मल अभाव
सामान्यतया साउन १५ देखि भदौ १५ सम्म धान गोडमेल गर्ने समय हो । यतिबेला धान गोडमेलसँगै किसानहरूले खेतबारीमा मल हाल्ने गर्छन् । कर्णालीमा भने यसैबेला मलको चरम अभाव छ । पर्याप्त रासायनिक मल (युरिया) आयात नभएपछि किसानहरू मर्कामा परेका छन् । बजारमा मलको हाहाकार भएपछि उनीहरू चिन्तित भएका हुन् । मलको अभावका कारण यो वर्ष धान उत्पादनमा कमी आउने आकलन गरिएको छ । समयमा नै पानी नपर्दा रोपाई समेत ढिला भएको थियो । त्यसमाथि मलको अभावले गोडमेलमा समस्या सिर्जना भएको छ । समयमै धानमा मल हाल्न नपाउँदा रोग लाग्न थालेको गुनासो किसानहरूले गरेका छन् । जलवायु परिवर्तनको असरका कारण समयमा नै पानी नपर्नु तथा समयमा नै मल बीउ नपाउनुले धानको उत्पादन घट्ने अनुमान छ ।
कर्णालीमा यो वर्ष कृषि सामग्री कम्पनी लिमिटेडले मात्र मल आपूर्ति गरेको छ । गत वर्षहरूमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले पनि मल वितरण गर्दै आइरहेको थियो । एउटै ठाउँबाट मल वितरण गनुपर्दा थप समस्या भएको जनाइएको छ । त्यसो त अहिले यहाँ मात्रै नभएर देशभर मलको अभाव भएको छ । कर्णालीमा ढिलागरी मल आपूर्ति हुँदा सहज रूपमा वितरणमा समस्या भएको छ । धान रोपेको एक महिनापछि कर्णालीका सुर्खेत, दैलेख र कालीकोटमा मात्र झण्डै पाँच सय मेट्रिक–टन मल आवश्यक पर्छ । तर, असार पहिलो सातामा आइपुग्नुपर्ने मल साउन अन्तिमसम्ममा पर्याप्त आएको छैन । बाहिरबाट मल नै नआएको जनाइएको छ । धान गोडमेल गर्ने समयमा मल जरुरी हो, यतिबेलै मल पर्याप्त रूपमा आएको छैन, कोलकत्ता नाकाबाटै मल आउन सकेको छैन ।
यो वर्ष पहिलो चरणको मल साउनको पहिलो सातामा मात्र आएको थियो । दोस्रो चरणमा मलको अभाव रहेको र तत्काल आउने सम्भावना नभएको जनाएको छ । भदौ पहिलो सातासम्म दोस्रो चरणको मल आइपुग्नेबताइएको छ । यो वर्ष पाँच सय १३ मेट्रिक टन युरिया मल तथा पाँच सय ४० डिएपी मल आपूर्ति भएको छ । गतवर्ष मात्र दुई हजार एक सय ३७.७ मेट्रिक टन मल खपत भएको थियो । तर यो वर्ष सिजनमै मल अभाव भएको छ । समयमा नै धान रोप्न नपाएका किसान समयमा नै मल नपाउँदा थप चिन्तित बनेका छन् । भारतले आयात गरेको मल दिन खोज्दा ढिलाइ भइरहेको जनाइएको छ । हाल मन्त्रालयले सस्तोमा माग गरिरहेको छ । मूल्य वृद्धिका कारण पनि मल आपूर्तिमा समस्या भइरहेको छ ।
प्रकाशित मितिः २८ श्रावण २०८३, बिहीबार ०५:०३
सम्पादकीय ।