अन्तिम परिणाम सार्वजनिक गर्न एक साता लाग्ने
सुर्खेत: प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्न अझै केही दिन लाग्ने भएको छ । प्रत्यक्षतर्फको मतगणना अन्तिमतिर पुगेको छ । यद्यपि, समानुपातिक मतगणनामा समय लाग्ने भएको हो ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार प्रत्येक निर्वाचन क्षेत्रहरूमा प्रत्यक्षतर्फको गणना सकिएपछि मात्रै समानुपातिकतर्फको गणना सुरु गरिएको छ । त्यसैले पनि समय लाग्ने देखिएको हो । समानुपातिकतर्फ देशभरबाट खसेको एक करोड नौ लाख मतमध्ये हालसम्म एक लाख हाराहारी मत गणना भइसकेको छ ।
यो समाचार तयार पार्दासम्म गणना भएको मतअनुसार समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले फराकिलो अग्रता बनाएको छ । रास्वपाले २७ लाख हाराहारी मत पाउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले नौ लाख र नेकपा (एमाले) ले आठ लाख बराबर मत पाएका छन् ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले चार लाख हाराहारी मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख हाराहारीमा मत पाउँदा श्रम संस्कृतिले पनि डेढ लाख हाराहारी मत पाइसकेको छ । अहिलेसम्मको नतिजा हेर्दा यिनै ६ वटा दलले थ्रेसहोल्ड कटाउने देखिएको छ । थ्रेस होल्ड कटाउन सदर मतको तीन प्रतिशत मत पाउनुपर्ने हुन्छ । आयोगले मंगलवार बिहानसम्म समानुपातिकतर्फको सबै मत गणना भइसक्ने अपेक्षा गरेको छ ।
समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्ने छ । कुल सदर मतको तीन प्रतिशत र कम्तीमा एक जना प्रत्यक्ष निर्वाचित भए मात्र थ्रेस होल्ड पार हुन्छ । थ्रेस होल्ड पार नगर्ने दलले राष्ट्रिय दलको मान्यता पनि पाउँदैन र समानुपातिक सिट पनि पाउँदैन । समानुपातिकबाट एक सय १० जना निर्वाचित हुन्छन् ।
निर्धारित संख्यामा समानुपातिक कलस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले बन्दसूचीभित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी कलष्टरबमोजिम मिले नमिलेको रूजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइने आयोगले जनाएको छ । आयोगले चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्य लिइएको जनाएको छ ।
प्रकाशित मितिः २५ फाल्गुन २०८२, सोमबार १४:४०
साझा बिसौनी ।