सुनसहित नगद बरामद

सुर्खेत: वीरेन्द्रनगरबाट प्रहरीले ठूलो परिमाणमा सुनका गहना र भारतीय रूपैयाँ फेला पारेको छ । वीरेन्द्रनगर–६ तल्लोबजारस्थित श्याम सुन्दर अग्रवालको कपडा पसलमा प्रहरीले छापा हानेर सुनका गहना र ठूलो परिमाणमा भारतीय रूपैयाँ बरामद गरेको हो ।

अग्रवालले सुनका गहना धितो राखेर चर्को ब्याजमा ऋण लगाउने गरेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एसएसपी रामप्रकाश शाहले बताए । उक्त सूचनाका आधारमा सोमवार अपराह्न छापा मारेको प्रहरीले भारतीय रूपैयाँ र विभिन्न किसमका सुनका गहना बरामद गरेको हो ।

अग्रवाल कपडा व्यवसायी हुन् । उनी विगत लामो समयदेखि वीरेन्द्रनगरमा व्यवसाय गर्दै आएका छन् । कपडा व्यवसाय सँगसँगै श्यामसुन्दरले अवैध रूपमा वित्तीय कारोबार गर्ने र ठूलो परिमाणमा सुन राखेको सूचना प्रहरीसम्म पुगेको थियो । सोही आधारमा प्रहरीले छापा मारेको हो ।

पसल नजिकै घर भाडामा लिएर अग्रवालले अवैध आर्थिक कारोबार गरेको जनाइएको छ । सोही घरबाट सुनका गहना र रकम फेला परेको हो । प्रहरी स्रोतका अनुसार उनले कपडा व्यवसायको आवरणमा अवैध रूपमा भारतीय रूपैयाँको सट्टापट्टा गर्ने र सुन धितो राखेर चर्को ब्याजमा ऋण लगानी गर्ने गरेका थिए । अवैध रूपमा सुन धितो राखेर ऋण लगानी गर्नेदेखि भारतीय रूपैयाँको व्यापार गर्ने गरेको आरोप उनीमाथि छ । भारतीय रूपैयाँ साटेबापत ३ देखि ५ प्रतिशतसम्म कमिशन लिने गरेको जनाइएको छ । यसका साथै आम नागरिकदेखि साना व्यवसायीहरूसँग सुन धितो राखेर ऋण दिने र ब्याज असुल्ने गरेको समेत बताइन्छ । उनीमाथि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १९ जेष्ठ २०८३, मंगलवार १७:१३