बेतन कर्णालीको गति
सुर्खेत र अछाम जिल्लाको सिमानामा निर्माण हुने बेतन कर्णाली जलविद्युत आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ । विद्युत खरिद सम्झौता (पीपीए) को काम पनि अन्तिम चरणमा पुगेको छ । २०८२ असारमा आयोजना निर्माणका लागि उत्पादन अनुमति पत्र समेत पाइसकेको छ । यो आयोजनालाई संघीय सरकारले पनि प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रममा समेटेर योजना अघि बढाउने भएको छ । आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बेतन कर्णाली आयोजनाको ठेक्का प्रक्रिया अघि बढाइने बताएका छन् । जसले गर्दा कर्णालीसँग जोडिएको अर्को ठूलो जलविद्युत आयोजना अघि बढ्ने संकेत देखिएको छ ।
कर्णालीसँग जोडिएको अर्को ठूलो जलविद्युत आयोजना हो, यो । आयोजनाको मुख्य काम गर्नुअघि गर्नुपर्ने तयारी र पूर्वाधार विकासका काम सञ्चालन भइरहेका छन् । आयोजनास्थलसम्म पुग्न अछामतर्फबाट १८ किमी पहुँच सडक निर्माण पूरा भएको छ । बाँकी स्थानमा सडक स्तरोन्नतिको काम अघि बढाउन लागिएको छ । सुर्खेत खण्डमा १४ किमीमध्ये १० किमी पूरा भएको छ । सडक विस्तारको बाँकी काम अघि बढाइनेछ । सडक निर्माणपछि कर्णाली नदीमा पक्की पुल र बेलिब्रिज निर्माण गरिने छ । कैलालीको सुगरखालदेखि करिब ३० किमी दूरीमा ३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया अघि बढिसकेको छ । मुआब्जा वितरणका लागि ऊर्जाबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा फाइल पेस गरिएको छ । मन्त्रालयबाट मुआब्जा वितरणको स्वीकृति आए मुआब्जा वितरण गरिने छ । आयोजना निर्माण गर्दा सुर्खेत र अछाम जिल्लाको गरी करिब १८ रोपनी जग्गा आयोजनाबाट प्रभावित हुनेछ । अहिले आयोजनाबाट प्रभावित हुने क्षेत्रमा रूख कटानको लागि प्रक्रिया पनि अघि बढाइएको छ । आगामी आर्थिक वर्षमा ठेक्का सम्झौता गर्नेगरी गुटु कोइरालाबासहुँदै घोर्केसम्मको सडक सर्वे गरिएको छ । कर्णाली पुलमा पक्की पुल निर्माण निर्माणको काम यो वर्षमा नै अघि बढाइने जनाइएको छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । चार सय ३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ तर हालसम्म लगानीको स्रोत सुनिश्चित भइसकेको छैन । आयोजनाका लागि कर्णाली नदीमा एक सय ४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युतगृहमा पानी पु¥याइने छ । आयोजनाको डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ तथा विद्युतगृह, बेस क्याम्प हाउस, हेड टनेललगायतका मुख्य संरचना अछामको ढकारी गाउँपालिका–६ मा निर्माण हुने छन् । संघीय सरकारको समेत प्राथमिकता पाएका कारण आयोजना निर्माणले गति लिने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः १९ जेष्ठ २०८३, मंगलवार १७:१४
सम्पादकीय ।