पहिरोले खानेपानी अवरुद्ध

सुर्खेत : पहिरोका कारण वीरेन्द्रनगरमा केही दिनदेखि खानेपानी वितरण पूर्णरूपमा प्रभावित भएको छ । पहिरो र अत्याधिक वर्षाका कारण स्रोत र संरचनामा क्षति पुगेपछि गत बिहीवारदेखि पानी वितरण ठप्प भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

खानेपानीका मुख्य स्रोत झुप्रा मुहान, खरी–बोरी खोला, इत्राम र खोर्के मुहानबाट इत्राम र अन्य संकलन केन्द्रमा पानी झरेको छैन । ‘पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति भएको छ,’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘तीन दिनदेखि प्लान्टमा एक थोपा पानी नझरेकाले वितरण गर्न नसकिएको हो ।’ वर्षात्ले एकै पटक सबै स्रोतमा क्षति पुगेकाले पानी वितरण ठप्प हुन पुगेको उनको भनाइ छ ।

अध्यक्ष देवकोटाका अनुसार खरीखोला र बोरीखोलाबाट ल्याइएको पानीको पाइपलाइन दोबिल्ला नजिक पहिरोले फालेको छ । वर्षात्का कारण झुप्राको लाइनबाट अत्याधिक धमिलो र लेदो पानी मात्रै आएकाले संकलनका लागि बनाइएको ट्यांकीमा हालिएको छैन । भलका कारण झुप्राको इन्टेकमा समेत क्षति पुगेको छ ।

त्यस्तै इत्राम र खोर्केखोलाको स्रोतमा पनि भल पसेको भने बुलबुले स्रोतमा ट्रान्समिटर जलेर बिग्रिएपछि पानी वितरण प्रभावित भएको संस्थाले जनाएको छ । पहिरोले पाइपलाइन र अन्य संरचनामा ठूलो क्षति पु¥याएको मर्मतमा खटिएका संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । संरचनामा क्षति पुगेलगत्तै मर्मत टोली खटाइएको अध्यक्ष देवकोटाले बताए । संस्थाले उपभोक्ताको धारामा ढिलोमा सोमवार बेलुकासम्म नियमति पानी आउने जानकारी दिएको छ ।

प्रकाशित मितिः   ३० भाद्र २०७६, सोमबार १३:२९