि किसिमका अभावकै कारण कोही पनि विद्यार्थीले बीचमा पढाइ छोड्न नपरोस् भन्नेमा जोड दिंदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बालमन्दिर सञ्चालक संस्था जिल्ला बाल संगठनका सचिव सचिव गणेश कार्कीले विभिन्न व्यक्ति र संघ–संस्था गुहारेर कक्षा सञ्चालन गर्नुपरेको दुखेसो पोखे । अति विपन्न परिवारका विद्यार्थीहरू कापी–कलम, झोला, विद्यालय पोशाक, दिवा खाजालगायतका शैक्षिक तथा खेलकुद सामग्रीको अभावमा विद्यालय छाड्ने क्रम जारी रहेको भन्दै उनले सक्दो सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।

विद्यालयका प्रधानाध्यापक महेन्द्र जिसीले करिब एक सय २० भन्दा बढी विद्यार्थी भर्ना भएको बालमन्दिरमा आर्थिक अभावकै कारण ६० देखि ७० जना विद्यार्थी मात्र नियमित आउने गरेको उल्लेख गरे । दिवसकै अवसरमा जनज्योति माध्यमिक विद्यालय बड्डिचौरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । बराहताल गाउँ शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हरिहरपुर सो्रतकेन्द्र अन्तर्गतका ५६ वटा सामुदायिक र संस्थागत विद्यालयका ५६ जना उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्रीहरू प्रदान गरिएको छ । विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालय पोशाक, स्टेशनरी सामानसहित झोला समेत प्रदान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष तथा भेरी माध्यमिक विद्यालय रानीघाटका प्रधानाध्यापक रत्नबहादुर बुढाले जानकारी दिए ।

कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत, शिक्षा शाखाका प्रमुख डम्बरकुमारी रोकाय, नेपाल शिक्षक महासंघ बराहताल गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकाय र ५६ वटै विद्यालयहरूका प्रधानाध्यापक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यस्तै भेरी माध्यमिक विद्यालय बराहताल–२ रानीघाटमा समेत बालदिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । साथै गाउँपालिकाबाट असहाय बालबालिकाहरूलाई प्रदान गरिएको पोशाक तथा स्टेशनरी सामग्री समेत वितरण गरिएको प्रधानाध्यापक बुढाले जानकारी दिए । वक्तृत्वकलामा से–फोक्सुन्डो सदनका हेमन्त सुनार प्रथम, रारा सदनका ओमबहादुर घर्ती द्वितीय तथा बराह सदनका सुशीला सार्की तृतीय र कुपिण्डे सदनका श्रृष्टि वि.क. सान्त्वना भएका छन् ।

यसैगरी जनसेवा माध्यमिक विद्यालय घुस्रा सुर्खेतमा पनि बाल दिवसको अवसरमा विपन्न बालबालिकाहरूलाई निःशुल्क पोशाक वितरण गरिएको छ । कक्षा १ देखि १० सम्म अध्ययनरत २५ जना गरिब, असहाय, विपन्न तथा लक्षितवर्गका छात्र÷छात्राहरूलाई निःशुल्क रूपमा विद्यालय पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भक्तबहादुर शाहीले जानकारी दिए । यसका साथै अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगिता र कविता बाचन प्रतियोगितामा पनि सम्पन्न भएको छ ।

प्रकाशित मितिः   ३० भाद्र २०७६, सोमबार १३:३०