ठूला उद्योग विनाको कर्णाली

सुर्खेत: कर्णालीमा औद्योगिक विकास हुन सकेको छैन । ठूला उद्योग नै छैनन् । लगानीमैत्री वातावरण बन्न सकेको छैन, जसले गर्दा लगानीकर्ता पनि आकर्षित भएका छैनन् । औद्योगिक विकासको सम्भावना हुँदाहुँदै पनि लगानी भित्रिन सकेको छैन । लगानी गर्न इच्छुक लगानीकर्ता पनि पछि हट्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ ।

पश्चिम सुर्खेतको चौकुनेमा निर्माण थालिएको सिमेन्ट उद्योग पनि अहिले यही अवस्थामा पुगेको छ । सूर्यतारा इन्भेष्टमेन्ट कम्पनी लगानीमैत्री वातावरण नभएको भन्दै उद्योगबाट हात झिक्ने अवस्थामा पुगेको छ । दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको थियो । तर सरकारी तहबाट पर्याप्त सहयोग नभएपछि अहिले काम नै रोकिएको छ ।

उद्योग स्थापनास्थलसम्म पहुँच मार्ग र विद्युत विस्तार नहुँदा समस्या निम्तिएको हो । पूर्वाधार अभावका कारणले उद्योग सञ्चालन गर्न कठिनाइ भएको हो । उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको छ । तर समन्वयको अभावका कारण अन्य काम हुन सकिरहेको छैन । करिब १५ अर्ब रूपैयाँ बराबरको लगानीमा उद्योग सञ्चालन हुन लागेको थियो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ । अध्यक्ष मुकुन्द तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ । तर काम अघि बढ्नुपर्ने बेलामा पूर्वाधार अभावकाबीच उद्योग सञ्चालन गर्न नसकिने भन्दै सरकारले थप पहल नगरे आयोजनाबाटै हात झिक्ने अवस्था आउने कम्पनीले जनाएको छ ।

यस्तै चार दशकअघि नै अध्ययन गरिएको सुर्खेत सिमेन्ट (चौकुने) उद्योग पनि अलपत्र छ । उद्योग सञ्चालनका लागि २०६६ मा मुक्ति श्री प्रालिलाई जिम्मा दिइएको थियो । तर सरकारबाट अनुमति पाएको डेढ दशक बितिसक्दासम्म पनि उक्त उद्योग स्थापना हुन सकेको छैन । उद्योग स्थापनास्थलमा सम्पर्क कार्यालय राख्नेबाहेक निर्माणको कुनै काम अघि बढेको छैन ।

सिमेन्ट उद्योग मात्रै होइन कर्णालीमा यस्ता कुनै पनि ठूला उद्योग सञ्चालनमा आउन सकेको छैन । प्रदेश सरकारले आवश्यक ठोस नीति निर्माण गर्न सकेको छैन । पहुँच मार्गको अभाव छ । विद्युत विस्तार हुन सकेको छैन । यस्ता अनेक कारणले लगानीमैत्री वातावरण बन्न नसकेको हो । ठूला उद्योगका लागि आवश्यक कच्चा पदार्थ प्रशस्त भएपनि उद्योगीहरूले कर्णालीमा लगानी गर्न सकेका छैनन् । लगानी सुरक्षित नहुँदा ठूला उद्योग सञ्चालनमा समस्या हुने गरेको बताइएको छ ।

कर्णालीमा एउटा पनि ठूला उद्योग छैनन् । भएका स–साना उद्योग पनि दिनहुँजसो बन्द हुने अवस्थामा छन् । प्रदेशको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा ३० हजार आठ सय ३२ वटा साना उद्योगहरू सञ्चालनमा छन् । यी उद्योग, सेवा, उत्पादन, वनपैदावर, पर्यटन र ऊर्जामा आधारित छन् । सबैभन्दा धेरै उद्योग सुर्खेतमा रहेका छन् । सुर्खेतमा दश हजार आठ सय ३९ उद्योग छन् । दैलेखमा तीन हजार चार सय ४२, कालीकोटमा एक हजार पाँच सय ९१, जुम्लामा दुई हजार नौ सय ५४, मुगुमा दुई हजार चार सय २२, सल्यानमा एक हजार सात सय ६, हुम्लामा दुई हजार तीन सय, रूकुमपश्चिममा एक हजार सात सय ४७, जाजरकोटमा दुई हजार दुई सय ५२ र डोल्पामा एक हजार पाँच सय ६९ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् । जर्दा भएका उद्योगहरू व्यक्तिगत लाभ लिनेगरी वा अनुदान प्राप्त गर्नेगरी मात्र खोलिएको पाइएको छ । नयाँ साना उद्योगहरू खुल्ने तथा बन्द हुनेक्रम दिनदिनै बढेको निर्देशनालयका निर्देशक देविलाल सापकोटाले बताए ।

प्रकाशित मितिः   १२ जेष्ठ २०८३, मंगलवार ०५:०५