‘यौनिक अल्पसंख्यकको सुरक्षामा सरकार गम्भीर छ’

सुर्खेत: कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यौनिक अल्पसंख्यकको सुरक्षा र रोजगारमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । उनले यौनिक अल्पसंख्यकहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने कार्यक्रम सरकारको रहेको बताएका हुन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समेटेर उक्त योजना कार्यान्वन गरिने उनको भनाइ छ । ‘यौनिक अल्पसंख्यकहरू अहिले पनि खुल्न सक्नु भएको छैन, खुलेकाहरू पनि असुरक्षित हुनुहुन्छ,’ मंगलवार यौनिक अल्पसंख्यकहरूसँगको छलफल कार्यक्रमा मन्त्री भण्डारीले भने, ‘तपाईंहरूको सुरक्षा र रोजगारको विषयमा सरकार गम्भीर छ ।’
मन्त्री भण्डारीले कर्णाली प्रदेशभरी रहेका यौनिक अल्पसंख्यकको तथ्याङ्क उपलब्ध गराउन सरोकारवालाहरूसँग आग्रह गरे । ‘कर्णालीभरी कति जना यौनिक अल्पसंख्यक हुनुहुन्छ, त्यसको तथ्याङ्क भए सीप सिकाउन, क्षमता अनुसारको काम दिन र स्वरोजगार बनाउन सहज हुन्थ्यो,’ मन्त्री भण्डारीले भने, ‘तथ्याङ्क उपलब्ध गराउने काममा सरोकारवाला संघ–संस्थाको सहयोग मन्त्रालयलाई आवश्यक छ ।’
प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले सरकारले यौनिक अल्पसंख्यकहरूको हितमा हुने गरेर सरकारले काम गर्नुपर्ने बताए । यौनिक अल्पसंख्यकहरूको तथ्याङ्क नहुँदा सरकारले गरेका कामको प्रतिफल नदेखिएको भन्दै उनले विशेष योजना निर्माण गरेर काम गर्नुपर्ने बताएका हुन् । योगीले यौनिक अल्पसंख्यकहरूका बारेमा विद्यालय तहको पाठ्यक्रममा समेट्नु पर्ने आवश्यकता औंल्याए ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालका कार्यक्रम संयोजक सिम्रन शेरचनले विद्यालय तहदेखिनै यौनिक अल्पसंख्यकहरूको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता औंल्याइन् । ‘घर, परिवार र समाजको डरले यौनिक अल्पसंख्यकहरू अझै पनि खुल्न सक्नु भएको छैन,’ उनले भनिन्, ‘त्यसका लागि सचेतना कार्यक्रम फैलाउन जरुरी छ ।’ कर्णाली इन्द्रेणी आवाजका अध्यक्ष अञ्जली विसीले गृह मन्त्रालयले नागरिकताको विषयमा परिपत्र गर्दा पनि अहिलेसम्म आफ्नो पहिचानसहितको नागरिकता आफूहरूले पाउन नसेकेको बताइन् । कर्णालीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक खुल्ने क्रम बढेपनि रोजगारी र सचेतनाका कार्यक्रम नहुँदा समस्या नै समस्या भएको उनले सुनाइन् ।
प्रकाशित मितिः २७ जेष्ठ २०८३, बुधबार १६:०१
साझा बिसौनी ।