सुरुङमार्ग सपना

जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग निर्माणको योजना कार्यान्वयन हुन सकेको थिएन । पूर्वसम्भाव्यता अध्ययन गरेर पनि अघि बढ्न नसकेको यो आयोजना अब भने अघि बढ्ने संकेत देखिएको छ । संघीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नहुँदा ठप्प रहेका योजनालाई अघि बढाउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कर्णालीको यस्तो योजना अघि बढाउने भएको हो । जसमा जाजरकोटदेखि जुम्ला जोड्ने सुरुङमार्ग पनि छ । यसअघि सुरुङमार्ग निर्माणको काम अघि नबढ्ने भन्दै रोकिएको थियो । दुरीका हिसाबले लामो र धेरै लागत लाग्ने भएपछि निर्माणको काम अघि नबढाउने निर्णयमा पुग्दै काम नै ठप्प भएको हो । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटसहित नीति तथा कार्यक्रममा समेटेर यो योजना अघि बढाउने भएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मुल्साङदेखि जुम्लाको टोप्ला सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका छन् । पहिले नै यसको अध्ययनको काम भएको छ । यसअघि सुरुङ मार्गको प्रि–फिजिविलिटी अध्ययन गरिएको थियो । उक्त अध्ययनले थप काम गर्न उपयुक्त नभएको देखाएको छ । जाजरकोटदेखि जुम्लासम्म सुरुङमार्गको दश किलोमिटर दुरी छ । दुरीका हिसाबले लामो र लागत धेरै लाग्ने भएपछि काम अघि बढाउन समस्या भएको गुणस्तर तथा अनुसन्धान केन्द्रले जनाएको छ । लागत धेरै लाग्ने भएपछि तत्काल थप प्रक्रिया अघि नबढेको हो । प्रि–फिजिविलिटी अध्ययनले २९ अर्बको प्रारम्भिक लागत अनुमान निकालेको छ । सो लागत अनुरूप प्रतिफल नआउने भएपछि थप प्रक्रिया अघि नबढाइएको हो । २०७८ मा नै सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको थियो । त्यतिबेला सामान्य अध्ययनका काम भएका थिए । त्यसपछि उपयुक्त नभएको भन्दै अन्य काम ठप्प छ । अब भने बालेन सरकारले सुरुङमार्ग निर्माणको कामलाई अघि बढाउने बताएको छ ।

यसअघि गरिएको अध्ययनमा जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब दश किलोमिटर छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर सुरुङमार्ग निर्माणको काम थालिएको थियो । सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट अपेक्षा राखिएको थियो । गौरवको आयोजनाका रूपमा सुरुङमार्ग निर्माण योजना अघि सारिएको भएपछि अध्ययनले काम गर्न उपयुक्त नभएको देखाएको छ । दुरी र व्यापारका हिसाबले सुरुङमार्ग नै उपयुक्त विकल्पका रूपमा लिइएको बताउने गरिएको छ । सुरुङमार्ग निर्माणसँगै कर्णालीको व्यापारमा वृद्धि हुने अपेक्षा राखिएको छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०८३, बुधबार १५:५१