शीतगृहले किसानलाई राहत

सुर्खेत: वीरेन्द्रनगर–९ स्थित साना किसान कृषि सहकारीले सञ्चालन गरेको शीतगृह (चिस्यान केन्द्र) ले किसानलाई राहत मिलेको छ । विगतमा बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य किसानले अहिले बिक्री नभएको कृषिजन्य उत्पादन भण्डारणका लागि शीतगृह पु¥याउने गरेका छन् ।
वडा नं. ९ का किसान रविन थापाले शीतगृह निर्माण भएपछि आफूहरूलाई राहत मिलेको बताए । उनले चिस्यान केन्द्र सञ्चालनमा आएसँगै निकै सहज भएको भन्दै अन्य कृषकहरूको मर्म अनुरूप अन्य स्थानमा पनि सञ्चालन गर्नुपर्ने सुझाव दिए । ‘अहिले बिक्री नभएको तरकारी फलफूल सबै यही राखेर जान पाइन्छ । दश÷बाह्र दिनपछि आएर फेरि बिक्री गर्न सकिन्छ,’ उनले भने, ‘चिस्यान केन्द्रले लाभ नै लाभ भएको छ ।’
धेरै आलु उत्पादन हुने ठाउँमध्ये सुर्खेत पनि एक हो । किसान निर्मला शर्माले शीतगृह निर्माणपछि आफूहरूलाई निकै राहत मिलेको बताइन् । तरकारीको सिजनअनुसार उत्पादनलाई बिक्री गर्न सहज भएको उनले सुनाइन् । उनले भनिन्, ‘अहिले धेरै सजिलो भएको छ, मैले आलु उत्पादन गर्ने गरेको छु, आलु शीतगृहमा राख्दा महँगो पनि खासै छैन, फर्काएर लैजान नपर्ने हुँदा ठूलो सहयोग पुगेको छ ।’
उनीहरू मात्र होइन, अहिले वीरेन्द्रनगर–९ स्थित शीतगृह निर्माणपछि पहाडी भेगका किसानलाई ठूलो राहत मिलेको छ । दैलेख, सल्यान र जाजरकोटलगायतका ठाउँबाट कृषि उपज बजारमा बिक्री गर्न आउने किसानका लागि शीतगृह वरदान सावित भएको छ ।
यस्तै भेरीगंगा नगरपालिका वडा नं. १२ पनि चिस्यान केन्द्र सञ्चान भएपछि कृषकलाई लाभ मिलेको छ । तरकारी भण्डारण गरेर बिक्री वितरण गर्नका लागि निकै सहज भएको कृषक मेनुका थापाले बताइन् । आलु भण्डारण गर्ने गरेको भन्दै उनले भण्डारण गरेर बिक्री गर्दा राम्रो मूल्य पाउने गरेको उनले सुनाइन् । पाँच वर्ष अघिदेखि सञ्चालनमा आएको चिस्यान केन्द्रबाट ठूलो लाभ मिलेको सोही स्थानका जगत सारुले बताए । पहिला चिस्यान केन्द्र नहुँदा तरकारी कुहिएर जाने जस्ता समस्या हुने गरेका थिए । अहिले निकै सहज भएको छ ।
कर्णाली प्रदेश सरकारले निर्माण गरिएका चिस्यान केन्द्र सञ्चालन गर्ने नीति अबलम्वन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर निर्माण गरिएका चिस्यान केन्द्रको मर्मत गरेर सञ्चालन गर्ने नीति लिएको हो । सरकारले फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरेको छ । अघिल्ला वर्षहरूमा भवन निर्माण गरिएतापनि सञ्चालनमा आउन सकेका छैनन् । प्रदेश सरकारको लगानीमा चार ठाउँमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरिएको छ । प्रदेश सरकारको ७० प्रतिशत लगानीमा कोल्ड स्टोर बनेका हुन् । सुर्खेतका तीन पालिका र दैलेखमा गरी चार वटा कोल्ड स्टोर निर्माण गरिएको हो । सरकारको नीति अनुरूप चिस्यान केन्द्र सञ्चालन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयको ७० प्रतिशत र सहकारी संस्थाहरूको ३० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माण गरिएको छ । दैलेखको नारायण नगरपालिकामा गतवर्षबाट चिस्यान केन्द्र सञ्चालन गरिएको छ । प्रदेश सरकारको करिब दुई करोड लागनीमा चिस्यान केन्द्र निर्माण गरिएको हो । आर्थिक वर्ष २०७७/०७८ देखि चिस्यान केन्द्रको भवन निर्माणको काम थालिएको थियो । आ.व. २०७९/०८० मा मात्र चिस्यान केन्द्रको भवन निर्माणको काम सकिएको हो । गतवर्षदेखि प्रदेश सरकारले बनेका भवन मर्मत गरेर सञ्चालन गर्ने जनाएअनुरूप चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ । यसैगरी वीरेन्द्रनगरमा चिस्यान केन्द्र सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न कोल्डस्टोर सञ्चालन गरिएको हो ।
कृषि विकास निर्देशनालय सुर्खेतको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ लाटीकोइलीमा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो । दुई सय मेट्रिक टन भार क्षमताको कोल्ड स्टोर सञ्चालनमा आएको हो । पाँच सय मेट्रिक टन भार क्षमताको विस्तार गरेर प्रदेशस्तरीय बनाउने लक्ष्य राखिएको भएपनि हाल दुई सयबाट सेवा सुरु गरिएको छ । पहिलो चरणमा आलु र दोस्रो चरणमा स्याउ भण्डारण गरिएको र अहिले सुन्तला भण्डारणका लागि तयारी थालिएको छ ।
पूर्वी सुर्खेतको गुर्भाकोटमा समेत चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषिजन्य उत्पादनलाई बढावा दिन कर्णाली प्रदेश सरकारको लगानीमा गुर्भाकोट नगरपालिका वडा नं. ९ बोटेचौरमा चिस्यान केन्द्र निर्माण गरिएको हो । ८५ मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालनमा आएको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यसैगरी पूर्वी सुर्खेतको भेरीगंगामा चिस्यान केन्द्र (कोल्ड स्टोर) पुनःसञ्चालनमा आएको छ । विद्युत अभावले सञ्चालन हुन नसकेको उक्त कोल्ड स्टोर गतवर्षदेखि सञ्चालनमा आएको हो । कर्णालीमा १३२ केभिए प्रशारण लाइन सञ्चालनमा आएसँगै चिस्यान केन्द्र सञ्चालनका लागि सहज भएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सुरज रोकायले बताए । सरकारले चिस्यान केन्द्र सञ्चालन गर्नका लागि विद्युतमा छुट दिनुपर्ने साना किसान सहकारी छिन्चुका अध्यक्ष रेणु आचार्यले बताइन् ।
प्रकाशित मितिः २७ श्रावण २०८३, बुधबार १२:३६
रजनी याेगी ।