बेवास्ता नगर

नेपालबाट मनसुन क्रमशः बाहिरिन थालेको छ । कर्णालीसहित पश्चिम नेपालका अधिकांश भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया मनसुनको बहिर्गमनसँगै वर्षाको सम्भावना घट्ने र मौसम क्रमशः स्थिर हुँदै जाने अपेक्षा गरिन्छ । तर पश्चिम नेपालका लागि मनसुनको अन्त्य राहतको विषय मात्र होइन, विगतका अनुभवबाट सिक्ने र आगामी विपद्का लागि तयारी गर्ने अवसर पनि हो । कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका पश्चिमी भूभागबाट मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभाव अझै कायम छ । आगामी केही दिन हिमाली तथा पहाडी क्षेत्रमा बादल, वर्षा र हिमपातको सम्भावना कायमै रहने पूर्वानुमानले पनि मौसम पूर्णतः सामान्य भइसकेको छैन भन्ने स्पष्ट गर्छ । त्यसैले ‘मनसुन सकियो’ भन्ने सामान्य बुझाइका आधारमा सरकारी निकायदेखि सर्वसाधारणसम्मले सतर्कता घटाउनु उचित हुँदैन ।

पश्चिम नेपालले हरेक वर्ष मनसुनका कारण बाढी, पहिरो, डुबान, सडक अवरोध र जनधनको क्षति व्यहोर्दै आएको छ । विशेषगरी कर्णालीका भौगोलिक रूपमा विकट पहाडी तथा हिमाली क्षेत्र अझ बढी जोखिममा छन् । कमजोर सडक पूर्वाधार, पहिरोको जोखिम, नदी तथा खोलानालामा आउने आकस्मिक बहाव र दुर्गम बस्तीमा उद्धार तथा राहत पु¥याउन हुने कठिनाइले सामान्य वर्षालाई पनि गम्भीर विपद्मा परिणत गर्न सक्छ । त्यसैले मौसम पूर्वानुमानलाई केवल सूचना प्रकाशनको विषय बनाएर पुग्दैन । पूर्वानुमानसँगै स्थानीय तह, सुरक्षा निकाय, सडक कार्यालय, स्वास्थ्य संस्था र विपद् व्यवस्थापन संयन्त्र सक्रिय हुनुपर्छ । जोखिमयुक्त सडकखण्डको पहिचान, आवश्यक उपकरण तथा जनशक्तिको तयारी, विपद् सूचना प्रणालीको प्रभावकारी सञ्चालन र स्थानीय समुदायलाई समयमै सचेत गराउने काम नियमित प्रक्रियाको हिस्सा बन्नुपर्छ । अझ महङ्खवपूर्ण कुरा, मौसम पूर्वानुमान र विपद् व्यवस्थापनबीचको दूरी घटाउन आवश्यक छ । मौसमविद्ले वर्षाको सम्भावना देखाउँदा त्यसको अर्थ प्रशासनिक संयन्त्रले के गर्ने भन्ने स्पष्ट कार्ययोजना हुनुपर्छ । सम्भावित पहिरो, बाढी वा हिमपातका कारण प्रभावित हुन सक्ने क्षेत्रको पूर्वपहिचान गरी स्थानीय तहले आपत्कालीन योजना अद्यावधिक गर्नुपर्छ । सूचना पाएपछि उद्धारका लागि दौडिनेभन्दा सूचना आउनुअघि नै तयारी अवस्थामा बस्ने संस्कृति विकास गर्नुपर्छ ।

मनसुन बाहिरिँदै गर्दा अर्को महत्वपूर्ण विषय कृषि र जनजीवन पनि हो । लामो समयको वर्षापछि खेतबारी, सडक, पुल तथा खानेपानी संरचनामा परेको असरको मूल्यांकन गर्नुपर्ने समय यही हो । क्षतिग्रस्त पूर्वाधारको मर्मत, जोखिमयुक्त बस्तीको पहिचान र आगामी हिउँद तथा हिमपातका लागि आवश्यक तयारी पनि अहिलेबाटै थालिनुपर्छ । मौसम परिवर्तनका कारण वर्षाको ढाँचा र मौसमी जोखिम पनि बदलिँदै गएको छ । विगतको औसत र परम्परागत अनुभवका आधारमा मात्रै आगामी मौसमको जोखिम आकलन गर्नु पर्याप्त हुँदैन । स्थानीय तहसम्म वैज्ञानिक मौसम सूचना पु¥याउने र त्यसलाई व्यवहारिक निर्णयमा रूपान्तरण गर्ने प्रणाली बलियो बनाउनुपर्छ ।

प्रकाशित मितिः   १९ आश्विन २०८३, सोमबार ११:५०