बेरोजगारी समस्या
कर्णालीमा चरम बेरोजगारी छ । सरकारी नीति–कार्यक्रम र बजेटमा बेरोजगारको समस्याले प्राथमिकता पाएपनि कार्यान्वयनको अवस्था फितलो छ । सरकारले आगामी आर्थिक वर्षमा समेत रोजगारीका योजना समावेश गरेको छ । तर विगतदेखि नै त्यस्ता कार्यक्रमको प्रभावकारिता निकै न्यून छ । जसले गर्दा कर्णालीमा बरोजगारको संख्या बर्सेनि बढ्दो छ । यहाँका अधिकांश युवालाई देशभित्रकै ठूला सहर, भारत वा तेस्रो मुलुक नगइ जीवन धान्न मुस्किल हुन्छ । हजारौं नागरिकले आफ्नो उर्जाशील समय भारतमा श्रम गरेर बिताइरहेका छन् । परिवारको गर्जो टार्न रोजगारीका लागि देशभित्र भौतारिनेको संख्या पनि उस्तै छ । उब्जनी हुने पर्याप्त जमिन र गाउँमै रोजगारीका अवसर नभएपछि युवा जनशक्ति कामको खोजिमा भारत (कालापहाड) र खाडी मुलुकमा जाने गरेका हुन् ।
विकराल बेरोजगारी समस्या न्यूनीकरणका लागि सरकारी निकायले भने वार्षिक अर्बाैं बजेट खर्च गरिरहेका छन् । तीन वटै तहका सरकारले सञ्चालन गर्दै आएका बेरोजगार लक्षित कार्यक्रमले भने उनीहरूको समस्या सम्बोधन गर्न सकेका छैनन् । ती कार्यक्रमले केही संख्यालाई मात्र त्यो पनि छोटो अवधिको रोजगारी दिइरहेका छन् । गत आर्थिक वर्षमा छिटो अवधिको रोजगारी माग गर्दै कर्णालीमा झन्डै डेढ लाखले आवेदन दिएका थिए । स्थानीय तहहरूमार्फत प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमलगायतको प्रयोजनका लागि संकलन गरेको उक्त विवरणले नै यहाँको विकराल बेरोजगारीको अवस्था छर्लङ्ग हुन्छ । यकिन तथ्यांक नभएपनि कर्णालीबाट प्रत्येक वर्ष झन्डै एक लाख हाराहारीमा नागरिकहरू ज्यालामजुदरीका लागि भारत जाने गरेको सरकारी आकलन छ । वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जानेको लर्को त्यस्तै छ । संघीयतापछि आँगनमै बनेका स्थानीय सरकारले पनि बेरोजगारको पीडामा मल्हम लगाउन सकेका छैनन् ।
अक्सर विदेशमै बस्नेहरूको जनसंख्या पनि ठूलो देखिएको छ । कर्णालीका ९४ हजार तीन सय २० जना अक्सर विदेशमा बसोबास गर्ने गरेको पाइएको हो । जसमा ७७ हजार दुई सय ७८ जना पुरुष छन् भने १७ हजार ४२ जना महिला छन् । परदेशतिरै बसोबास गर्ने जनसंख्या पनि पछिल्लो दशकमा वृद्धि भएको छ । २०६८ मा ६७ हजार पाँच सय ८२ जना परिवारभन्दा बाहिर बसोबास गरेको तथ्यांक थियो भने दश वर्षमा उक्त संख्या २६ हजार सात सय ३८ ले बढेको छ । बारीमा उब्जनी कम हुँदा कर्णालीका धेरै घरपरिवारले खाद्यान्न अभावको समस्या झेलिरहेका छन् । उनीहरूको आम्दानीको स्रोत भनेकै कालापहाड हो । कर्णालीका थुप्रै घरका पुरुषहरू मजदुरीका लागि कालापहाड जाने गर्छन् । कतिपयले परिवारसहित नै कालापडा जाँदा बालबालिकाको पढाई नै प्रभावित बनिरहेको छ ।
प्रकाशित मितिः २७ जेष्ठ २०८३, बुधबार १६:००
सम्पादकीय ।