सीमा विवाद
हुम्ला र बाजुराबीच उत्पन्न विवादपछिको झडपको विषयमा छानविन गरिने भएको छ । यसका साथै सीमा विवादबारे अध्ययन गर्न समिति गठन गरिएको छ । सरकारले दुई छुट्टाछुट्टै समिति बनाएको हो । घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थितिमा आइतवार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयले छानबिन टोलीलाई तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरी शीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय सक्रिय बनेको र हुम्ला तथा बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका विशेष सुरक्षा टोली घटनास्थलमा परिचालन गरिएको छ । सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा रणनीति कार्यान्वयन गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ । स्थिति नियन्त्रण तथा दीर्घकालीन शान्ति स्थापनाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयात्मक बैठक गर्दै आवश्यक पहल अगाडि बढाइरहेको पनि जनाएको छ । यसैगरी दुई जिल्लाबीचको सीमा विवादसम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
बाजुरा र हुम्लाबीच अघिल्लो सातादेखि उत्पन्न तनाव कायमै छ । दुई जिल्लाबीचको सिमाना विवाद चर्किदै गएको हो । लाम्पाटा, च्याचौर, रानीसैन क्षेत्रलाई बाजुराले हिमाली गाउँपालिका वडा नं. ३ र हुम्लाको खार्पुनाथ गाउँपालिकाले वडा नं. २ भनेको छ । यो क्षेत्र हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयका लागि नजिक पर्छ । अर्कोतर्फ हुम्लाले उक्त क्षेत्र कागज प्रमाणका आधारमा आफ्नो भएको दाबी गरेको छ । अदालतको फैसला, लामो समयदेखि भोगचलन र तत्कालीन जिल्ला वन कार्यालयले गठन गरेको सामुदायिक वनको प्रमाणका आधारमा हुम्लाले उक्त क्षेत्र आफ्नो भएको दाबी गरेको छ । प्रहरी चौकी निर्माणको विषयले सीमा विवाद थप चर्किएको हो । विवादले दुई जिल्लाबीच द्वन्द्व सिर्जना गर्ने अवस्था बनेपछि सरकारले सिमा अध्ययन समिति गठन गरेको छ । उक्त अध्ययनले स्थायी रूपमा सीमा विवाद समाधान गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः १२ जेष्ठ २०८३, मंगलवार ०५:०३
सम्पादकीय ।