आर्थिक समृद्धिको नयाँ आधार
सुर्खेतको चौकुने गाउँपालिका–९ सुनाकाँडामा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योगले गति लिन थालेसँगै यस क्षेत्रको आर्थिक समृद्धि, रोजगारी सिर्जना र औद्योगिक विकासको आशा पनि बढाएको छ । कर्णाली प्रदेशको आर्थिक विकास र औद्योगिक सम्भावनाको चर्चा भइरहँदा सिमेन्ट उद्योगको निर्माण कार्य अघि बढ्नु सकारात्मक र उत्साहजनक विषय हो । करिब १५ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको उद्योग सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा एक हजार जनाले रोजगारी पाउने र दैनिक ५० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य आफैँमा महत्त्वाकांक्षी छ । यसले कर्णालीलाई उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढाउन महत्वपूर्ण योगदान दिन सक्छ ।
कर्णाली प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि त्यसको उचित उपयोग र परिचालन हुन नसक्दा आर्थिक विकासमा अपेक्षित गति लिन सकेको छैन । यहाँ उपलब्ध चुनढुंगालगायत खानीजन्य स्रोतको उपयोग गरी सिमेन्ट उद्योग स्थापना हुनु स्थानीय स्रोतलाई स्थानीयस्तरमै उत्पादन र रोजगारीसँग जोड्ने महत्त्वपूर्ण प्रयास हो । बराहताल गाउँपालिका–७ लखरपाटामा रहेको चुनढुंगा उपयोग गरी चौकुनेमा उद्योग स्थापना हुनुले दुई स्थानीय तहबीच आर्थिक गतिविधिको विस्तार गर्ने सम्भावना पनि बोकेको छ । उद्योग सञ्चालनमा आएपछि निर्माण सामग्रीका लागि अन्य प्रदेशमा निर्भर रहनुपर्ने अवस्था कम हुनुका साथै स्थानीय बजार, व्यापार, यातायात र सेवा क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्न सक्छ । तर, उद्योगको निर्माण कार्य अघि बढ्दैमा त्यसको सफलता सुनिश्चित हुँदैन । उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधारको उपलब्धता उत्तिकै महत्वपूर्ण हुन्छ । अहिले उद्योग निर्माणको मुख्य चुनौती सडक र पुलको कमजोर अवस्था देखिएको छ । गुटुबजारबाट उद्योगस्थल जाने सडकमा गुटुखोलामा पुल नहुनु तथा कैलालीको चिसापानीतर्फ जाने सडकको अवस्था नाजुक हुनुले निर्माण सामग्री ढुवानीमै कठिनाइ सिर्जना गरेको छ । अर्बौंको लगानीमा निर्माण भइरहेको उद्योगसम्म आवश्यक सामग्री सहज रूपमा पु¥याउन नसक्नु विकास व्यवस्थापनको कमजोरी हो । उद्योगको निर्माण र सञ्चालनलाई सहज बनाउन सडक स्तरोन्नति, पुल निर्माण तथा भरपर्दो विद्युत् आपूर्तिलाई प्राथमिकतामा राख्न आवश्यक छ ।
सूर्यतारा सिमेन्ट उद्योग केवल एउटा व्यावसायिक आयोजना मात्र होइन, यो कर्णालीको औद्योगिक भविष्यसँग जोडिएको सम्भावनाको परियोजना हो । यसको सफल सञ्चालनले निजी क्षेत्रको लगानी आकर्षित गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र प्रदेशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने बाटो खोल्न सक्छ । तर, त्यसका लागि सरकारको प्रतिबद्धता भाषण र नीति तथा कार्यक्रममै सीमित हुनुहुँदैन । सडक, पुल, विद्युत् र अन्य आधारभूत पूर्वाधार निर्माणलाई समयमै सम्पन्न गर्नुपर्छ । अबको आवश्यकता उद्योग निर्माणको प्रगतिमा मात्र खुसी हुने होइन, तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन आवश्यक वातावरण तयार गर्नु हो ।
प्रकाशित मितिः १ मंसिर २०८३, मंगलवार ०५:०३
सम्पादकीय ।