राष्ट्रिय खेलकुदको तयारी
सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि तयारी अघि बढाइएको छ । प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा हुँदैछ । उक्त प्रतियोगिताका लागि आवश्यक तयारी थालिएको हो ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि मूल आयोजक समितिको बैठक आइतवार वीरेन्द्रनगरमा बसेको छ । बैठकले चारवटा निर्णयसमेत गरेको छ । समितिले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने टोलीहरूबारे निर्णय गरेको हो ।
यो प्रतियोगितामा सात प्रदेशबाट प्रदेशगत टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका विभागीय टिमले पनि सहभागिता जनाउनेछन् । त्यसबाहेक गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोली पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने मूल आयोजक समितिले जानकारी दिएको छ । प्रदेश, विभागीय र एनआरएनएसहित ११ टिमलाई प्रतियोगिताका विभिन्न विधामा पदका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभिन्न ३२ विधाका खेल सभावेश गरिएको छ ।
बैठकले यो प्रतियोगिता सफल बनाउन निजी क्षेत्रसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार सहकार्य गर्ने निर्णय पनि गरेको छ । मिति टुँगो लागिसकेकाले अब निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण तथा मर्मतसम्भारलाई प्राथमिकता दिने निर्णय पनि गरिएको छ ।
त्यसैगरी खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा दर्शकको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउने र प्रतियोगिताको प्रचारप्रसारमा सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्ने निर्णय बैठकले गरेको छ । निजी क्षेत्र, संघसंस्था तथा स्थानीय तहलाई प्रतियोगितामा जोड्दै प्रायोजकसँग एमओयू गर्ने निर्णय भएको छ । प्रतियोगिता सञ्चालन निर्देशिका २०८३ अनुसार विभिन्न विषयगत उपसमिति गठन गर्ने र प्रतियोगिता आयोजना तथा व्यवस्थापनका आवश्यक काम अघि बढाउन कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरिएको छ ।
निर्धारित समयभन्दा दुई वर्ष ढिलो गरी प्रतियोगिता आयोजना हुन लागेको छ । यसअघि २०८१ को मंसिरमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि मिति तय गरिएको थियो । तर उक्त समयमा आवश्यक तयारी पूरा नभएको भन्दै हुन सकेन । त्यसयता चार पटक–पटक मिति तोक्ने र सार्ने गरिएको छ । अब भने जसरी पनि प्रतियोगिता सञ्चालन गर्ने जनाइएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै पनि अवस्थामा नरोकिने बताएका छन् । आइतवार मूल आयोजक समितिको बैठकमा सहभागी मन्त्री पोखरेलले यसअघि पटक–पटक मिति सरेकाले अझै हुने हो कि होइन भन्ने आशंका गरिएको भएपनि अब त्यस्तो दुविधा राख्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे । ‘प्रतियोगिता मंसिर १६ गतेबाट सुरु हुने हो । तर, आज मूल समारोह समितिको बैठक गरिसकेपछि दशौँ राष्ट्रिय खेलकुद आजकै दिनबाट सुरु भएको छ,’ उनले भने, ‘प्रतियोगिता १६ गतेबाट सुरु हुने हो, उत्सव भने आजबाटै सुरु भयो ।’
प्रतियोगिता नहुने आशंका अब अन्त्य गरिनुपर्नेमा उनले जोड दिए । मन्त्री पोखरेलले प्रतियोगितालाई विगतभन्दा प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए । आयोजक र सहआयोजकको विषय प्राविधिक व्यवस्थापनको पक्ष मात्र भएको भन्दै उनले प्रतियोगिता सबै तहका सरकारको साझा कार्यक्रम भएको उल्लेख गरे । ‘नेपालभरिका गाउँगाउँ र कुनाकाप्चामा रहेका खेलाडीले आफ्नो प्रतिभा देखाउन पाउनुपर्छ । राष्ट्रियस्तरको प्रतियोगितामा आएर खेल्न पाउनु नै सबैभन्दा ठूलो कुरा हो,’ उनले भने, ‘खेलकुदबाटै आफ्नो जीवन चलाउन सक्ने वातावरण निर्माण गर्नु अझ महŒवपूर्ण कुरा हो ।’
दशौँ राष्ट्रिय खेलकुदलाई खेलाडीको प्रतिस्पर्धामा मात्र सीमित नराखी राष्ट्रिय उत्सवका रूपमा विकास गर्नुपर्ने भन्दै उनले कर्णालीमा प्रतियोगिता हुँदै छ भन्ने सन्देश देशभर पुर्याउन आग्रह गरे । दशौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहआयोजक कर्णाली प्रदेश खेलकुद विकास परिषद् छन् ।
कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले राष्ट्रिय खेलकुद आयोजनाका निम्ति प्रदेश सरकारको पूर्ण समर्थन रहेको बताए । आवश्यक खेल पूर्वाधारमा थप लगानी गर्न संघीय सरकारसँग उनले आग्रह गरे । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले प्रतियोगितालाई प्रदेशका निम्ति अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।
प्रकाशित मितिः १९ आश्विन २०८३, सोमबार ११:४९

साझा बिसौनी ।