भवन निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू

कुनै पनि संरचना निर्माण गर्नुपूर्व जग्गाको छनौट गर्दा माटोको किसिममा ध्यान दिनुपर्दछ । घरको जग बस्ने माटो नै कमजोेर र अस्थिर छ भने त्यो घर बलियो हुन सक्दैन । सामान्यतया कसिलोपन तथा ढुङ्गा कंक्रिटको मात्रा बढी भएको माटो भएको जमिन घर बनाउनका लागि उत्तम मानिन्छ । इन्जिनियरिङ्गको हिसाबमा कालो रङ्ग भएको काली माटीमा भवन बनाउनु संरचनागत हिसाबले सुरक्षित हुँदैन । त्यसकारण आफ्नो जग्गामा भवन बनाउनु पूर्व ईन्जिनियरको सल्लाह लिइ माटो परीक्षण गराएर मात्र भवन निर्माण गर्नुपर्दछ ।

भवन संरचनाको आकार वर्गाकार भएमा अति राम्रो मानिन्छ । जग्गामा यस प्रकारको आकार भएको भवन बनाउन सकेमा उत्तम हुन्छ । भवन बनाउने क्रममा उक्त ठाउँ भूकम्पिय जोखिमका हिसाबले कत्तिको खतरा छ, पानीको निकासको अवस्था, भवन बनाउने जमिन कति भोल्टेजको लाइनबाट गइराखेको छ, औद्योगिक र व्यापारिक केन्द्रबाट कति टाढा छ, उक्त जग्गा बाटो विस्तारको लागि छुट्टाइएको ठाउँमा पर्छ कि पर्दैन, खोलाको किनारबाट कति टाढा पर्छ, बाढी र पहिरो जाने सम्भावना छ कि छैन, जमिन भासिने सम्भावना छ कि छैन, विगतमा उक्त जग्गाको अवस्था कस्तो थियो अध्ययन गरेर मात्र संरचना निर्माणतर्फ लाग्नुपर्दछ ।

बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन, २०७२ उल्लेख भए अनुसार जोखिम नक्सांकनका आधारमा जिल्ला दैवी प्रकोप उद्दार समितले बाढी, पहिरो, भू–क्षय आदि जोखिमका आधारमा जोखिमयुक्त क्षेत्रको पहिचान गरेका क्षेत्रमा भवन निर्माण गर्न प्रतिबन्ध गरिएको छ । जोखिमको हिसाबले ३० डिग्री भन्दा बढी भिरालो जमिनमा घर बनाउन नपाइने कुरा उल्लेख गरिएको छ । त्यसैगरी सार्वजनिक वा निजी कुनै पनि प्रकारको पोखरी, ताल, तलैया मासेर भवन निर्माण गर्न नपाइनुका साथै पानीको मुहानलाई असर पर्ने गरी कुनै प्रकारको संरचना निर्माण गर्न नपाइने कुरा उल्लेख गरिएको छ । त्यसैगरी विमानस्थल धावनमार्ग वरपर धवन बनाउँदा नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पालना गरी भवन बनाउनुपर्छ ।

जमिन मुनी पानीको सतह १० देखि १२ फिट माथि हुनुपर्दछ । दलदल भएको, विगतमा पानी धेरै समय जमेको, माटाले पुरेर उठाइएको जमिनमा तरलीकरणको समस्या बढी हुन्छ । जमिन तरलीकरण भएको क्षेत्र बसोबासका हिसाबले जोखिमयुक्त मानिन्छ । सामान्य तया नदी किनारका बस्ती तरलीकरणको उच्च जोखिममा हुन्छन काठमाडौं महानगरपालिका र जाइकाले सन् १९९८ देखि २००० सम्म गरेको एक अध्ययनले काठमाडौंका विभिन्न स्थान तरलीकरणको उच्च जोखिममा रहेको निश्कर्ष निकालेको थियो । त्यसकारण भवन र ठूला–ठूला संरचना बनाउँदा जमिनको तरलीकरण सम्बन्धी खानी तथा भू–गर्व विभागले तयार पारेको नक्सा हेरेर बनाउनु नै वेश हुन्छ । विशेष गरी भूकम्पको समयमा तरलीकरणको जोखिम भएको जमिनमा बनेका संरचनामा ठूलो धक्का थेग्न सक्ने क्षमता कम हुन्छ र संरचनाहरू धस्सिने समस्या बढी हुन्छ । २०७२ सालमा गएको भूकम्पमा जमिन तरलीकरण भएरै काठमाडौंको बालाजु, गोंगबु, माछापोखरी, नयाँ बसपार्क क्षेत्रमा घर जमिनभित्र धस्सिएर ठूलो क्षति भएको र धेरै घर ढल्किएका थिए ।

भवन निर्माणको लागि जग्गा छनौट गरिसकेपछि उक्त जग्गामा भवन बनाउँदा भवन निर्माण आचारसंहितामा उल्लेख भए अनुसार जग्गाको उपयोग प्रतिशत र उक्त जग्गामा बन्ने भवनको भुइँ क्षेत्रको अनुपात कति छ त्यो कुरामा ध्यान दिनुपर्छ । जग्गा उपयोग प्रतिशत भन्नाले भवनको भुइँ तलाको क्षेत्रफल र भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलको अनुपातलाई १०० ले गुणा गर्दा हुन आउने प्रतिशतलाई जनाउँदछ । जग्गा उपयोग प्रतिशत सम्बन्धमा मापदण्डमा आवासीय भवन निर्माण गर्न २ सय ५० मिटरसम्म क्षेत्रफल भएको घडेरीलाई ७० प्रतिशत र सोभन्दा बढीकोलाई ६० प्रतिशत बढी र सरकारी, अर्ध सरकारी वा सार्वजनिक भवनहरूलाई निर्माण स्वीकृति दिँदा जग्गा उपयोग प्रतिशत ५० प्रतिशतभन्दा बढी नहुने गरी स्वीकृति दिइने कुरा उल्लेख छ । चार तलाको स्वीकृति लिएर १० तलाको भवन बनाउनेलाई सम्बन्धित निकायले समयमै अनुगमन गरी कारबाही गर्नुपर्छ ।

भूकम्पको अति जोखिम रहेको नेपालमा २०७२ सालमा गएको भूकम्पले मानिसहरूलाई खुला स्थानको महŒव बुझाएको छ । खुला स्थानको अभावमा उद्दार कार्यमा समेत बाधा पर्ने र भग्नावशेष चिज हटाउन समेत मुस्किल परेको कुरा सबैलाई थाहा भएकै कुरा हो । खुल्ला क्षेत्र सम्बन्धी मापतण्डमा भनिएको छ ‘नगरपालिका तथा गाउँ विकास समितिहरूले आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरूको संरक्षण गर्नुपर्नेछ । आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जमिनहरूलाई खुल्ला क्षेत्रको रूपमा घोषण गरी सो क्षेत्रमा सार्वजनिक हरियाली पार्क तथा उद्यानहरूमा रूपान्तरण गर्नुपर्नेछ । सार्वजनिक, ऐलानी, पर्ति जग्गाहरूलाई नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय विना कोही कसैलाई कुनै पनि प्रयोजनको लागि हकभोग हस्तान्तरण वा उपभोग गर्न सिफारिस गर्न पाइने छैन ।

भुइँँ क्षेत्रको अनुपात भन्नाले भवनको सम्पूर्ण तलाहरूमा निर्मित क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरी को क्षेत्रफलले भाग गरेर आएको भागफललाई जनाउँदछ । यो अनुपात नै भवन कति साइजको बन्ने हो भन्ने कुराको निर्धारण गर्ने मुख्य तŒव हो । यो अनुपात प्रत्येक नगरपालिकाले तोके अनुसारको हुन्छ र एक ठाउँबाट अर्को ठाउँमा फरक पर्न सक्छ । भवन बनाउँदा यो अनुपातमा रही बनाउनुपर्छ ।

त्यसैगरी बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन २०७२ मा उल्लेख भए अनुसार काठमाडौं उपत्यका, सहरी नगर क्षेत्र र तराईका जिल्लाहरूमा कुनै पनि जग्गामा भवन बनाउँदा न्यूनतम ६ मिटरको बाटो हुनुपर्ने र भवन बनाउनेले ६ मिटर फराकिलो सडकमा पनि डेढ मिटर खाली जग्गा छाड्नुपर्ने र खाली जग्गामा सिधै पानी झर्ने गरि वार्दली समेत राख्न पाइदैन । तर हिमाली र पहाडी जिल्लाहरूमा भने ४ मिटर फराकिलो सडक भएको जग्गामा मात्र घर बनाउन सकिन्छ । जग्गा प्लटिङ गर्दा स्थानीय निकायको अनुमति लिएर मात्र गर्न पाइने ,प्लटिङ गर्दा कम्तीमा आठ मिटर चौडाको सडक पूर्वाधार हुनुपर्ने, प्लटिङ गरिएका जग्गाभित्रका सडक कम्तीमा ६ मिटर चौडा हुनुपर्ने, त्यहाँ घर बनाउँदा पनि सडक किनारदेखि डेढ मिटर खुला क्षेत्र छाडनु पर्दछ । जग्गा प्लटिङ गर्दा स्थानीय निकायले तोके बमोजिमको न्यूनतम जग्गा हुनुपर्ने, खुला क्षेत्र पर्ने र मापदण्ड अनुसार नगरे सो क्षेत्रमा स्थानीय निकायले खानेपानी, बिजुली, ढल र अन्य विकासका पूर्वाधार रोक्न सक्ने मापदण्ड तोकिएको छ । त्यसैगरी ४ फिट भन्दा अग्लो हुने गरी कसैले पनि पर्खाल लगाउन नपाउने, सो भन्दा माथि बढाउन चाहे ३ फिट माथिसम्म जाली राख्न सकिने, यसरी लगाइने पर्खाल पनि डेढ मिटर खाली जग्गा छाडेर लगाउनुपर्ने र त्यसका लागि पनि नक्सा पास गरी भूकम्प प्रतिरोध किसिमले लगाउनु पर्दछ ।

लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालय, ईन्जिनियरिङ्ग केन्द्रीय क्याम्पस, सुर्खेतका उप–प्राध्यापक हुन् ।

प्रकाशित मितिः   १७ श्रावण २०७६, शुक्रबार १३:३६