आधा सिलिन्डरको सकस
सुर्खेत: वीरेन्द्रनगरमा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो ह्वात्तै बढेको छ । ग्यासका लागि घण्टौं लाइन बस्नुपरेको उपभोक्ताहरूले गुनासो गरिरहेका छन् । ग्यासका लागि पसल–पसलमा धाउनु परेको वीरेन्द्रनगर–४ की कोमल थापाले बताइन् । आधा ग्यास भएकाले भान्सामा १५ दिन मात्र टिक्ने गरेको भन्दै उनले बजारभरी डुल्दा धाँै–धाँै घण्टौंपछि ग्यास पाइएको सुनाइन् । आधा सिलिण्डर ग्यास कम खपत हुने गरेको भन्दै उनले बजारमा माग बढ्दा अभाव हुने गरेको बताइन् ।
ग्यास नपाइने हल्ला सुनेपछि वीरेन्द्रनगर–१ का राजु सुनार पनि विभिन्न पसलहरूमा पुगिन् । डिलरमा पुग्दा सात घण्टापछि ग्यास पाइएको उनले सुनाइन् । अहिले सबैले स्टक ग्यास खरिद गर्दा बजारमा ग्यासको हाहाकार फैलिएको बताउँदै व्यापारीहरूले नागरिकलाई रित्तो हात फर्काइदिएका छन् । सरकारले आपूर्ति सहज बनाउन र सबै उपभोक्ताले समान रूपमा ग्यास पाउन् भनेर ‘आधा सिलिन्डर’ नीति ल्याए पनि त्यसले समस्या समाधान गर्नुको सट्टा झन् बल्झाएको व्यवसायी र उपभोक्ताहरूको आरोप छ । अमेरिका–इजरायल र इरानबीचको तनावले इन्धन आपूर्तिमा पारेको जोखिम देखाउँदै नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास नीति ल्याएको थियो । बजारमा ग्यास अभाव समस्या हल गर्न भन्दै निगम सञ्चालक समितिको अनुरोधमा २९ फागुन २०८२ देखि ७.१ किलो ग्यास मात्रै भरेर बजार पठाउन थालिएको थियो ।
वीरेन्द्रनगरका ग्यास विक्रेता शोभा थापाले बाहिरी जिल्लाका ग्यास उद्योगहरूबाट आपूर्तिमा ढिलाइ हुनु र ढुवानी खर्च बढ्नुले बजारमा असहजता पैदा भएको बताइन् । उनका अनुसार ग्यास उद्योगीहरूले ग्यास पठाउन ढिलाइ गर्दा र विभिन्न बहाना बनाउँदा उपभोक्ता र विक्रेताहरूमा दबाब सिर्जना भएको छ । पूरा सिलिन्डर ल्याउँदा पनि गाडीमा त्यही तेल लाग्ने तथा आधा ल्याउँदा पनि त्यही तेल लाग्ने भएकाले तेल खर्च र ढुवानी लागत दोब्बर हुन पुगेको उनले जानकारी दिइन् ।
वीरेन्द्रनगरकै अर्का ग्यास विक्रेता विनोद दाहालका अनुसार अहिले बजारमा ग्यासको माग र आपूर्तिबीच ठूलो खाडल देखिएको छ । ग्यासको दोब्बर माग रहेको भन्दै उनले यो सबै आधा सिलिन्डरको नीतिले गर्दा भएको जानकारी दिए । दाहालका अनुसार पहिले वीरेन्द्रनगरमा मासिक करिब २५ देखि २६ हजार वटा पूरा सिलिन्डर खपत हुन्थ्यो । माग धान्नका लागि उद्योगहरूले सोही अनुपातमा आधा सिलिन्डर पठाउनुपर्ने हुन्छ । ‘पहिले २५–२६ हजार भरि सिलिन्डर बेच्ने ठाउँमा अहिले ५२ हजार आधा सिलिन्डर पठाउनुपर्ने हो, तर कम्पनीले उही गाडीमा त्यति धेरै माल पठाउन सक्दैन,’ दाहालले भने, ‘अहिले २७–२८ हजार आधा सिलिन्डर मात्र आउँछ, जसले गर्दा बजारमा ठूलो अभाव देखिएको छ ।’
कम्पनीसँग पर्याप्त ढुवानीका साधन नहुँदा माग अनुसार आधा सिलिन्डर पठाउन सम्भव नभएको उनको भनाइ छ । यसअघि प्रतिसिलिन्डर ५८ रूपैयाँ कमिसन पाउने डिलरहरूले अहिले २९ रूपैयाँमा नै चित्त बुझाउनुपरेको छ भने उद्योगीहरूको कमिसन पनि ३१ रूपैयाँ ९० पैसाबाट घटेर करिब १६ रूपैयाँमा झरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले हल्लाको पछि नलाग्न नागरिकलाई सचेत गराएको छ । सरकारले नियमगत तरिकाले आधा ग्यास बिक्री वितरण गर्ने योजना बनाएको सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर खत्रीले बताए । अहिले बजारमा ग्यासको अभाव देखाएर व्यापारीहरूले यही मौकाको फाइदा उठाउन खोजेपछि प्रशासनले कडा चेतावनी दिएको छ । ग्यास पर्याप्त रहेको भन्दै उनले हल्लाको पछि नलाग्न अनुरोध समेत गरे । बिहीवारदेखि प्रशासनले निगरानी पनि बढाएको छ ।
प्रकाशित मितिः १३ असार २०८३, शनिबार ००:०५

रजनी याेगी ।