पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार

रारा र फोक्सुण्डो संघीय सरकारको प्राथमिकतामा

सुर्खेत: संघीय सरकारले पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माणको योजनालाई प्राथमिकतामा राखेको छ । कर्णालीमा रहेको पर्यटनको सम्भावना अनुरूपको लाभ लिनेगरी पर्यटन पूर्वाधारका योजना निर्माण गरिने जनाइएको छ । सोहीअनुसार कर्णालीका पर्यटकीय स्थललाई आफ्नो बजेटमा समावेश गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर पर्यटन प्रवद्र्धनको योजना ल्याएको हो । सरकारले आगामी वर्षमा कार्यान्वयन गर्नेगरी दर्जन बढी पर्यटन प्रवद्र्धनका योजना ल्याएको छ । जसमा कर्णालीको प्रमुख पर्यटकीय स्थाल रारालाई पर्यटन पदमार्गदेखि पदयात्रासम्मको योजनामा राखिएको छ । सरकारले रारामा पर्यटन पदमार्ग विकास गर्नुका साथै बर्दिया–रारा पदयात्रा सुरुवात गर्ने जनाएको छ । पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना रहेको रारामा अपेक्षित रूपमा पर्यटक भिœयाउन सकिएको छैन । तीन तहका सरकारको प्राथमिकतामा भने पर्दै आइरहेको छ ।

संघीय सरकारले कर्णालीका सडक पूर्वाधारलाई प्रमुख पर्यटकीय क्षेत्रसँग जोडेर जडिबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापलाई अघि बढाउने घोषणा गरेको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने, ‘मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, जुम्ला हुँदै रारा र फोक्सुन्डोसम्मको कर्णाली चतुर्भूजमा जडिबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापलाई प्रश्रय पाउने व्यवस्था मिलाउने छौँ ।’

पर्यटन पूर्वाधारका योजनामा संघीय सरकारले पुराना योजनालाई प्राथमिकतामा राखेको पाइएको छ । रारामा भौगोलिक रूपमा समेत विकट स्थानमा रहेकाले पदमार्ग निर्माण नै पूर्वाधारको पहिलो खुड्किलो मानिन्छ । संघीय सरकारले आफ्नो बजेटमा समावेश गरेर रारालाई पर्यटन पदमार्गको रूपमा विकास गर्ने जनाएको छ । केही सामान्य पूर्वाधारका काम भने भएका छन् । ती पूर्वाधार पर्याप्त नहुँदा त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्दै आएका छन् । पर्यटक त्यहाँ पुग्दासमेत स्थानीयले पर्याप्त आर्थिक लाभ लिन सकेका छैनन् । अहिले भने संघीय सरकारले नै पदमार्गदेखि पदयात्राको योजना बनाएको छ । यसले राराको पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । गतवर्षको योजनामा पनि संघीय सरकारले यस समावेश गरेको थियो । अहिले कर्णालीमा तीनतहकै सरकारको पहलमा ठाउँ–ठाउँमा पर्यटन पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

यसअघि गरिएका पूर्वाधार निर्माणका कामसमेत कछुवा गतिमा भइरहेका छन् । रारासम्म पुग्न गतिलो पूर्वाधार निर्माण हुन सकेको छैन । नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम सुस्त गतिमा छ । निर्माण कम्पनीको लापरबाहीका कारण काम गतिमा हुन नसकेको डिभिजन वन कार्यालय मुगुले जनाएको छ । रारामा पर्यटकीय पूर्वाधार पदमार्ग निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा निर्माण सुरु गरेको हो । आयोजनाको कार्यान्वयन डिभिजन वन कार्यालय मुगुले गरिरहेको छ । ४५ करोड २९ लाखमा खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको छ । गतआर्थिक वर्षमा नै निर्माण सम्पन्न हुनुपर्ने काम अहिलेसम्म आधा पनि निर्माण भएको छैन । रारा ताल वरिपरि बनाउने भनिएको १५ किलोमिटर पदमार्ग सोलिङ, पिसिसि, नालीलगायतका काम भइरहेका छन् । तोकिएको समयमा काम सक्ने गरी योजना सम्झौता भएको भएपनि ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण काम सुस्त गतिमा भइरहेको छ ।

रारा नेपालको पदमार्गसहितको गन्तव्य हो । साहसिक यात्राको गन्तव्य पनि हो । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझ तालको वरिवरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृतिसँग विचरण गर्न मिल्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित बनाउँछ ।

यसैगरी कर्णालीको शे–फोक्सुण्डोको चर्चा देशविदेशमा छ । चर्चाअनुरूपका पर्यटक भित्रिन सकेका छैनन् । यसको प्रचार–प्रसार र पूर्वाधार निर्माण पर्याप्त नहुनु नै हो । शे–फोक्सुण्डो ताल प्राकृतिक सौन्दर्यका दृष्टिले महŒवपूर्ण रमणीय गन्तव्य हो । पदयात्रामा रमाउने र यसको मजा लिनेहरूको लागि शे–फोक्सुण्डो तालको पदयात्रा महŒवपूर्ण छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०८३, बुधबार १५:५४