राजनीतिक शक्ति परीक्षण
कर्णाली प्रदेशको राजनीतिमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी परम्परागत प्रतिस्पर्धीका रूपमा थिए । यसअघिका निर्वाचनमा यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो । तर फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि जित निकालेर पुराना दलहरूलाई धक्का दिएका छन् । त्यसो त राप्रपाले अघिल्लो पटक पनि चुनाव जितेको थियो । जुम्लाबाट ज्ञानबहादुर शाही निर्वाचित भएका थिए । उनले यसपटक पनि जित हात पारेका छन् । राप्रपासँगै यो चुनावबाट कर्णालीमा रास्वपाको पनि उदय भएको छ । सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट रास्वपाका रमेशकुमार सापकोटा निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाका लागि कर्णालीका १२ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सकिएर नतिजा आइसकेको छ । यो नतिजाले कर्णालीको राजनीति शक्ति परीक्षण गरेको छ । कुन दलको अवस्था के छ भनेर देखाएको छ । यसअघिका दुईवटा निर्वाचनमा प्रमुख दलहरूबीच नै गठबन्धन हुँदा त्यसले दलहरूको शक्ति संरचनामा पनि प्रभाव पारेको देखिन्थ्यो । तर फागुन २१ को चुनावमा सबै दलहरू एक्ला–एक्लै प्रतिस्पर्धामा उत्रिए । जसको नतिजाले उनीहरूको सांगठनिक प्रभाव परीक्षण गरेको छ । त्यसका साथसाथै उनीहरूप्रतिको नागरिक विश्वास समेत परीक्षण भएको छ । २०७४ मा नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) ले चुनावी गठबन्धन गरेका थिए । त्यतिबेला कर्णालीमा अर्को प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस नतिजाविहीन हुन पुग्यो । त्यसपछि २०७९ मा कांग्रेस र तत्कालीन माओवादी केन्द्रले गठबन्धन बनाए । एमाले एक्लियो । निर्वाचनको नतिजामा पनि एमाले नतिजाशून्य भयो । यो परम्परा यसपटक तोडिएको छ । मुख्य दलहरू आ–आफ्नै उम्मेदवारसहित चुनाव लड्दा उनीहरूको वास्तविक अवस्था छर्लङ्ग भएको छ । दलहरूका लागि यो परीक्षण आवश्यक पनि थियो । आम मतदाताको चाहना र मनोविज्ञान बदलिँदा पनि गठबन्धनका कारण चुनावको नतिजा निश्चित दलहरूको पोल्टामै पर्ने अवस्थाको अन्त्य भएको छ ।
१२ वटै क्षेत्रको प्रत्यक्षतर्फको नतिजाका आधारमा कर्णाली प्रदेशमा नेपाली कांग्रेस पहिलो शक्ति बनेको छ । उसले पाँचवटा क्षेत्रमा जित हात पार्न सफल भयो । त्यसपछि नेपाली कम्युनिष्ट पार्टी दोस्रो भएको छ । उसले चार वटा क्षेत्रमा जित निकाल्यो । एमालेले एउटा मात्रै सिट जितेको छ । रास्वपा र राप्रपाले पनि एमाले बराबर एक÷एक सिट आफ्नो पक्षमा पारेका छन् । समग्रमा दलहरूको अवस्था मूल्यांकन गर्नका लागि समानुपातिकतर्फको नतिजा पनि आउनुपर्ने हुन्छ । यद्यपि, प्रत्यक्षतर्फको नतिजाले मात्रै पनि कर्णालीमा क्रियाशील दलहरूको राजनीतिक शक्ति परीक्षण भने प्रष्ट पारेको छ ।
प्रकाशित मितिः २५ फाल्गुन २०८२, सोमबार १४:४१
सम्पादकीय ।