शर्माको उपचारमा सहयोग जुट्दै

सांसद शाहीद्वारा दश हजार सहयोग

सुर्खेत, कर्णाली प्रदेशसभाका सांसद जीवनबहादुर शाहीले पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । बोनम्यारो प्रत्यारोपणका क्रममा रहेका शर्मालाई बिहीवार अस्पतालमै भेटेर सांसद शाहीले नगद १० हजार रूपैयाँ प्रदान गरेका हुन् ।
काठमाडौंस्थित शिविल हस्पिटलमा उपचार गराइरहेका शर्मालाई भेट्न कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रदेश सरकारका आर्थिक ममिला तथा योजनामन्त्री प्रकाश ज्वालासहित सांसदद्वय जीवनबहादुर शाही, धर्मराज रेग्मी र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पूण्यप्रसाद रेग्मी अस्पताल पुगेका थिए । उनीहरुले शर्माको उपचारका लागि थप सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

साझा बिसौनी दैनिकका संवाददाता शर्माको उपचारका लागि विभिन्न व्यक्ति तथा संस्थामार्फत् सहयोग जुट्नेक्रम जारी रहेको छ । यसैक्रममा वीरेन्द्रनगर नगरपालिका ६ नं. वडा कार्यालयले नगद पाँच हजार एक सय रूपैयाँ प्रदान गरेको छ । कार्यालयको तर्फबाट वडा सचिव उत्तम अधिकारीले बिहीवार साझा बिसौनी पब्लिकेशन अन्तर्गतको साझा बिसौनी फाउण्डेशनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

यस्तै कोष तथा लेखा नियन्त्रकको कार्यालय मुगुमा कार्यरत लेखापाल हरिहर भट्टराईले पनि पाँच हजार रूपैयाँ साझा बिसौनी फाउण्डेशनमार्फत् सहयोग प्रदान गरेका छन् । त्यसैगरी पत्रकार अकवर खानले दुई हजार, व्यवसायी श्यामप्रकाश सापकोटाले दुई हजार एक सय पाँच, सोमप्रसाद ढकालले एक हजार एक सय एघार, दैलेख मेहेलतोली निवासी नविन रेग्मीले एक हजार एक सय एघार, नेपाल निजामती कर्मचारी संगठन सुर्खेतका अध्यक्ष लालबहादुर खत्रीले एक हजार र अल्फा ब्रदर्स सुर्खेतका सञ्चालक टेकबहादुर थापाले एक हजार पाँच सय रूपैयाँ बुधवार फाउण्डेशनलाई हस्तान्तरण गरेका छन् ।

बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक अभाव भएपछि सहयोग संकलन अभियान थालिएको हो । पत्रकार शर्माको जीवनरक्षाका लागि सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई साझा बिसौनी पब्लिेकेशनका अध्यक्ष गोपी अधिकारी (९८५८०३९३००) र प्रबन्ध निर्देशक कृष्णप्रसाद रेग्मी (९८५८०५१२६०) लाई सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मितिः   १७ श्रावण २०७६, शुक्रबार १३:३६